विमला गुप्ता, वीरगंज, २ चैत/

अहिले चारैतिर होलीको रौनकता छाएको छ । पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजय भएपछि होली पर्वलाई मनाउन थालिएको हो । प्राकृतिक नियम अनुसार शरद ऋतुको बिदाइसँगै वसन्त ऋतुको आगमनको खुशियालीमा पनि फागु पर्व मनाइन्छ । अहिलेको मौसममा खेतहरूमा गहुँ, जौं, दाल, मकैजस्ता बाली तयार भएकाले कृषकहरू हर्षित छन् ।

वुमन्स क्रिएसनकी पूर्वअध्यक्ष नूतन सरावगी मारवाडी हुन् । उनी सामाजिक कार्यमा क्रियाशील महिला हुन् साथै उनी विभिन्न सङ्घसंस्थामा आबद्ध छिन् । मधेसमा दोस्रो ठूलो चाड फागु पर्वमा मारवाडी समुदायको आप्mनै मौलिकता छ । अन्य समुदायमा हर्षाेल्लास र उमङ्गका साथ मनाइने यो पर्व मारवाडी समुदायमा भने सुरक्षा कवचको रूपमा मनाइन्छ । अकाल मृत्यु, रोग, दुःख र बाहिरी नकारात्मक शक्तिबाट घरपरिवारका सदस्यलाई जोगाउन मारवाडी समुदायमा यस दिन विशेष पूजापाठ गरिन्छ ।

१६औं शताब्दीमा बनेका मन्दिरहरूमा होली खेलिएका चित्रहरू भेटिन्छन् । राजपरिवारका युवाहरू एकअर्कामाथि पिचकारीले रङ्ग लगाउँदै गरेका चित्रले प्रस्ट गर्छ कि होली प्राचीन पर्व हो । होलीलाई बृजको होली पनि भनिन्छ । भारतको वृन्दावन भगवान् श्रीकृष्णको जन्मनगरीमा यो पर्व विशेषरूपमा मनाउने गरिएकोले पनि यसलाई बृजको होली भन्ने गरिएको सरावगीको भनाइ छ । उनले भनिन्, “भगवान् श्रीकृष्णले आप्mना गोपिनीहरूलाई सामूहिकरूपमा रङ्ग–अबीर लगाइदिने हुनाले यो पर्व समुदायमा मिलेर खेल्न थालिएको धार्मिक मान्यता छ ।”

राक्षस हिरण्यकशिपू र भगवान् विष्णुका परमभक्त प्रह्लादको कथा यो पर्वसँगै प्रचलित छ । राक्षस हिरण्यकशिपूकी बहिनी होलिकाको दहनसँगै यस पर्वलाई “होली” भन्न थालिएको हो । अमरत्वको वरदान प्राप्त होलिका आप्mनै भाइका छोरा (भदा) प्रह्लादलाई मार्ने उद्देश्यले काखमा लिएर जलिरहेको चितामा बसिन् तर उनको मनसाय पूरा हुन सकेन र उनले विष्णुभक्त प्रह्लादलाई मार्न सकिनन्, उल्टै उनी जलेर खरानी भइन् र प्रह्लाद बचे । सोही समयदेखि फागु पूर्णिमाको एक दिन पहिले होलिका दहन गर्ने परम्परा छ । यसरी असत्यमाथि सत्यको विजय भएको खुशियालीमा रङ्ग–अबीर लगाइने गरिन्छ ।

हुनत होलिका दहन मधेसका हरेक समुदायमा विषेशरूपमा मनाइन्छ तर मारवाडी समुदायमा अन्यभन्दा फरक तरीकाले मनाउने परम्परा रहेको नूतनको भनाइ छ । उनले भनिन्, “होली पर्वको ३/४ दिनअघि एकादशीका दिन गाईको गोबरबाट बडकुल्ला बनाइन्छ, मारवाडी महिलाहरूले परिवारका सदस्य अनुसार बडकुल्ला बनाउँछन्, जसमा जन्मजात बच्चादेखि नयाँ बुहारी कोही छुट्नुहुँदैन ।”

बडकुल्ला भनेको गाईको गोबरबाट बनाइने विशेष प्रकारको माला हो । यसमा गोबरलाई ससाना डल्लो आकारमा बनाएर बीचमा प्वाल बनाइन्छ र माला जस्तै उनेर डोरीमा गासिन्छ । माला बनाउँदा परिवारका कोही सदस्य छुट्नुहुँदैन । घरका ज्येष्ठ अभिभावकको लागि ठूलो आकारको माला तयार गरिन्छ ।

गोबरको माला तयार गरिसकेपछि महिलाहरू गोबरबाट नै सुरक्षा कवच (ढाल) बनाउँछन् । सुरक्षा कवच युद्ध मैदानमा लड्ने ढालकै आकारको बनाइन्छ ।

बडकुल्लाको मालालाई होलिका पूजनको लागि घरबाहिर दहन हुने स्थानमा लगिन्छ भने गोबरको ढाललाइ घरको सुरक्षा कवचको रूपमा पूजा गरी पवित्र स्थानमा राखिन्छ । प्रत्येक वर्ष कवचलाई घरमा जम्मा गर्ने परम्परा छ, बढी भएको खण्डमा नदीमा प्रवाह गरिने सरावगीले बताइन् । गोबरको गुइँठाको माला लगाएर होलिका दहन हुने स्थानमा पूजा गर्न जाने परम्परा रहेको छ तर अहिलेका युवापुस्ता यो माला लगाउन मान्दैनन्, हातमैं लिएर घरबाट जाने गर्छन् ।

होलिका दहनका लागि प्रत्येक मारवाडी परिवारले आआप्mनो घरमा गोबरबाट निर्मित सानो होलिकाको मूर्ति बनाउँछन्, जसको हरेक अङ्ग गोबरको हुन्छ भने आँखा कौडीको बनाइन्छ । सरावगीका अनुसार गोबर खरानी भएर जान्छ र कौडी आगोमा नजल्ने हुनाले यसलाई सत्यताको प्रतीकको रूपमा लगाइन्छ ।

फागु शुक्ल पूर्णिमाको एक दिन पहिला होलिका दहन हुन्छ । सो दिन गाउँ–नगरका प्रत्येक पवित्र स्थलमा होलिका दहनको तयारी गरिन्छ । यस दिन मारवाडी महिलाहरू पूजाका लागि दिनभर निराहार बस्छन् । पूजा गर्न जाँदा महिलाहरूलाई रातो चुनरी र पारम्परिक नथ (नाकमा लगाउने गहना) अनिवार्य लगाउनुपर्छ । होलिका दहनअघि पूजनका लागि घरका पुरुषहरू हातमा गोबरका गुइँठाले निर्मित सामग्री र फलामका बाल्टिन लिएर जान्छन् भने महिलाहरू काँचो गाईको दूध, जल, गहँुको बाली, काँचो सूत, मकर सङ्क्रान्तिमा बनाएर राखिएको कालो तिलको लड्डु, सिङ्गो बेसारको गाँठोलाइ पूजाको डालीमा लिएर सँगै जान्छन् । होलिका पूजनपछि महिलाहरू सामूहिकरूपमा बसेर पारम्परिक गीत गाउँछन् । हातमा मेहदी अनिवार्य लगाउनुपर्ने भएकोले महिलाहरू औंलाको टुप्पामा भएपनि मेहदी लगाउँछन् । होलिका दहनपछि बचेको तातो खरानीलाई प्रत्येक परिवारका पुरुषले घर लग्छन् । महिलाहरू भने खरानीलाई पवित्र मानेर त्यसमा पापड अथवा चना–केराउलाई भुट्छन् र प्रसादको रूपमा हरेक सदस्यले खाने गर्छन् ।

होलिका दहनको भोलिपल्ट मारवाडी परिवारका बुहारीहरू धागो लगाउने गर्छन् । काँचो सूतले बनाइएको धागोमा बेसार लगाएर ८/१४ अथवा १६ वटा पारिवारिक नियम अनुसार गाँठो बनाइन्छ । यसरी बनाइएको धागोलाई बुहारीहरूले परिवारका सदस्यको रक्षाका लागि घाँटीको सिक्रीमा बाँधेर लगाउँछन् । भोलिपल्ट अथवा एक महीनापछि पूजा गरेकै घरमा खोल्ने नियम छ । फुकाल्ने दिन पनि व्रत बस्नुपर्छ, नूतनले भनिन्, “धागो फुकाल्ने दिनमा हामी बुहारीहरूले भात अथवा रोटी कुनै एक प्रकारको अन्न मात्र खान पाउँछौं, घरको जेठी बुहारीले एक महीनापछि वैशाखमा मात्र धागो फुकाल्न पाउँछन् ।”

होलीको दिन मारवाडी परिवारमा ५६ भोगको परिकार बनाउने परम्परा छ । न हुनेले थोरै भएपनि तर अरू दिनभन्दा विशेष नै बनाउँछन् । परिकार शुद्ध शाकाहारी हुन्छ । यस दिन गुलियो पकौडी, पुरी, मुड्ढो दालको हलुवा र बर्फी अनिवार्य बनाइन्छ । पेय पदार्थमा पेटको शीतलताको लागी काजिंवडा बनाइन्छ । परिकारहरू तयार भएपछि सर्वप्रथम पितृलाई भोग लगाउँछन् । पितृको भोगमा भारतको राजस्थानमा पाइने कैर र फलीलाई अनिवार्यरूपमा चढाइन्छ । जसलाई होलीको दिनको लागि प्रत्येक मारवाडीहरूले सुकाएर राखेका हुन्छन् । यसरी घरपरिवारका ठूलाबडासँग आशीर्वाद लिई रङ–अबीर लगाएर होली मनाइन्छ र दीर्घायूको कामना गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here