– सञ्जय मित्र

म जन्मजात दुई नम्बरी हुँ। माता–पिताको गर्भबाट मेरो जन्मको रोल नम्बर दुई हो अर्थात् म माहिलो हुँ। माहिलो हुनु जन्मजात दुई नम्बरी हुनु हो तर एउटा मात्र दुई नम्बरले दुई नम्बरी हुँदैन। म जन्मेको वडा नम्बर पनि दुई नै हो। यसले मलाई असली दुई नम्बर बनाएको छ। र जब मेरो प्रदेश दुई नम्बर भयो, तब म राष्ट्रियस्तरको दुई नम्बरी हुन पुगें। कतिपयले यसलाई प्रादेशिक दुई नम्बरी भन्दथे। वास्तवमा प्रदेशस्तरको दुई नम्बरी हुनु गर्वको विषय हो र राष्ट्रियस्तरको दुई नम्बरी हुन पाउनु त झन् गौरवको पक्ष हो।

म दुई नम्बरको वंश हुँ भन्न चाहिं साँच्चै नै लाज लाग्छ। हुनत मजस्ता अरू थुपै्र बुद्धिवाल जन्मजात दुई नम्बरी हुनुहोला, तीन नम्बरी र चार नम्बरी पनि हुनुहोला तर आत्मरतिको मपाईंत्वले आफूलाई एक नम्बरीमैं दरिराख्नुभएको होला। हरेक पहेंलोले आफूलाई सुनकै भ्रम पालेको जस्तो।

म एक नम्बरमा जन्मन्छु वा म दुई नम्बरमा जन्मन्छु भनेर कतै कोही चाहेर जन्मेका हुन् त ? आफूलाई एक नम्बरी ठान्नेहरूमध्ये कतिपयले यसरी नाक फुलाउँछन् कि आफ्नो कर्मले एक नम्बरी जन्मेका हुन्। जुन कुरामा आफ्नो कुनै अधिकार छैन, कुनै कर्म छैन।

वंशजको नाताले दुई नम्बरी विशिष्टताधारी म आफूलाई यस नाताले पारिवारिक दुई नम्बरी भन्ठान्थें। पालिकास्तरको दुई नम्बरी पनि हुँ। अहिले पालिकाको दुई नम्बरी मात्र होइन, म जन्मँदा पनि मेरो जन्मघर अडेको जमीन तत्कालीन दुई नम्बर वार्डमा थियो। यसरी म मौलिक दुई नम्बरी हुँ। म स्थायी दुई नम्बरी हुँ। अल्पकालीन र अस्थायी दुई नम्बरी त प्रादेशिक दुई नम्बरी थियो, जुन आयातीत थियो।

मेरो दुई नम्बरी गाउँमा एउटा टुक्का प्रचलित छ– माझिल होखले फाजिल। अर्थात् माइलो फाजिल हुन्छ। बुबाआमाको माया पनि नपाउने र किरिया–कर्म पनि बोक्न नहुने। बुबा आमाले कि त जेठोलाई मान्छन् कि त कान्छोलाई। बीचमा माइलो त घरको न घाटको हुन्छ। जब धर्मले नै किरिया कर्ममा दुई नम्बरीमाथि विभेद गरेको छ भने बुबाआमाले त धर्मलाई नै मानेर माइलोलाई माया नगर्दा पनि हुन्छ भन्ने विचार गरेर समाजले उक्त टुक्काको आविष्कार गरेको हुनुपर्छ।

बुबाआमाले नै माया नगर्ने दुई नम्बरलाई कसले पो माया गरोस्। एक दिन मैले विचार गर्दै गएँ कहाँ कहाँ दुई नम्बरीले माया पाएको छैन ? कतै दुई नम्बरीको कुनै सङ्गठन बनिहाल्छ कि ? पहिलो झोक्कामा सबैभन्दा बढी अन्याय त दुई नम्बरमाथि नै भएको पाएँ। दुई नम्बरलाई किन हेपिन्छ भन्ने कुराको रहस्य मैले पत्तो लगाएँ। साँच्चै एक नम्बरमा गर्व हुने, दुई नम्बर भनेपछि नाक नै खुम्च्याउने तर तीन, चार, पाँच आदि कुनै नम्बरप्रति वितृष्ण बीउ नउम्रिने किन हुँदोरहेछ भन्ने कुरो मैले पत्तो लगाइछाडेको छु। आखिर दुई नम्बरीले दुई नम्बरलाई हेपिने रहस्य पत्ता नलगाए कसले लगाउँछ ? सर्पले नै सर्पको खुट्टो देख्छ भनेझैं एउटा दुई नम्बरीले दुई नम्बरी हुनुको पीडा कहाँ कहाँ छ भनेर बताउन सक्छ।

परम्परादेखि नै दुई नम्बरमाथि अन्याय भएको छ। दुई नम्बरमाथि भएको अन्यायलाई सगोलमा दुई नम्बरी अन्याय भनिएको हो। विचार गर्नुहोस् त, एकपछि दुई आउँछ र दुईपछि तीन तर दुईले जति हेला र अपमान तीनले किन पाउँदैन ?

नघुमाइ भन्नुपर्दा, एकको एघार, एक्काइस, एकतीस… एकानब्बे हुन्छ। तीनको तेरह, तेइस, तेत्तीस, त्रिचालीस… त्रियानब्बे हुन्छ। अनि यसैगरी चार, पाँच, छ, सात सबैको मिल्ने हुन्छ तर दुईमाथि कत्रो अन्याय ? विचार गर्नुभएको छ ?

एक र एक एकै ठाउँमा लेख्दा एघार, एक र तीन एकै ठाउँमा लेख्दा ते–ह भएजस्तै एक र चार चौध, एक र पाँच पन्ध्र, एक र छ सो–ह, एक र सात सत्र, एक र आठ अठार हुन्छ। यसैगरी, दुई र एक एक्काइस हुन्छ तर जहाँ पनि दुई नम्बरसित किन अन्याय ? एक र एक एघार तथा एक र तीन ते–ह भएजस्तै एक र दुई दु–ह हुनुपर्ने हो कि होइन ? अनि दुई र एक दुईस हुनुपर्ने हो कि होइन ? किन बा–ह र बाइस ? किन बत्तीस ? तीन र दुई दुत्तीस हो। चार र दुई दुआलीस किन होइन ? कसरी चार र दुई बयालीस ? पाँच र दुई बाउन्न कसरी ? पाँच र दुई त दुईन्न हुनुपर्ने होइन र ?

यसैगरी, छ र दुई बासट्ठी वा बैसट्ठी भनेर यसमा पनि दुईलाई दुई नम्बरी भनेको हो कि ? दुसट्ठी किन नभनेको होला ? सात र दुई दुहत्तर हुनुपर्ने हो, बहत्तर कुन रीतिले ? आठ र दुई दुरासी हो, बयासी होइन। तथा नौ र दुई बयानब्बे रे, दुरानब्बे होइन ?

दुई नम्बर भनेर जहाँतहीं वा जसरी पायो त्यसरी नै हेपेको मात्र हो। दुई नम्बरीलाई हेप्नेहरूलाई लाग्ला यो दुई नम्बरीले दुई नम्बरी कुरो गरेको छ तर वास्तवमा एक नम्बर असली हो भने यो एक नम्बरी कुरो हो कि दुई नम्बरीले सम्मान पाउनुपर्छ। दुई नम्बरीले सम्मान पाउने सुरुआत दुई नम्बरले पनि पहिले पाउनुपर्छ। अनि दुई नम्बरको सामानको होइन कि समान सम्मानको लागि अबदेखि बा–हलाई दु–ह, बाइसलाई दुईस, बत्तीसलाई दुईस, बयालीसलाई दुआलीस, बाउन्नलाई दुइन्न, बासट्ठीलाई दुसट्ठी, बहत्तरलाई दुहत्तर, बयासीलाई दुरासी तथा बयान्नब्बेलाई दुरान्नब्बे घोषणा गर्दछु। दुई नम्बरीले दुई तिहाइले गरेको घोषणा हो।

फेरि भन्नुहोला यो दुई नम्बरीलाई कसरी त्यसरी नामकरण गरिस् ? कुनै ऐतिहासिक, सांस्कृतिक आधार छ ?

म भन्छु– छ। ऐतिहासिक तथा सांस्कृतिक आधार पनि छ र समानताको समावेशी आधुनिक आधार पनि छ। हेर्नुस् त संस्कृतमा के भनिन्छ ? संस्कृत भाषामा दुईलाई कतै हेपिएको छैन। एकदेखि सयसम्म गन्दा वा भन्दा द्वादश, द्वाविंश, द्वात्रिंश, द्विचत्वारिंश, द्विपञ्चाश, द्विषष्टितम, द्विसप्ततितम, द्वयशीतितम र द्विनवतितम भनिएको पाइन्छ। अब भन्नुस् त, ऐतिहासिक तथा सांस्कृतिक आधार छ कि छैन ?

आजभोलि चलिरहेको अत्याधुनिक अङ्ग्रेजीलाई पनि हेरौं। अङ्ग्रेजीमा पनि टुवेल्भ, टुवेन्टी टू, थर्टी टू, फोर्टी टू, फिफ्टी टू, सिक्सटी टू, सेभेन्टी टू, एटी टू र नाइन्टी टू हुन्छ कि हुँदैन ?

इतिहासलाई नबुझ्ने, संस्कृतिलाई नबुझ्ने तथा आधुनिकतलाई अङ्गीकार नगर्ने दुई नम्बरी हो कि ? दुई नम्बरले सबैलाई सम्मान गर्ने भएर दुई नम्बरलाई सम्मान गर्न अरूलाई अपमानबोध भएको हो ? दुई नम्बर र दुई नम्बरीले बुझ्न नसकेको हुनुपर्छ।

तर दुई नम्बर सदैव उही रहँदैन। कुनै विशेष परिवेशमा एक नम्बरभन्दा दुई नम्बरले बढी माया पाउँछ। पत्याउनुभएन ? एक नम्बर पत्नीभन्दा दुई नम्बर पत्नीले बढी माया पाउँछिन् कि पाउँदिनन् ? एक नम्बर पतिभन्दा दुई नम्बर पतिले नैसर्गिकरूपमैं बढी प्रेम पाउँछन्। र अझ दुई नम्बर पति र दुई नम्बर पत्नी अर्थात् दुई नम्बरी दम्पती हुँदा दुवैमा हुने स्नेह के कुनै हंसजोडीमा हुन्छ होला र ?

तर पनि समग्रमा दुई नम्बरमा अन्याय भएको छ। दुई नम्बरमा भएको अन्याय यदि अन्याय होइन भने दुई नम्बर न्याय हो। दुई नम्बरले दुई नम्बर नै भए पनि न्याय पाउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here