मानव समाज संस्कृतिविना बाँच्न सक्दैन न सभ्यताविना नै । तर समाजमा सभ्यता र संस्कृतिबीच सन्तुलन भएन भने विध्वंस जन्मन्छ । पृथ्वीमा हिजो जति पनि विकसित मानव सभ्यता थिए, ती सबको नाश हुनुको पछाडि कारक तŒव सभ्यताको अति विकास नै हो । संस्कृति भनेको प्रकृति हो । यसको प्रभाव दिगो हुन्छ भने सभ्यता, मानव निर्मित हो । सभ्यता क्षणभंगुर हुन्छ । जबजब सभ्यता चरमोत्कर्षमा पुग्छ, संस्कृतिको ह्रास हुन्छ । सभ्यता नशा हो भने संस्कृति मानिस वा सम्पूर्ण प्राणी जगत्को जीवनको आधार हो । मानवको संस्कृति र मानवेतर प्राणीबीच अभेद्य सम्बन्ध छ । सभ्यताले यस सम्बन्धमा फाटो ल्याउँछ र प्राणी तथा वनस्पतिको अस्तित्व सङ्कटमा पर्दै जान्छ । मानिस सभ्य हुनु भनेको प्राकृतिक साधनको दोहन हो । यो दोहन चरमावस्थामा पुगेपछि अस्तित्वमाथि हमला हुन्छ । शुरूमा नथाहा हुनेगरी कीट–पतङ्ग, पशुपन्छीको नाश हुन्छ, वनस्पतिका प्रजातिहरू नामेट हुन्छन् । किनभने मानिसलाई सभ्य हुनका लागि धेरैभन्दा धेरै संसाधनको आवश्यकता पर्छ । संसाधनको आपूर्ति उसले प्रकृतिबाट गर्छ । अनि प्रकृतिमाथि हुने आक्रमणले शुरूमा अत्यन्त संवेदनशील प्राणीहरूको र बिस्तारै ठूला प्राणीलाई विनष्ट गर्न थाल्छ ।

मानिस सभ्य बन्ने क्रममा रेल चढ्न थाल्यो । रेल चलाउन पहिले दाउरा प्रयोग हुन्थ्यो, त्यसका लागि जङ्गल काट्न थालियो । यसरी असङ्ख्य रूख–बिरुवा काट्दा जङ्गलको पर्यावरणमा प्रतिकूलता आयो । त्यहाँ बस्ने कीट–पतङ्ग, पशु पक्षी कि मरे कि भागेर अन्यत्र गए । तर जङ्गल कटानले चारैतिर रौद्र रूप देखाउन थालेपछि वासस्थानको अभावमा साना जनावर मर्न थाले । साना जनावर नहुँदा तिनलाई आहार बनाउने हिंसक जीवहरूको अस्तित्वमा सङ्कटमा प¥यो । आज बाघ, सिंह, हात्तीजस्ता जीवहरूको संरक्षणका लागि मानिसले कैयौं उपाय गर्नुपरिरहेको छ । सभ्यताको माग अनौठो हुन्छ । सौन्दर्य प्रसाधन, अप्राकृतिक बल प्राप्त गर्न पशुपक्षीलाई मार्न थालियो । रेलको आवश्यकता बढेपछि दाउराले नपुगेर कोइला प्रयोग हुन थाल्यो । मानिसलाई सभ्य बन्न थप उज्यालो चाहियो, त्यसका लागि थर्मल प्लान्ट बसाउन कोइलाको भण्डार नै चाहियो । यसरी धरतीको गर्भको दोहन हुन थाल्यो । मानिसलाई बस्न झुपडीले पुगेन, उसले महल बनाउन थाल्यो । महल बनाउन सिमेन्ट, छड, संगमरमर चाहियो । यिनको आपूर्तिका लागि धरतीको छाती फोड्न थालियो । धरतीलाई जीर्ण बनाउने कामको थालनि भयो ।

मानिस जति सभ्य हुँदै गयो, उसका आवश्यकता बढ्दै गए र त्यसको आपूर्ति प्रकृति दोहनबाट गरियो । मानिसलाई कालोपत्रे सडक चाहियो, पक्की घरहरू चाहियो, वायुयान चाहियो । यी सबका लागि जुन उपकरणहरू प्रयोग भए तिनले अपार गर्मी उत्पन्न गरे । जसले गर्दा ध्रुव प्रदेशका बर्फ पग्लन थाले, हिमालयको काख शून्य हुन थाल्यो । धवल, सुरम्य हिमालय अब कालो देखिन थाल्यो । मानिस अब सभ्यताको त्यस मोडमा पुगेको छ कि आफैंले उत्पन्न गरेका यी विकृतिहरू थाहा पाएर पनि पछि फर्कन सक्दैन । संस्कृतिले पीपलको रूखमा भगवान्को रूप देखेको थियो, मास्दैनथ्यो । कुवाँ, ताल, सरोवरमा नारायणको वास भएको मान्दथ्यो, पुरेर बस्ती बसाउँदैनथ्यो । संस्कृति र सभ्यताबीचको खाडल फराकिलो भइसकेको छ । मानिस संस्कृतितर्फ फर्कन सक्दैन । यसले निश्चय नै ठूलो विनाश निम्त्याउने नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here