निश्चय नै निर्वाचन महँगो भएको छ । निर्वाचन अवधिभरि प्रचारप्रसार तथा कार्यकर्ताहरूलाई दुई छाक खुवाउन, यातायात, अन्य सुविधाको चाँजो मिलाउनुपर्छ । मतदाताहरूलाई पनि भोजन–दक्षिणाको परिपाटी शुरू भएर सास्ती भएको छ । स्वयं पार्टीका नेताहरू निर्वाचन महँगो भएकोमा दिक्क छन् । उनीहरूको यो दिक्दारी उनकै सोच र कृत्यको परिणाम हो भन्ने कुरा उनीहरू बुझ्दैनन् वा बुझ पचाउँछन् । किनकि अहिलेको निर्वाचन परिपाटीले नै निर्वाचनलाई महँगो बनाएको छ । पुराना र ठूला पार्टीबाहेकले निर्वाचनका लागि आफ्ना कार्यकर्तालाई टिकट दिंदैनन् । उनीहरू यस्ता उम्मेदवार खोज्छन्, जो आफ्नो चुनावमा पैसाको खोलो बगाएर जित्न सक्छ र पार्टीलाई पनि खर्च दिन सक्छ । पार्टीहरूले उम्मेदवारी दिने पसल नै खोल्छन् । जसले पार्टी, त्यसका नेताहरूलाई जति बढी पैसा दिन सक्छ, टिकट उसैले पाउँछ । यसरी पार्टीमा लगानी गरेपछि उम्मेदवारको पहिलो ध्येय निर्वाचन जित्ने हुन्छ, जसका लागि दिनहुँ भोज–भतेर गर्छ, मतदातालाई लोभ्याउँछ, पैसा दिन्छ । अनि निर्वाचन महँगो नभए के हुन्छ ?

निर्वाचन, राजनीति गर्ने मानिसले लड्छ । राजनीति भनेको निष्ठा हो । निष्ठामा विरलै विचलन आउँछ । जो राजनीतिज्ञ छैन, उसले निर्वाचन जित्नका लागि निष्ठा परिवर्तन गरिरहन्छ । यसरी निष्ठाविना राजनीतिमा लाग्ने र चुनाव लड्ने मानिसको ध्येय कुर्सीमा पुगेर सेवा गर्ने होइन, अपितु नाम, यश र सम्पत्ति कमाउने मात्र हुन्छ । हाम्रो समाजमा पैसा त धेरैसँग छ, नियमसङ्गत पैसा कमाउनेहरू पनि धेरै छन्, ती हतपति निर्वाचन ताक्दैनन् । किनकि मेहनतले कमाएको पैसा जथाभावी खर्च गर्न गा¥हो हुन्छ । नियमसङ्गत काम गर्ने हुनाले उसले कुर्सी पाएपछि पैसा कमाउने ध्येय राख्दैन । अनि त्यस्तो धनी मानिस किन निर्वाचन लड्ने ? जसले अनियमित तरीकाले पैसा कमाएको छ, उसलाई पैसा खर्च गर्न मोह हुँदैन, उसलाई थाहा छ लगानी भएजति नाफासहित पदमा बसेर असुल्न सकिन्छ । अनि निर्वाचन महँगो हुन्छ । निर्वाचन महँगो बनाउन पार्टीहरू नै जिम्मेवार हुन्छन्, तिनका नेताहरू जिम्मेवार हुन्छन् ।

निर्वाचन सस्तो बनाउन समग्र समानुपातिकमा जोड दिइन्छ । यस पद्धतिमा व्यक्तिलाई होइन, पार्टीलाई भोट दिइन्छ । व्यक्ति प्रत्यक्ष्F नलड्ने हुँदा उसले पैसा खर्च गर्ने दरकार पर्दैन । तर पार्टीलाई जिताउन पनि त पैसा नै चाहिन्छ । पैसावालालाई समानुपातिक उम्मेदवार बनाउने प्रलोभन दिएपछि यस पद्धतिमा पनि विकृति नआउने त होइन । मूल कुरा नियतमा भर पर्छ । पैसा कमाउने नियत छ भने जुनसुकै निर्वाचन प्रणाली महँगो हुन्छ । र अहिले हाम्रो नियत त्यस्तै छ, दलहरू र तिनका नेताहरूको नियत त्यस्तै छ । मतदाताहरूका लागि निर्वाचन भनेको दशैं हो । दलहरूले मतदाताको मानसिकता बिगारिसकेका छन् । अब उनीहरूले पैसा पाएनन् भने भोट खसाल्न जाँदैनन् । यसर्थ सबैभन्दा पहिले राजनीतिक दलहरूले वर्षौं काम गरेका कार्यकर्तालाई उम्मेदवार बनाई नवप्रवेशीहरूलाई कार्यक्षेत्रमा कुदाएर, जनताको सेवा गर्न लगाएर, सैद्धान्तिक परिपक्वता खारेर मात्र टिकट दिने चलन बसाल्ने हो भने मात्र निर्वाचन सस्तो हुन सक्छ । जनतासँग भिजेको, पहिलेदेखि काम गरेको उम्मेदवारको छविले भोट बैंक बनाउँछ, उसले भोटका लागि पैसा खर्च गर्नुपर्दैन । निर्वाचन प्रणाली महँगो होइन, यसलाई दल र नेताहरूको स्वार्थले मात्र महँगो बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here