एउटा उखान छ– जान्नेका लागि चन्दन, नजान्नेलाई खुर्पाको बींड । यसलाई बाँदरको हातमा नरिवलसँग पनि तुलना गर्न सकिन्छ । त्यही चन्दन र नरिवल अहिले हाम्रो हातमा पर्न थालेको छ । अर्थात् चुनाव आएको छ । चुनाव पनि त्यो जसले प्रत्यक्षरूपमा आम नागरिकको सबै मुद्दासँग सरोकार राख्दछ । अर्थात् स्थानीय तहको निर्वाचन । यो पालिकाहरूको निर्वाचनको बेला हो । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको चुनाव । यो चुनाव आम नागरिकको दैनन्दिनको कारोबारसँग जोडिएको हुन्छ । जन्मदर्ता, विवाह दर्ता, स्वास्थ्य, सरसफाइ, सडक, बिजुली, खेल, मनोरञ्जन, कला, शिक्षाजस्ता मानव जीवनका पूर्वाधारको सबै विषयको सरोकार अहिलेको संविधानले पालिकाहरूलाई प्रदान गरेको छ । अर्थात् पालिकाहरूको निर्वाचनबाट सही जनप्रतिनिधि छान्न सकियो भने मानिसले सहज र सुविधायुक्त दैनन्दिनी प्राप्त गर्न सक्छ । यस अर्थमा यो चुनाव कुम्भमेला हो । यो चुनाव यस भेगमा अति प्रसिद्ध गढीमाईको मेला हो । गढीमाईको मेला पनि पाँच–पाँच वर्षमा लाग्छ ।

गढीमाई मेलामा चोखीनीति गरेर पूजा गरे मनोकाङ्क्षा पूरा भएजस्तै, चुनावमा पनि मन, वचन र कर्मले समाजको हित गर्न सक्ने, इमानदार, जन सहयोगी व्यक्तिको चुनाव गर्न सके गढीमाई मेलाजस्तै शुभाशुभ प्राप्त गर्न सकिन्छ । तर मूल प्रश्न के त्यस्तो हुन सक्छ ? मतदाताले क्षणिक लाभका लागि पैसामा मत बेच्ने, जातीयताको नाममा जस्तोसुकै नाकारा व्यक्तिलाई मत दिने, पार्टीको नाममा बेइमान, अपराधी, बाहुबलीलाई जिताउने आम प्रवृत्तिमा अंकुश लगाउन
सकिन्छ ? त्यस्तो हुन सके आउँदो पाँच वर्षमा प्रत्येक पालिकाका नागरिकले यथोचित सुख, सुविधा र विकासको आभास पाउँछ । तर यो दुष्कर कार्य हो । हाम्रो समाजको बनोट, हाम्रो संस्कार, लोभानीपापानीले ग्रस्त हाम्रो मानसिकताले यस्तो हुन दिंदैन । यस्तो हुनमा रोक लगाउने पहिलो काम राजनीतिक दलहरूले नै गर्छन् । उनीहरूले जनताले मन पराएको व्यक्तिको चयन नै गर्ने छैनन् । फितलो चरित्रका, थैलीको मुख खोल्न सक्ने, दबङ्ग चरित्रका व्यक्तिहरूको उम्मेदवारीले जनताले विकल्प पाउँदैन ।

हिजोआज त राजनीतिक पार्टीहरू आजीवन पार्टीको काममा मरिमेटेका, जीवनको उद्देश्य नै राजनीति बनाएका व्यक्तिहरूको साटो कालाबजारी, तस्करी,  भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाएका व्यक्तिहरूलाई नै उम्मेदवार बनाउन थालेका छन् । निर्वाचन आयोगको निर्वाचन संहितालाई धोती बनाएर पहिरेर चुनावी दङ्गलमा उत्रनेमाथि आयोग स्वयं हात हाल्न पाउँदैन । चुनाव भनेपछि भोका–नाङ्गाहरूको लागि दशैं हो । र देशमा भोका–नाङ्गाहरूको ठूलै जमात छ । एउटा भोका–नाङ्गा ती हुन् जो साँच्चीकै भोका छन्, तिनका पेट पिठ्यूँमा टाँसिएका छन्, नाङ्गा छन्, कि शरीरमा वस्त्र छैन कि फाटेका छन् । अर्कोथरी भोका–नाङ्गा पनि छन् हाम्रो समाजमा । तिनको भोकोपन र नाङ्गोपन शारीरिक होइन, मानसिक हो । यी भोका–नाङ्गाहरू कसैलाई जिताएर आफ्नो भविष्य बनाउँछन् । समाजको हितमा हुने काम र पैसामा कब्जा जमाउँछन् । शारीरिकरूपले भोका–नाङ्गाहरू एकपटक पाए सन्तुष्ट हुन्छन्, तर मानसिक भोका–नाङ्गाहरू सर्वग्रासी हुन्छन्, सर्वभक्षी हुन्छन् र यिनको तृष्णाको कुनै अन्त हुँदैन । यी शक्तिशाली हुन्छन्, आफ्नो उद्देश्य पूरा गर्न सक्ष्Fम पनि । राजनीतिक पार्टीलाई नै किन्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here