• शीतल गिरी

साहित्यका अन्य विधामा झैं कथा विधामा पनि नयाँ–नयाँ प्रगोगहरू हुँदै आएका छन् ।

हिजोको परिभाषा र अर्थले आजको कथालाई अथ्र्याउन सक्ने स्थिति छैन । भाषा मान्छेका लागि अनिवार्य माध्यम हो । मानव समाजको सर्वोत्तम उपलब्धिकै रूपमा रहेको छ, भाषा ।

भाषाले नै मान्छेको ज्ञानविज्ञानलाई बढाएको छ । भाषाविना मानव गतिविधि शून्यमा पुग्छ ।

आआफ्नो भाषाको प्रयोग र विकासमा सबैको अग्रसरता बढिरहेको छ । एउटै भाषामा पनि बोलिने र लेखिने भाषाको स्तर फरक हुन्छ । लेखिनेमा पनि साहित्य र साहित्यइतर भाषा फरक हुन्छ । साहित्य भनेको कलाको एउटा रूप हो । साहित्यकै एउटा विधा कथा पनि कलाकै रूप हो ।

कथाकार मनु ब्राजाकी विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल “गोठाले”, दौलतविक्रम विष्ट र पोषण पाण्डेपछिका विशिष्ट सर्जक हुन् ।

परशु प्रधान, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, रमेश विकल, प्रेमा शाहका युगका हुन् मनु । तर कथालेखनको दृष्टिले उनी आफ्नो युगका सर्जकहरूमा टाढैबाट चिनिने टाकुरा बनेका छन् । उनको लेखनमा समकालीनहरूको स्पर्श परेको छ, यस कुरोलाई नकार्न सकिन्न । उनी वास्तवमा कथा लेख्दैनन्, अनुभवको सङ्कलन तयार गर्छन् ।

 

उनी जे देख्छन्, जे भोग्छन्, जे पढ्छन् अनि तिनले संवेदनशील अङ्गमा जब च्वास्स घोच्छ, तब तिनै कुराहरू कथाको स्वरूप लिएर अगाडि देखा पर्दछन् । यथार्थिक घटनाले हुटहुटी लगाएपछि तिनैलाई चोटिलो बान्कीमा उतार्दाखेरी कथाको सिङ्गो रूप तयार हुन्छ । यसैलाई हामी मनु ब्राजाकीको कथा भन्छौं । उनी कथा लेख्दैनन्, आफनो अनुभव बाँड्छन् । अनुभवभित्र कतै हाँस्छन्, कतै रुन्छन्, कतै रुवाउँछन्, कतै व्यङ्ग्यै व्यङ्ग्यको रोटेपिङ घुमाउँछन् र भन्ने गर्छन्– “म स्वयम् पनि चिन्तनशील हुन र पाठकहरूलाई पनि चिन्तनशीलतातर्फ अभिप्रेरित गर्न
लेख्छु ।”

यही हो मनु ब्राजाकीको कथाकार । उनको कथाले गाउँको पीडा बोल्छ भने शहर र राजधानीको विसङ्गतिलाई ओकल्दछ, अनि विदेशी रोजगारको मारले आक्रान्त बनेको नेपालीको रोदनलाई व्यक्तयाउँछ ।

जुन कुरोले अरूको संवेदनालाई छँुदैन, त्यही मनु ब्राजाकीको कथाको रचना गर्भ बन्दछ । यस दृष्टिले कथात्मक साहसमा मनु ब्राजाकी अतुलनीय छन् । यसको अर्थ मनु ब्राजाकीलाई असाधारण फक्कड कथाकारको रूपमा गणना गरिनुपर्छ भनेको होइन । उनको कथाको संसार वस्तुतः त्यो सामान्य जीवनको संसार नै हो, जसलाई अति सामान्य ठानेर अरू कथाकार आँखा चिम्लने गर्छन् । मनुको छोटा कथाहरू अनौठो तर यथार्थ घटनाहरूले सजिएका हुन्छन्, जसबाट कथाकारको सूक्ष्म सौन्दर्य–दृष्टि थाहा हुन्छ ।

कथाकार मनु ब्राजाकी आधुनिक नेपाली कथाका विशिष्ट सर्जक हुन् । उनले पूर्ववर्ती र समवर्तीहरूका वीचबाट नौलो कथालेखनको आविष्कार गरेका छन् । 

साझा प्रकाशनबाट प्रकाशित मनु ब्राजाकीका छोटा कथाहरू पाठकले अत्यधिक मन पराएका छन्, यो पढ्दा पाठक आन्दोलित रोमाञ्चित हुने गरेको पाइएको छ– यसमा पाठकले आफूलाई कतै न कतै पाउँछ, आफ्नै वरपर घटेको घटनाझैं लाग्छ । 

सानो घटना, थोरै चरित्र, आकर्षक प्रस्तुतिमा चोटिलो अभिव्यक्तिले १९ वटा छोटा कथाहरूको यो सङ्ग्रह लोकप्रिय बनेको छ । कथाकार मनु ब्राजाकीका कथाहरूको मूल आधार नै समाज हो । सामाजिक यथार्थवादकै पृष्ठभूमिबाट उनका छोटा कथाहरू जन्मेर हुर्केका छन् । गुरुप्रसाद मैनालीले शुरू गरेको सामाजिक यथार्थवादलाई उनले सशक्त ढङ्गबाट गति दिने कार्य गरेका छन् । पुराना मान्यतालाई त्याग्दै नवीन मान्यताको खोजी गर्ने क्रममा ब्राजाकीले कथालाई सशक्त र जीवन्त तुल्याउन सामाजिक यथार्थवादभित्रका सूक्ष्मातिसूक्ष्म विषयलाई अङ्गीकार गरेका देखिन्छन् । उनका कथा प्रवृत्तिहरूमा सांस्कृतिकताले पनि अहम् भूमिका खेलेको छ । कथाकारले धार्मिक र सांस्कृतिक विम्ब/प्रतीकका माध्यमबाट धर्म र संस्कृतिबाट पनि केही छोटा कथाहरूलाई सशक्त गराएका छन् । “राजा रन्तिदेव र म” कथाको विषयवस्तु धर्म र संस्कृतिबाट लिएका छन् । विषयवस्तुको सन्दर्भ र प्रसङ्गमा मेल खाने गरी धार्मिक र सांस्कृतिक विम्ब/प्रतीकलाई चाखलाग्दो तरीकाले सजाउन उनी निकै नै सिद्धहस्त देखिन्छन् । राजनीतिक विकृतिलाई औंल्याएर त्यसलाई स्वीकृतिमूलक ढङ्गबाट अगाडि बढाइयोस् भन्ने चाहना उनको रहेको देखिन्छ । छोटा कथाको माध्यमबाट विकृत राजनीतिको पर्दाफाश गर्न उनी कतै पनि पछि परेका छैनन् । 

राजनीतिलाई नाराबाजी तरीकाबाट होइन मनु ब्राजाकीले शिष्ट कलात्मक शैलीका माध्यमबाट प्रस्तुत गरेका छन् । त्यसैले राजनीतिक प्रवृत्ति उनको कथाकारिताको अभिन्न अङ्ग हो । व्यङ्ग्यात्मकता उनको अर्को उल्लेख्य विशिष्ट पक्ष हो । व्यङ्ग्यात्मक प्रस्तुतिबाट विषयवस्तु धेरै नबुझिने जस्तो लागेको अवस्थामा नै अभिधेय शक्तिको सहायता लिने गर्दछन् । होइन भने उनी लक्षणा र व्यञ्जनाद्वारा नै छोटा कथालाई हिंडाउन मन पराउँछन् । त्यसैले व्यङ्ग्यात्मक कलाले उनका छोटा कथाहरू सुशोभित हुन पुगेका छन् ।

कथाकार मनु ब्राजाकी सूक्ष्म विषयवस्तुलाई प्रष्ट्याउने कथाकार भएको हुँदा स्थानीय विषयलाई गहन किसिमले अध्ययन गरी त्यसलाई छोटा कथामा भिœयाएका छन् । मध्यतराईको आञ्चलिक विशेषतालाई उनले छोटा कथामा समेटेका छन् । यथार्थलाई कतै नखज्मजाइकन प्रस्तुत गर्न कथाकार सफल भएका छन् । 

कुनै पनि विषयलाई गम्भीर ढङ्गबाट विश्लेषण गर्नु कथाकार मनु ब्राजाकीको विशेषता हो । मानवीय जीवन भोगाइका क्रममा देखिने कुनै पनि विषयलाई दार्शनिक सिद्धान्तका आधारबाट अध्ययन र विश्लेषण गर्न उनी सिद्धहस्त छन् । उनका छोटा कथाहरूमा दार्शनिक चेतहरूले जरा गाडेको पाइन्छ । अस्तित्ववादका साथसाथै व्यक्ति मानवतावादका प्रश्नहरूमा पनि त्यत्तिकै संवेदनशील हुने गर्दछ । पात्रका चेतन, अचेतन र अद्र्धचेतन मनको खोज, अन्वेषण र विश्लेषण उनले गरेका छन् । दमित यौनकुण्ठाले सताइएको पात्रको मानसिकताको सफल शल्यक्रिया गर्न उनी दक्ष देखिन्छन् । पारिवारिक विघटनपश्चात् जन्मिएको यौनकुण्ठालाई स्वाभाविक किसिमले प्रस्तुत गर्नु नै कथाकार ब्राजाकीको कथा प्रवृत्तिको उल्लेख्य पक्ष हो । यौनको सूक्ष्मातिसूक्ष्म विषयदेखि लिएर मनोविज्ञानका सबै पक्षमा उनका छोटा कथाहरू विचरित छन् ।

कथाकार मनु ब्राजाकीको कथा प्रवृत्तिहरूको चर्चा गर्दाखेरी द्वन्द्वात्मकतालाई पनि उल्लेख्य दायरामा ल्याउनुपर्दछ । कथाकारले छोटा कथाभित्र द्वन्द्वात्मकताको राम्रो संयोजन गरेका छन् । कथाकारले मानसिक र संवादात्मक दुवै किसिमबाट द्वन्द्वको आयोजन गरेका छन् । कथावस्तुलाई प्रस्ट्याउने सन्दर्भमा उनी सूक्तिमय वाक्यहरूको प्रयोग गर्छन् । कथाकारले कथामा सिद्धि प्राप्त गर्न थालेपछि कथामा सूक्तिमयताको विकास हुने गर्दछ । यसले कथाको भाषिक बनोटलाई लचक गराउँछ ।

आज देशमा विघटनकारी तागतको वर्चस्व बढ्दै गइरहेको छ । “खुला बाटोको ट्राफिक नियम” छोटा कथा दिन प्रतिदिन नेपाली नागरिकता किनेकाहरूको  गतिविधिहरूलाई केन्द्रमा राखेर लेखिएको छ । कथा शुरू हुन्छ अर्धनग्नावस्थामा चियापसलसामु उभिएकी जवान तर भोकाएकी मगन्तेनी जसको जीउमा लगाएको लुगा अस्तव्यस्त छ । कसिएको मासल शरीर देखेर लोभिनेहरूको मनोदशाको गाँठो फुकाएका छन् । 

 “छाती र गोली” छोटा कथा राजनीतिक चालबाजीको कारण सत्तापक्षको ज्यादतीको मनोव्यथालाई चित्रित गर्दछ । सङ्ग्रहको “वातावरण शान्त छ”, “राजा रन्तिदेव र म”, “यै हो मेरो देश हजुर” आदि छोटा कथाहरूले समाजका ती जीवन सत्यलाई अगाडि ल्याएका छन्, जसले व्यक्तिको जीवन समयको तीतोपनले भरिदिएको छ । “सावधान १ सूचना, सूचना १११” छोटा कथाले सामाजिक विसङ्गतिलाई प्रष्ट्याएको छ । सम्पूर्ण विवशता, आत्मनिष्ठा र भावनालाई पन्छाएर आधुनिकताको नाममा छाडापन अपनाएको कथा हो यो । छोरीबुहारीलाई विज्ञापन बुझाउने नाममा “चोली के पिछे …” जस्ता छाडा गीत बजाएर छाडा संस्कृति भिœयाएको देखाइएको छ । 

समग्रमा मनु ब्राजाकीका छोटा कथाहरूको सबैभन्दा ठूलो उपलब्धि हो, त्यसको अन्तर्वस्तुको गम्भीरता र साथै प्रवाहमयी भाषा । भाषाको यो सहजताले पाठकलाई पट्याउँन सक्षम छ । यी छोटा कथाहरूमा आगन्तुक शब्दहरू पनि पाइएका छन् ।

पात्रहरूको अनुकूल साथै परिवेशगत सत्य उद्घाटित गर्नको लागि यी छोटा कथाहरूले आञ्चलिक बोलीको सहारा लिएको पाइन्छ । शब्द शक्तिको प्रयोगमा मनु ब्राजाकी बडो होशियार देखिन्छन् । कतै कतै व्यङ्ग्यात्मकता र विम्बात्मकताले उनका छोटा कथामा प्राण भरेको छ । “एयरब्यागका लागि अधबैंसे र कन्डक्टरको झगडाले गर्दा बस नारायणघाटको पुलचोकमा अडियो ।” जस्ता चित्रात्मकता उनको गद्य शैलीमा यत्रतत्र छरिएको हुँदा ताजापन महसूस गराउँछ । अतः मनु ब्राजाकीको यथार्थवादी छोटा कथाहरूले काल–परिवेश अनुसार नयाँ शिल्प, नयाँ विषयबोध, नयाँ दृष्टिकोणको साथ सामाजिक पृष्ठभूमिमा व्यक्तिको जीवन सङ्घर्ष, जीवन सत्य र साम्प्रदायिक सौहार्दको बोली बोल्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here