एक दिन सभा, भाषण, नारा र दिवसको समाप्ति । हो, यो नेपालमा मनाइने कुनै पनि दिवसको नियति हो । त्यो दिनको न एक दिन अघि, न एक दिनपछि दिवसको स्मृति शेष रहन्न । एक दिन अघि–पछिको कुरा किन ? त्यसै दिन पनि कार्यक्रम अवधिभरबाहेक ‘दिवस’ कसैको सम्झनामा शेष रहन्न । त्यसैले नेपालमा कुनै पनि अभियान, मुद्दा सफल हुँदैन । अझ रमाइलो कुरा त के देखिन्छ भने नारी हिंसाविरुद्ध मनाइने दुई हप्ताको अवधिमा नै बलात्कारको सबैभन्दा बढी घटना हुन्छ । खासमा हामी कुनै पनि यस्ता कार्यक्रम, त्यसको औचित्यले गर्दा होइन, मनाउनुपर्छ भन्ने बाध्यताले मनाउँछौंस पश्चिमा शिक्षाको रमझमले गर्दा धेरै धार्मिक कृत्यहरू विवशता वा विकृत बनाएर मनाएजस्तै । आज नारी दिवस हो, अन्तर्राष्ट्रिय नारी दिवस । सरकारले यो दिवस किन मनाउँछ भने उसले यससम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको छ, र देशभित्र सरकारबाहेकले किन मनाउँछन् भने सरकारको कृपाकाङ्क्षी बन्न । एउटा कार्यक्रम गरेर तीनवटा सरकारको कृपाकाङ्क्षी बन्न सकिन्छ । एक तिरले दुई होइन, तीन शिकार ढाल्न सकिन्छ । यसरी निहितार्थ अर्कै हुन्छ, काम देखावटी अनि कसरी कुनै दिवसले सार्थकता पाउँछ ?
नारी दिवस किन मनाइन्छ भन्ने सन्दर्भमा आयोजक वा यस विषयका भाषणकर्तालाई सोध्यो भने उनीहरूले आजका दिन कुनै मुलुकका महिलाले अधिकार पाएका थिए भन्ने जवाफ पाइन्छ । कार्यक्रममा ती महिलाको गुणगान गाइन्छ । नेपालमा पनि महिलाहरूले अधिकार पाउनुपर्छ भनेर उर्लीउर्ली बोल्ने राजनीतिक पार्टीका नेताहरू भने आफैंले बनाएको सबै ठाउँमा ३३ प्रतिशत नारी सहभागिता लत्याउँछन् । निर्वाचनमा हार्ने ठाउँमा नारीको मनोनयन गराउँछन् र जित्ने ठाउँमा पुरुषको । सुयोगले कुनै नारीले कुनै राजनीतिक पद जितेका छन् र उनीहरू निरक्षर वा अक्षम छन् भने उनीहरूलाई साक्षर पार्ने र सक्षम बनाउनुको साटो उनका पति, छोरा वा परिवारका कुनै पुरुष सदस्यलाई संरक्षक बनाइदिन्छन् । नारीको सहभागिता न चाहिएको हो, नारीलाई सक्षम बनाउने भनिएको त होइन ! यस्तो रुग्ण मानसिकताका बीच दिवस मनाउनुको के औचित्य ? शायद नै कुनै नारी दिवसको कुनै कार्यक्रम होला, जसमा महिलाहरूको बाक्लो उपस्थिति होस् । नारी दिवस पनि पुरुषले नै मनाइदिन्छन् । नारीलाई एक दिनको बिदा मात्र, यदि ऊ सरकारी जागीरे हो भने १
नारी दिवसको अवसरमा कुनै गाउँका, कुनै वडाका एक समूह नारीलाई साक्षर बनाउने, उनीहरूलाई नारी अधिकारबारे जानकारी दिने, विपन्न छन् भने स्वरोजगारका कार्यक्रम चलाइदिनेजस्ता कार्यक्रम गरेको कहीं देखिंदैन । किनकि यहाँ नारीलाई सक्षम बनाउने, समर्थ बनाउने, उसलाई अधिकार दिलाउने त कुरै छैन, मात्र दिवस मनाउने उद्देश्य हुन्छ । दिवस मनाउँदा केही लाग्दैन । कार्यक्रम गर्दा त मिहनेत लाग्छ, जाँगर चलाउनुपर्छ, गाउँ–देहात वा आफूभन्दा कम स्तरका महिलाहरूसँग उठबस गर्नुपर्छ । त्यस बेला जातीयताको, उच–नीचको, सामाजिक स्थितिको सवाल प्रखर भएर आउँछ । नारी दिवसमा आफ्नो क्षेत्रमा उपलब्धिपूर्ण काम गर्ने महिलाहरू वा कुनै एक महिलाको सम्मान गरिदिए पनि हुन्छ । तर यस्ता कामहरू गर्दा नेताहरूको भाषण गर्ने धोको पूरा हुँदैन । ठूला–बडाहरूले मञ्चमा रवाफ देखाउन पाउँदैनन् । कार्यक्रम सम्बद्ध क्षेत्रका लागि हो र ? नेता, ठूला–बडाले आफ्नो मपाईं देखाउने अवसर हो । तिनको अघाउँजी पूर्ति हुन्छ, यस्ता दिवसहरू मनाउँदा ।