प्रस, निजगढ, २ चैत/

निजगढ नगरपालिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र्र काठमाडौं र निजगढ नगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने विषयमा १० बुँदे प्रतिबद्धता जनाएको छ ।

निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, काठमाडौंका निर्देशक सुनीलराज शर्माद्वारा संयुक्तरूपमा हस्ताक्षर गरी सो प्रतिबद्धता बुधवार जनाइएको हो ।

उक्त प्रतिबद्धतामा सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि व्यापक अभियान सञ्चालन गरिने, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको लागि सोको लत लागेकाहरूले निजगढ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूले आजैदेखि सुर्तीजन्य पदार्थ सेवन छोड्ने, निजगढ नगरलाई सुर्तीजन्य पदार्थरहित नगर बनाउन विभिन्न सङ्घसंस्था, क्लब, टोल विकास समिति, आमा समूह, क्लबलगायतलाई सक्रिय बनाइने, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका सङ्घीय कानूनहरू तथा स्वास्थ्य सेवा ऐन २०७५ अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि रणनीति तयार गर्नेलगायतका बँुदाहरू समेटिएका छन् ।

विश्वभरि प्रतिवर्ष ८० लाख मानिसको सुर्तीजन्य पदार्थ सेवनका कारण विभिन्न रोग लागेर मृत्यु हुने गरेको जनाइएको छ । नेपालमा भने प्रतिवर्ष २८ हजारजना यसको सेवनका कारण विभिन्न रोग लागेर मृत्यु हुने गरेको तथ्याङ्कमा जनाइएको छ । सुर्तीजन्य पदार्थ सेवन नगर्नेहरू तर अन्यले गरेका कारण उत्सर्जित धूवाँले विश्वमा प्रतिवर्ष १२ लाख मानिसको अकालमा ज्यान जाने गरेको जनाइएको छ ।

नेपालमा मात्रै सुर्तीजन्य पदार्थ सेवनका कारण बर्सेनि ४७ अर्ब रुपैयाँ उपचारमा खर्च हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवनले २५ थरीका रोग लाग्ने जसमा ह्दयाघात हुनेहरूको सङ्ख्या अत्यधिक रहेको र नेपालमा पनि यी समस्या बढिरहेको जानकारी गराइयो । संसारमा बर्सेनि छ करोड मानिसको मृत्यु हुन्छ, जसमा चार करोड १० लाख सुर्तीजन्य पदार्थ सेवनका कारण रोग लागेर हुने गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

निजगढ नगरलाई सुर्तीजन्य पदार्थरहित नगर बनाउने प्रयास गर्न नगरपालिका र जनप्रतिनिधिहरू लाग्ने नगरप्रमुख सुरेशकुमार खनालले बताए । यस कार्यलाई सबैले आआफ्नो ठाउँबाट सहयोगी भूमिका निर्वाह गर्नसमेत नगरप्रमुख खनालले आग्रह गरे ।

त्यसैगरी, नगरलाई सुर्तीजन्य पदार्थ सेवनमुक्त नगर बनाउन सके देशभर नै सकारात्मक सन्देश जाने भएकोले आगामी पीढीको स्वास्थ्य रक्षाको लागि  निजगढवासी, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, बुद्धिजीवीलगायतको निरन्तर सक्रिय प्रयास भइरहनुपर्ने र यसका लागि निजगढ नगरपालिका प्रतिबद्ध रहेको निजगढ नपाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताए ।

नेपालमा सुर्तीजन्य पदार्थ उत्पादनलाई निरुत्साहित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र्र निरन्तर लागिरहेको जसका कारण केही उपलब्धिहरू हात लाग्दै गइरहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका डा भक्तबहादुर केसीले जानकारी दिए । कार्यक्रममा डा सालिकराम धिताल, दीपक रिमाल, निर्मला शाक्यलगायत सञ्चारकर्मीहरूको सहभागिता थियो ।

कार्यक्रम निजगढ नपाको सभाहलमा आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here