– राजेश मिश्र

एकजनाको छोरीको विवाह थियो। वैवाहिक लगनको बेला आवश्यक सामग्री अग्रिम बुकिङ नगरी हुन्न। त्यही मेसोमा आज उनी ‘राम गिलास’ अर्थात् माटोको गिलास बुकिङ गर्नको लागि पल्लो गाउँमा कुम्हालेको घरमा आएका रहेछन्।

कुम्हालः केतना गिलास चाहिं

(कतिवटा गिलास चाहियो) ?

क्रेताः दु सय दे दिह (दुई सयवटा दिनुहोला)।

कुम्हालः दु सय में हो जाई ? दुनु तरफ के मिलाके लगभग केतना लोग होई ? (दुई सयवटाले पुग्छ ? दुवैतर्फबाट गरेर लगभग कतिजना मानिस हुन्छन्) ?

क्रेताः दुनु तरफ से मिलाके लगभग दु सय आदमी हो सकता (दुवैतर्फबाट मिलाएर झन्डै दुई सयजना मानिस हुन सक्छन्)।

कुम्हालः (आश्चर्यचकित मुद्रामा क्रेताको अनुहार हेर्दै) हो भाइ, दु सय आदमी में दु सय गिलास से ना पुगी। बेंसी लेवे के परी (ओ भाइ दुई सयजना मानिसको लागि दुई सयवटा गिलासले पुग्दैन। बढी लिनुपर्छ)।

क्रेताः तब केतना लेवे के परी हो, भैया ? हामरा ओतना पाता नइखे। तु हिं बताव जे केतना लागी (तब कति लिनुपर्छ हो, दाजु ? मलाई त्यति थाहा छैन। तपाईं नै बताउनुस्, कति लाग्छ) ?

कुम्हालः अगर दु सय आदमी बा त कम से कम पाँच सय गिलास लेवे के परी, बुझल (यदि दुई सय मानिस छन् भने कम्तीमा पनि पाँच सयवटा गिलास लिनुपर्छ, बुझ्यौं)।

अन्ततः कुम्हालेको सल्लाह बमोजिम पाँच सयवटा माटोको गिलास बुकिङ गर्नुका साथै बैनाबट्टा दिने/लिने कार्य सम्पन्न भयो। त्यसपछि क्रेता खाना पकाउने कार्यका लागि हलुवाइको जोहोमा अन्यत्र प्रस्थान गरे। कुम्हाले यता गिलास बनाउने कार्यमा पुनः व्यस्त भए। तीन दशकअघिसम्म उपरोक्त संवाद खूब सुन्न पाइन्थ्यो। उहिलेको निर्विकल्प संंसाधन बिस्तारै डिस्पोजेबल गिलासको ओतमुनि विलुप्त भइसकेको छ। पर्यावरण र स्वास्थ्यको चिन्ताभन्दा पनि विषादीयुक्त संसाधनलाई आज भरपर्दो साधन बनाइएको छ।

राम गिलास

माटोको भाँडोको इतिहास प्रागैतिहासिक हो। किनभने मानवजीवनको उत्पत्तिपश्चात् जीवनयापनको क्रममा विविध वस्तुहरूको आवश्यकता महसूस हँुदै गयो। बिस्तारै मानवीय चेतनाको विकासक्रमसँगै संसाधनको उत्पादन र निर्माण हुँदै गयो। त्यति बेला जीवनयापनका संसाधन केवल प्राकृतिक उपलब्धतामा निहित थियो। उक्त उत्पादन प्रकृति तथा प्राणी दुवैका लागि उपयुक्त थियो। त्यही क्रममा पानी पिउने संसाधनको रूपमा माटोको गिलासको उत्पत्ति भयो। कुम्हाल जाति उक्त माटोको गिलासका उत्पत्तिकर्ता हुन्। प्राकृतिक स्रोत अर्थात् माटो र पानीको मिश्रणबाट निर्मित उक्त गिलासलाई मधेसमा ‘राम गिलास’ भन्ने प्रचलन स्थापित छ।

एकपटक अतीतमा फर्कौं। उहिलेको भोजभतेरमा ‘राम गिलास’ अर्थात् माटोको गिलासमा पानी खाएको त्यो क्षण स्मरण गरौं। कुम्हालहरूले आफ्नो श्रम र पसिना खर्चेर माटोको गिलास निर्माण गर्दथे। उक्त कार्यले उनीहरूको जीविकोपार्जन त हुन्थ्यो नै, सामाजिक आवश्यकता पनि पूर्ति हुन्थ्यो। उहिले होस् वा अहिले विवाह, अष्टयाम, कथा, पूजालगायत विभिन्न धार्मिक वा सामाजिक उत्सवहरूमा पानी पिउनको लागि गिलास नभई नहुने संसाधन हो। यद्यपि उहिलेको उत्सवहरूमा माटोको गिलास निर्विकल्प संसाधन मात्र थिएन, प्रकृतिअनुकूल पनि थियो।

आज राम गिलास लोपोन्मुख भइसकेको छ। बदलिंदो परिवेशसँगै आजका पुस्तामध्ये प्रायःलाई राम गिलासबारे थाहा छैन। उहिले माटोको गिलास देहाती जनजीवनसँग जोडिएको थियो। आज आधुनिकताको तराजुमा मापन गरिंदैछ र स्वास्थ्यअनुकूल उपक्रमलाई पारम्परिक भन्दै बिस्तारै लोपोन्मुख बनाइयो। जुन परिवेशबाट राम गिलासको उत्पत्ति भयो, आज सो परिवेशमा पनि प्रयोगशून्य छ। यद्यपि उहिले पानी पिउने राम गिलासको आकार अहिले छोटो भइसकेको छ। सुखानुभूति के छ भने शहरका केही चियापसलहरूमा उक्त माटोको गिलास अहिले चियाको कपको रूपमा अस्तित्वमा छ। जगजाहेर छ, स्वाद र स्वास्थ्यको दृष्टिकोणले माटोको गिलास वा कप निर्विकल्प संसाधन हो।

प्रकृतिमय आविष्कारलाई आधुनिकताको मानकमा जति मापन गर्छौं, त्यति नै स्वास्थ्यबर्धक संसाधन विलुप्त हुन्छ र हामी बिस्तारै प्रकृतिको सामीप्यताबाट अलग–थलग हुन्छौं। यो धु्रवसत्य हो। आज राम गिलास अस्तित्वविहीन हुनुको मुख्य कारण यही हो। पानी खाने उक्त राम गिलास पुरानो पुस्ताका लागि नयाँ जानकारी होइन। यदि विगतमा फर्किने प्रयास गरियो भने उक्त परम्परागत जीवनशैलीको अनुभूतिले ह्दय प्रफुल्लित नहुने कुरै छैन। उहिले वैवाहिक वा धार्मिक उत्वसहरूमा अन्य बन्दोबस्तीका सामग्रीसहित माटोको गिलास पनि अग्रिम बुकिङ गर्नुपथ्र्यो। वैवाहिक लगनको समयमा माटोको गिलासको माग ह्वात्तै बढ्थ्यो। धनी र गरीब सबैका लागि माटोको गिलास नै भरपर्दो थियो।

प्लास्टिकपछि डिस्पोजेबल गिलास

‘बडी महकता इ गिलास, हम एसे पानी ना पिएम’ अर्थात् ‘बडो गन्हाइरहेको छ यो गिलास, म यो गिलासले पानी पिउँदिनँ’ मानिसहरू भन्थे। दुई/तीन दशकअघि प्लास्टिकको गिलास पाइन्थ्यो। प्लास्टिकको गिलास रातो र हरियो आदि विभिन्न रङ्गमा पाइन्थ्यो। माटोको गिलासको विकल्पको रूपमा प्लास्टिकको गिलास प्रयोग हुन थाल्यो। तर नयाँ प्लास्टिको गिलास एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न घिन लाग्थ्यो। भोजभतेरमा एउटै गिलास विनाधोइपखाली धेरैपटक प्रयोग हुन्थ्यो। बाध्यतावश प्रयोग त हुन्थ्यो, तर अधिकांश मानिसले मन पराउँदैनथे। बरु प्लास्टिकको गिलासको सट्टा मानिसहरू राम गिलास मन पराउँथे। 

केही दशकदेखि डिस्पोजेबल गिलास उदीयमान छ। सहज र भरपर्दो संसाधनको नाममा स्वास्थ्यका लागि हानिकारक वस्तुको उत्पादन र प्रयोग दिन प्रतिदिन बढ्दो छ। वर्तमान परिप्रेक्ष्यमा पानी पिउने डिस्पोजेबल गिलासहरू थुप्रै आकार र प्रकारमा उपलब्ध छन्। डिस्पोजेबल गिलासहरू भरपर्दो र सुविधायुक्त भए तापनि अदृश्यरूपमा सोको प्रतिकूल प्रभाव हामी खेप्न बाध्य छौं। डिस्पोजेबल गिलास उत्पादनका निमित्त आवश्यक कच्चा पदार्थलगायतबाट सरकारले कर पाउँछ। उत्पादनकर्ताले आम्दानी गर्छ। आममानिस खरीद र प्रयोग गर्छन्। बिस्तारै अदृश्यरूपमा विभिन्न रोगको चपेटामा पर्छन्। रोग लागेपछि उपचारका लागि स्वास्थ्य संस्थामा धाउँछन्। स्वास्थ्य उपचारमा ठूलो धनराशि खर्च गर्न बाध्य हुन्छन्। रसायनयुक्त संसाधनको प्रयोग गरेकोले रोग लागेको हो भन्ने कुरा ठम्याउनु न सहज छ, न जानकारी प्राप्त गर्ने कसैलाई फुर्सत छ।

विभिन्न शोधहरूका अनुसार प्लास्टिकजन्य गिलासमा तातो चिया, दूध वा पानी पिउनाले रसायनयुक्त केमिकल मानिसको पेटमा जान्छ, जसले झाडापखाला जस्ता रोग लाग्ने गर्दछ। यसले मानव अङ्गहरूमा प्रत्यक्ष प्रभाव पार्छ। डिस्पोजेबल वा प्लास्टिकमा मेट्रोसेमिन, बिस्फेनोल र बर्ड इथाइल डिओक्सिन नामक रसायनहरू हुन्छन्। जुन हरेक चुस्कीको साथ पेटमा जान्छ र आन्द्रामा जम्मा हुन्छ। क्यान्सर, मिर्गौलारोग, पाचन प्रणालीमा गडबडी हुनुका साथै गर्भवती महिलाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ। हरेक दिन डिस्पोजेबल गिलासमा चिया खाने बानीले थकान, हार्मोनमा असन्तुलन जस्ता समस्याहरू उत्पन्न हुन सक्छ। यतिमात्र होइन, यसमा रहेको केमिकलले मस्तिष्कलाई पनि धेरै असर गर्छ। विभिन्न वैज्ञानिक अनुसन्धानमा के भनिएको छ भने हरेक दिन डिस्पोजेबल कपमा चिया वा पानी पिउने बानीले क्यान्सर जस्तो घातक रोग निम्त्याउन सक्छ।

निष्कर्ष

डिस्पोजेबल कप तथा गिलासहरू प्रयोग गर्न सजिलो छ। धुने/पखाल्ने समस्या नभएकोले डिस्पोजेबल गिलासमा चिया र पानी पिउने चलन ह्वात्तै बढेको छ। तर यसले रोग निम्त्याउन सक्छ भन्ने कुराप्रति न सरकार जिम्मेवार देखिन्छ, न जनता सचेत छ। डिस्पोजेबल गिलास प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक हो भन्ने कुरा सरकारदेखि नागरिकसम्म सबैलाई थाहा छ। विविध शोधहरूका अनुसार डिस्पोजेबलहरूमा पोलीस्टायरिन हुन्छ, जसले मानव स्वास्थ्यलाई धेरै हदसम्म हानि पु–याउँछ, जुन प्रयोगकर्तालाई थाहा पनि हुँदैन। मानव स्वास्थ्य तथा पर्यावरणमा आघात पु–याउने थुप्रै कारणमध्ये प्लास्टिकजन्य संसाधन पनि एक कारण हो। पर्यावरणको सुरक्षाप्रति सभा, सेमिनार तथा गोष्ठी आदिमा प्रतिवर्ष सरकारको करौडौं रुपैयाँ खर्च हुन्छ तर परिणाम शून्य छ। जुन कुराप्रति बढी गम्भीर हुनुपर्ने हो, त्यसतर्फ कसैको ध्यान छैन। सरकार नागरिकको स्वास्थ्य समस्याप्रति जति गम्भीर भए तापनि स्वास्थ्य समस्याको कारक पक्षप्रति गम्भीर नहुने हो भने सरकारी स्वास्थ्य नीतिको कुनै अर्थ छैन।

माटोको गिलासमाथि प्लास्टिकजन्य गिलास हाबी भएपछि स्थानीय उत्पादन निरुत्साहित भयो। कुम्हालेको पुख्र्यौली पेशा अहिले सङ्कटमा छ। मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेको छ। पर्यावरणमाथि आघात पुगिरहेको छ। तसर्थ सरकारी पक्ष जिम्मेवार भई माटोको गिलासलाई पुनर्जीवन दिनुपर्छ। स्थानीय पेशा, व्यवसाय तथा उत्पादनलाई प्रोत्साहित गर्नुपर्छ। राम गिलास होइन, मधेस प्रदेशको अस्तित्व सङ्कटमा छ। त्यस कारण प्रदेश तथा स्थानीय तहहरूको माटोको गिलासको प्रवर्धनमा महत्वपूर्ण भूमिका अपेक्षित छ। यसले स्थानीय पेशा, मानव स्थास्थ्य तथा पर्यावरणप्रति न्याय भएको ठहरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here