प्रस, वीरगंज, २७ फागुन/
वीरगंजमा बर्डफ्लु देखा परेपछि कुुखुरा व्यवसायी र सर्वसाधारण चिन्तित भएका छन् । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा सगीर अन्सारीको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको पशु क्वारेन्टाइनका प्रमुख डा हरेराम यादवले पुष्टि गरेका छन् ।
अन्सारीको कुखुरा फार्ममा कुखुराहरू धमाधम मर्न थालेपछि चेकजाँचको लागि केन्द्रीय प्रयोगशालामा नमूना पठाइएको थियो । ल्याबको रिपोर्ट हिजो बिहीवार आएपछि उनको फार्मका सबै कुखुरा नष्ट गरिएको डा यादवले बताए । उनले फार्मभित्र रहेका कुखुरा, अन्डा, क्यारेट खाल्डो खनी पुरेको बताए ।
परीक्षण रिपोर्ट आएपछि हिजो जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको बर्डफ्लु नियन्त्रण समितिको बैठकले कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो । बैठकमा पशु क्वारेन्टाइन, भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, पर्सा, वीरगंज महानगरका प्रतिनिधिलगायत काठमाडौंबाट आएका पदाधिकारीहरूको सहभागिता थियो ।
बर्डफ्लु देखा परेपछि पर्सा, बारा क्ष्Fेत्रका कुखुरा व्यवसायीहरू चिन्तित भएका छन् । अन्सारीले घण्टाघरमा कुखुरा र अन्डा बिक्री गर्ने पसल सञ्चालन गर्दै आएका छन् ।
धमाधम मर्दैछन् हाँस र कुखुरा
प्रस, सेढवा/
पर्साको ग्रामीण भेगका फैलिएको रोगको प्रकोपका कारण किसानहरूले पालेका हाँस, कुखुरा मर्ने क्रम बढेको छ । घरमा पालुवा तथा व्यावसायिक कुखुरा फार्ममा कुखुराहरू मरिरहेका हुँदा लाखौंको क्षति भएको किसानहरूले जनाएका छन् ।
करीब एक सातादेखि फैलिएको यस रोगका कारण यस क्षेत्रमा हजारौंको सङ्ख्यामा हाँस–कुखुरा मरेको र मर्ने क्रम जारी रहेको किसानहरूले जनाएका छन् । जगरनाथपुर गाउँपालिका– २ मा लक्ष्मीपुरका कुखुरा फार्म सञ्चालन गरेका किसान राजकिशोर यादवका अनुसार फार्ममा पालेको एक हजार कुखुरा मरेको गुनासो गरे । डेढ–दुई केजी तौल भएको कुखुरा मरेका कारण चार लाख रुपियाँभन्दा बढी क्षति भएको यादवको भनाइ छ । उपचारका लागि वीरगंजबाट ४०/५० हजार मूल्य बराबरको औषधी खरीद गरी खुवाएपनि केही फरक नपरेको र एउटा पनि कुखुरा बचाउन नसकिएको यादवले गुनासो गरे ।
यस रोगमा एकाएक हाँस कुखुराहरू छटपटाउने र आधा घण्टाभित्रै मर्ने गरेको जीराभवानी गाउँपालिका–५ का मुक्तिनारायण दासले बताए । यी पक्षीहरू मरेका कारण यसको मासु पनि मानिसले सेवन नगर्ने हुँदा त्यतिकै खेर हुने गरेको दासको भनाइ छ । जीराभवानी गाउँपालिका–१ पिपराका कुखुरा फार्म सञ्चालन गरेका किसान जितेन्द्र यादवले भारतीय बजारबाट खुलेयाम कुखुरा भित्रिएका कारण रोग सरेर आएको बताए । भारतीय बजार इनर्वा, भंगहा, धुमाटाड, लगायत बजारबाट विनाक्वारन्टिन चेक गरी कुखुरा आएको र समुदायमा असुरक्षित तरीकाले बेचबिखन तथा काटमारले यो रोग सरेको यादवको भनाइ छ ।