• सञ्जय साह मित्र

कुनै पनि संस्कृति त्यति बेलासम्म जीवित रहन्छ, जति बेलासम्म आर्थिक सम्बन्ध कायम रहन्छ । संस्कृति र अर्थतन्त्रको लगनगाँठो कस्सिएको हदसम्म मात्र संस्कृति जीवित रहन्छ अन्यथा सम्बन्धविच्छेद भएपछि संस्कृतिको अस्तित्व नै खतरामा पर्न सक्छ ।

समाजमा आर्थिक क्रान्ति नआउँदासम्मको संस्कृति र हरेक संस्कृतिको मूल्य अर्थतन्त्रसित जोडिएपछिको संस्कृतिमा भिन्नता आइसकेको छ । आर्थिक सम्बन्ध हुने नयाँनयाँ पर्वहरू आइरहेका छन् र नवागन्तुक पर्वहरूले मोटाउने मौका पाइरहेका छन् तर आर्थिक सम्बन्ध कमजोर भएका संस्कृतिहरू खिइँदै गएर बिस्तारै दुब्लाउँदै, पातलो हुँदै हराउँदै गएका छन् ।

हाम्रो समाजका अनेक विशेषता रहेका छन् । ती विशेषतामध्ये आर्थिक विशेषता पनि एक हो । अझ संस्कृतिका कतिपय मूल पहिचानसित पनि अर्थको गहिरो सम्बन्ध रहेको छ । धार्मिक, सामाजिक, सांस्कृतिक विश्वास, प्रमाण तथा मिथक एकातिर र आर्थिक पाटो अर्कोतिर राखेर विचार गर्ने हो भने अहिलेको युगमा अर्थले बढी महŒव पाएको देखिन्छ । अर्थले बढी महŒव पाउँदा कताकता संस्कृतिमाथि आघात पो पुगेको हो कि ? भन्ने प्रश्नहरू बेलाबेलामा नउठेका होइनन् तर अर्थको पक्ष यति बलियो भएर आइदिन्छ कि संस्कृतिको पक्ष त्यही आर्थिक वृक्षको विशाल छायामा परिहाल्छ । हो, आर्थिक छाया भनेर आरोपित गर्नुभन्दा आर्थिक छत्रछायामा संस्कृतिहरू पुष्पित र पल्लवित भइरहेका छन् र अर्थतन्त्रको प्रभावमा नपरेका पर्वहरू एकलकाँटे भइरहेका छन् ।

नेपाली संस्कृतिको एउटा विशाल भाग मधेसी संस्कृति हो । मधेसी संस्कृतिको एउटा विशिष्ट पक्ष होली हो । होलीलाई फगुवा पनि भन्ने गरिन्छ । होलीको सम्बन्ध सोझै अर्थतन्त्रसँग रहेको छ । आर्थिक विस्तारसँगै होलीको पनि विस्तार हुँदै गएको छ । होलीको मूल संस्कृति अर्थात् परम्परागत स्वरूप हराउँदै गएको भएपनि, बिलाउँदै गएको भएपनि, संस्कृति त परिवर्तनशील हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै होलीको जुन पक्षको सम्बन्ध बढी मात्रामा अर्थतन्त्रसित जोडिएको थियो वा अहिले पनि रहेको छ, ती ती पक्षको भने दिन दुई गुणा र रात चौगुणा वृद्धि भएको छ । यस वृद्धि र विस्तारको प्रभावले होली संस्कृतिको रौनकमा चार चाँद लागेको छ । वर्तमान होलीबाट आर्थिक सुगन्ध निकाल्ने हो भने होलीको कुनै रङ र स्वाद बाँकी रहला कि नरहला ?

पहिले गरीबी थियो । पहिले मानिसको हातमा पैसा थिएन । त्यत्ति बेला मानिसले घरमा पहिलेदेखि नै रहेको कुनै सेतो कपडालाई सफा गरेर होलीको दिन काम चलाउँथे । अझ कतिपय अवस्थामा यस्तो पनि देखिन्थ्यो कि सेतो वा सेतो जस्तै कुनै कपडा च्यातिन थालेको छ भने त्यसलाई होलीको दिनको लागि जोगाएर राखिन्थ्यो । होलीको दिन त्यसमा रङ र अबिर आदि लागेपछि त्यसलाई फालिन्थ्यो । कोही कसैले होलीको दिन एउटा सेतो गन्जी किन्दथे । निख्खर सेतो गन्जी किन्नेले गन्जीमैं होली खेल्दथे । सक्ने मानिसले होलीको दिन सेतो कुर्ता लगाउँथे । कुर्ता लगाउने मानिसको सानै सर्वसाधारणमाथि शासन गर्ने किसिमको हुन्थ्यो । खानामा पनि एक पाउ खसीको मासु किनेर उसिनेको आलुमा मासु पकाएर खाने गर्दथे । एउटा परेवा किनेर आलुदममा परेवाको मासु मिसाएर होलीको आनन्द लुट्दथे । पहिलेको कुनै बजार वा मेलाबाट होलीको लागि भान्सामा चाहिने मरमसाला किनेर ल्याउँथे । दूधमा भाङ, धतुरो आदि के के हो मिसाएर नशा दिने पेय पदार्थ बनाउँथे ।

यसरी हेर्दा पहिले पनि आर्थिक सम्बन्ध थियो, होलीको समाजसित । पहिले समाजको आर्थिक अवस्था कमजोर हुँदा बढी खर्च गर्नुपर्ने ठाउँमा समय खर्च गर्दथे । समय होलीमा बढी खर्च
हुन्थ्यो । होलीको स्वाद यसको गीत, नृत्य, वाद्यवादन आदिमा हुन्थ्यो । गाउँका सारा मानिस एकापसमा रमाइलो गर्दथे । त्यो रमाइलो आफैंमा अहिलेको अवस्था हेरी विशिष्ट हुन्थ्यो । त्यस सामूहिक मनोरञ्जनले वर्षभरिको दिनलाई रसिलो बनाइरहन्थ्यो, वर्षभरि सम्झनाको कोसेली दिइरहन्थ्यो ।

के कुरा आफूसित कम छ, यसको अर्थ यो पनि हो कि त्यसको सामथ्र्य आफूसित कम छ । सामथ्र्यले नै व्यय गराउने हो । पहिले आर्थिक सामथ्र्य कम रहेको अवस्थामा बिस्तारै समाजको आर्थिक सामथ्र्य बढ्दै जाँदा समाजको अन्य क्षेत्र वा गतिविधिमा आउने परिवर्तनसँगै होलीको पनि आर्थिक सम्बन्ध र सामथ्र्यमा वृद्धि हुँदै गयो र आजसम्म आइपुग्दा होलीले आफ्नो स्वरूप नै परिवर्तन गरिसकेको देखिन्छ । सामाजिक परिवर्तनका अन्य आयामको स्वाभाविक प्रभाव होलीको आर्थिक संस्कृतिमाथि देखिएको छ । होली सांस्कृतिक दृष्टिकोणले मात्र महŒवपूर्ण होइन, आर्थिक दृष्टिकोणले पनि धेरै महŒवपूर्ण छ । होलीको दिन एक पैसा खर्च हुँदैनथ्यो भन्नुहुँदैन र आज लाखौं खर्च पनि हुँदैन । हो, होलीलाई केवल माध्यम बनाएर राजनीतिक वा अन्य कुनै स्वार्थको गन्ध मिसाएर होलीको शुभकामना आदानप्रदान गर्नेले एक हजार गम्छा र एक हजार गन्जी बाँड्छन् तथा पन्ध्र क्वीन्टल कुखुराको मासु र दुई क्वीन्टल खसीको मासु खपत गर्दै एक ट्याक्टर साधारण पेयदेखि विशिष्ट मदिरासम्म खर्च गर्दछन् ।

यसको अन्तर्यमा होलीले एकातिर आर्थिक सामथ्र्य प्रदर्शन गर्ने आधार दिएको छ भने अर्कोतिर मैले निम्तो दिएपछि यतिका मानिस मेरो घरमा आएर मलाई समर्थन दिन सक्छन् भन्ने अर्को आधार पनि प्रस्तुत गर्ने माध्यम दिएको छ । एकजनाले भन्दै थिए– फलानोले होलीको शुभकामना आदानप्रदान गर्न आफ्नो घरमा मानिसलाई बोलाउँदा तीसदेखि चालीस लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छन् ।

होलीको सामाजिकतामा परिवर्तन आएसँगै खर्चको आधारमा पनि परिवर्तन गरेको छ । समाजको आर्थिक अवस्था कमजोर हुँदा होलीको खानपान सामूहिकभन्दा बढी व्यक्तिगत हुन्थ्यो तर आर्थिक सामथ्र्यले होलीलाई सामूहिक खानपानको संस्कृति बनाइदिएको छ । पहिले घरभित्र मनाइने होलीको अर्थतन्त्र होटलसम्म पुगेको छ । गाउँ र टोलमा होलीको सीमित रङ अब जिलान्तरसम्म रङ्गिएको छ । गाउँघरमैं बजाइने विभिन्न बाजाहरूको स्थान एउटै डिजेले लिइसकेको छ ।

साँच्चिकै होलीलाई केन्द्रित गरेर बजारमा अनेक व्यवस्था हुन थालेका छन् । अहिले गाउँको पनि जतिसुकै विपन्न परिवार होओस्, पाँच हजार रुपैयाँमा होली कट्दैन । र माथि नै एउटा उदाहरण आइसकेको छ, चुनावको सन्दर्भले नै सही, होलीमा आफ्नो घरपरिवारबाहेक अरूको लागि चालीस लाख रुपैयाँसम्म खर्च गर्ने मनोवैज्ञानिक कुतकुतीपूर्ण सामथ्र्य उम्रिसकेको छ ।

कोरोनाले थलिएको अर्थतन्त्रलाई सतही क्षणमा नै भएपनि होलीले गतिशील बनाइदिएको छ । केही प्रकृतिका पसलबाहेक अधिकांश पसलमा होली लक्षित व्यापार हुन्छ । होलीको दिनभन्दा एक हप्ता पहिलेदेखि पसलेहरूलाई अलिकति पनि फुर्सद हुँदैन । कतिपयले के भन्छन् भने होलीको ठीक अघिल्लो दिन यतिधेरै व्यापार हुन्छ कि त्यस दिन जति कुनै कुनै महीना एक महीनामा पनि त्यति व्यापार हुँदैन । त्यस दिन मानिसले कति खर्च गर्दछन्, त्यसको कुनै लेखाजोखा
हुँदैन । एक वर्षमा सबैभन्दा बढी खर्च गर्ने दिनको रूपमा होलीको अघिल्लो दिन अर्थात् फागुन महीनाको पूर्णिमाको दिन हुन्छ रे । हरेक परिवारले र अझ हरेक व्यक्तिले होलीको लागि अन्तिम सामग्री यही दिन किन्ने हुन्छन् । जब हरेक मानिसले इच्छित खर्च गर्दछन्, तब अर्थतन्त्रमा त्यस चलायमानताले पार्ने प्रभाव गज्जब हुन्छ । हुनत मासु र माछाजस्ता महँगा खानेकुरा अधिकांश मानिसले होलीकै दिन किन्दछन् तर बाँकी अन्य व्यवस्थापन गर्न भने पूर्णिमाको दिन नै अन्तिम हुने गर्दछ ।

होली असीमित खर्चको पर्व बन्दैछ । असीमित खर्च गर्ने आधार दिएको छ । होलीको सन्दर्भले चलायमान बनाउने अर्थतन्त्र अल्पकालीन त हुन्छ तर यसको प्रभाव भने दीर्घकालीन प्रकृतिको हुने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here