• राजेश मिश्र

भारतको एक भाइरल प्रसङ्ग यस्तो छ, ‘युपी मे का बा ?’ अर्थात् उत्तर प्रदेशमा के छ ? यो गीतले भारतीय राज्य उत्तरप्रदेशको राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न गरिदिएको छ । उक्त गीतकोे असर उत्तरप्रदेशको चुनावमा पर्छ वा पर्दैन, त्यो हाम्रो सरोकारको विषय होइन । यद्यपि राजनीतिप्रति प्रश्न मिश्रित व्यङ्ग्यले राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न गरेको कथा नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक र महŒवपूर्ण छ ।

सो गीतकी रचयिता तथा गायिका नेहा सिंह राठौरको उक्त भिडियो भाइरल हुन धेरै समय
लागेन । कुनै पनि अभिव्यक्तिले स्वाभाविकरूपमा एक पक्ष अति खुशी र अर्को पक्ष अति निराश हुन सक्छ । भारतको उत्तरप्रदेश राज्यमा अहिले विभिन्न चरणमा निर्वाचन भइरहेको छ । नेहा सिंहले निर्वाचनलाई लक्षित गरी उपरोक्त शीर्षक भएको भिडियो सामाजिक सञ्जालमा सम्प्रेषण गरेकी थिइन् । सत्तापक्षमाथि व्यङ्ग्य प्रहार गरेको उक्त गीत विपक्षीहरूले असाध्यै रुचाए भने सत्तानिकट पक्ष आहत भए ।

सत्ता समर्थकहरूबाट पनि प्रतिउत्तर स्वरूप थुप्रै गीत सामाजिक सञ्जालमा सम्प्रेषण भएका
छन् । सत्तापक्ष तथा विपक्ष समर्थकहरूबीच सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका कटाक्षले राजनीतिक अन्तद्र्वन्द्व छर्लङ्ग छ । चुनावताका उम्मेदवारहरूबीच एकअर्कामाथि दोषारोपण गर्ने प्रचलन नयाँ भने होइन । चुनावताका सबै उम्मेदवार आफूलाई कर्मठ, सुयोग्य तथा विकासप्रेमी नेताको रूपमा उभ्याउन सकेसम्म कुनै कसर बाँकी राख्दैनन् । यद्यपि आमजनताले सत्तापक्ष तथा उम्मेदवारहरूसँग प्रश्न गर्नु नै लोकतान्त्रिक पद्धतिको मूल मर्म हो ।

उहिलेको निर्वाचनको चर्चासँगै निर्वाचनको वर्तमान सन्दर्भलगायतका विषयवस्तुमा आधारित आजको यो आलेख एक रोचक प्रसङ्गका साथ प्रस्तुत छ ।
विसं २०४२ सालको कुरा हो । एक बाल्यकालीन प्रसङ्ग मलाई अहिलेसम्म याद छ । पर्साको पोखरियाको प्रसङ्ग हो । बिहीवारको दिन थियो । प्रायः दिउँसो १ बजेपछि खुद्रा व्यवसाीहरूले बजारमा पसल थाप्थे । दुई बजेपछि हाटमा मानिसहरूको आउने क्रम शुरू हुन्थ्यो । तर उक्त दिन बिहान १० बजेदेखि बजारमा मानिसहरूको भीड बढ्दै गइरहेको थियो । आज के हुने हो भन्ने कुरा ठम्याउनु हामी नाबालकहरूको चेतनाभन्दा परको कुरा थियो । हामी केही साथीहरू खेल्दाखेल्दै पोखरिया माविको प्राङ्गणमा पुग्यौं ।

टेन्ट र लाउडस्पीकर देखेपछि हाम्रो आकर्षण सोहीतर्फ केन्द्रित भयो । केही व्यक्तिहरूले बुनिया र बेसनको सेव ससाना प्लास्टिकको झोलामा प्याकिङ गरिरहेको हामीले देख्यौं । हाम्रो आँखा बुनियाबाट हटिरहेको थिएन । अन्ततः एक साथीले जिज्ञासा प्रकट गर्दै सोध्यो, “काका हो, आजु इहा कुछु होइ का ?” अर्थात् काका हजुर, आज यहाँ केही हुन्छ कि क्या हो ? उनले आज नेताको भाषण हुने कुरा अवगत गराए । अर्को साथीले औंलाले मिठाइको पकेटतर्फ इङ्गित गर्दै सोध्यो, “आ, हइ मिठाइ कब बाँटाइ ?” भाषण सकेपछि बाँडिने प्रतिउत्तर सुनेपछि हामी टेन्टमैं खेल्न थाल्यौं । सम्भवतः बुनियाको दुनियाँमा हाम्रो चेतना शयर गरिरहेको थियो ।

बिस्तारै मानिसहरूको उपस्थिति बढ्न थाल्यो । एकाध घण्टापछि नेताको आगमन भयो । नेतालाई देख्ने बित्तिकै एकजना कार्यकर्ताले माइकमा नेताको गुणगान गर्न थाले । दलबल (पाँच/छ जना)सहित आएका नेता तथा कार्यकर्ताहरू कुर्सीमा आसीन भए । सर्वसाधारण मानिसहरू भुइँमा बसे । सबैभन्दा अगाडि हामी बालबालिकाहरू बस्यौं । कसले भाषण गरिरहेको छ ? के बोलिरहेको छ ? आदि कुरा हाम्रो सरोकारको विषय थिएन । हामी केवल मिठाइको प्रतीक्षामा बसिरहेका थियौं । भाषणको शायद अन्तिम घडी चलिरहेको थियो । अघि हामीले मिठाइ कहिले बाँड्ने कुरा सोधेको ती काकाको कानमा नेताले के भने हामीलाई थाहा थिएन । तर त्यसको केही मिनेटपछि ती काकाले तीनवटा मिठाइको दौरा ल्याएर टेबुलमा राखिदिए ।

अहिले हामी नाबालकहरूको खुशीको सीमा थिएन । हाम्रो ध्यान एकटकले मिठाइमाथि थियो । आँखाअगाडि मिठाइ भएकोले नेताहरूको भाषण हामीलाई रतीभर पनि सुहाइरहेको थिएन । भाषण कति छिटो सकोस् भन्ने ध्याउन्नमा हामी थियौं । अन्ततोगत्वा नेताले सभाको समापन गर्दै सबैजनालाई मिठाइ खाएर जान आह्वान गरे । केवल वयस्कजनलाई मिठाइ दिने कार्य शुरू भयो । त्यसपछि मिठाइ लिनेहरूको भीड बढ्यो । झम्टाझम्टीको अवस्था सृजना भयो । वयस्कजनहरूको देखासिकी गर्दै हामी नाबालकहरूले पनि मिठाइमाथि आक्रमण ग¥यौं ।

केही नलागेपछि वयस्कजनहरूको खुट्टाको बीचबाट छिरेर मिठाइसम्म पुग्नुपरेको थियो । धेरै सङ्घर्ष गरेपछि केही मिठाइका पाकेट हाम्रो हातमा पनि आयो । चुनाव अवधिभरि हामी नाबालकहरूले यस्ता अवसर पाइरह्यौं । मतपरिणामपछि कोही विजय त कोही पराजय भए । चुनाव सकिएसँगै मिठाइ पाइने अवसर मात्र समाप्त भएन, अपितु गाउँहरूमा नेतागणहरूको उपस्थिति समाप्ततुल्य भयो । विजयी उम्मेदवार सत्तामा पुगे र पराजित उम्मेदवार आआफ्नो दिनचर्यामा व्यस्त भए ।

उहिलेको निर्वाचन

पञ्चायती व्यवस्था थियो । चुनावी उत्कर्ष शिखरमा थियो । त्यति बेला आधुनिक सवारीको रूपमा जीप थियो । अपवादबाहेक यता जीप उपलब्ध थिएन । त्यसैले भाडाका जीपहरू सीमापारिबाट ल्याउनुको विकल्प थिएन । जीप, लाउडस्पीकर, कपडाको ब्यानर र पम्पलेट आदि नै चुनावी प्रचारप्रसारका प्रमुख संसाधन थिए । जीपभित्र उम्मेदवारका पाँच/सात जना कार्यकर्ता, कागजमा छापेको पम्पलेट, १२ भोल्टको ब्याट्री र माइक हुन्थ्यो । जीपमाथि एउटा लाउडस्पीकर र जीपको दायाँ–बायाँ कपडाको ठूलो ब्यानर झुन्ड्याइएको हुन्थ्यो ।

प्रचारप्रसारमा विशेषगरी स्थानीय गवैयाहरूलाई प्रयोग गरिन्थ्यो । किनभने उनीहरूले उम्मेदवारको प्रचारका लागि भोजपुरी भाषामा कविता तयार पार्थे र कर्णप्रिय स्वरमा उम्मेदवारको गुणगान गाउँथे । प्रतिस्पर्धीहरूको आलोचना पनि कविताशैलीमैं गरिन्थ्यो । निर्वाचनको झन्डै दुई/तीन महीनाअघिदेखि चहलपहल बढ्थ्यो । प्रचारप्रसारको लागि गाउँमा पसेको एउटा जीप निस्कनै लाग्दा लाउडस्पीकरको चर्काे गुञ्जनसहित अर्को जीप आइपुग्थ्यो । पम्पलेट बाँडिन्थ्यो । भोटको लागि अनुनयविनय गरिन्थ्यो । कतिपय बेला विभिन्न उम्मेदवारहरूको प्रचार टोली एकसाथ गाउँमा आइपुग्थ्यो । उनीहरूले आआफ्नो उम्मेदवारको गुणगान जोडजोडले गर्दथे । ठूलो र मिश्रित आवाजले उनीहरूको कुरा सुन्न र बुझ्न धेरै कठिन थियो ।

पर्साको पोखरिया, पकहामैनपुर, लङ्गडी, भिस्वा, निचुटा, महुवन, सुवर्णपुर र श्रीपुर–पंचगावाँलगायतका स्थानमा साप्ताहिक हाट लाग्थ्यो । यी सबै ठाउँमा हाटबजार लाग्ने दिन फरक–फरक थियो । स्थानीय बासिन्दाहरू तरकारी, खाद्यान्न र किराना सामान खरीद गर्नका लागि हाट आउँथे । सोही अवसरको लाभ उम्मेदवारहरूले उठाउँथे । उम्मेदवारहरूको निर्देशनमा स्थानीय कार्यकताहरूले हाट लागेको दिन आमसभाको आयोजन गर्दथे । टेन्ट, लाउडस्पीकर, माइक र काठका एक/दुई वटा टेबल तथा केही कुर्सी नै आमसभाका लागि पर्याप्त संसाधन थिए । यी सबै व्यवस्था भइसकेपछि कार्यकर्ताहरूको साथमा जीपमा सवार उम्मेदवारको आगमन हुन्थ्यो । उम्मेदवारले जनतालाई लोभ्याउने प्रकृतिका नानाथरीका भाषण गर्थे, आश्वासन बाँड्थे र जान्थे ।

अहिलेको निर्वाचन

अहिलेको चुनाव कति खर्चिलो र भड्किलो छ भन्ने कुरा वर्णन गरेर साध्य छैन । वर्तमान अवस्थामा चुनाव अति नै तडकभडकयुक्त भएको छ । निर्वाचन आचारसंहिता भए तापनि खर्चको दायरा असीमित छ । आगामी २०७९ वैशाख ३० गते स्थानीय चुनावको घोषणा भएसँगै उम्मेदवारहरूको सक्रियता बढ्न थालेको छ । गाउँहरूमा उम्मेदवारहरूको उपस्थिति अहिले हेर्न लायक छ । घरदैलो कार्यक्रमसँगै विकासका योजना, प्रतिबद्धता र आश्वासन बाँड्ने कार्यको थालनी भइसकेको छ । आआफूलाई अब्बल साबित गर्ने कार्यले तीव्रता पाइरहेको छ । त्यस्तै, सामाजिक सञ्जालहरू पनि उम्मेदवारहरूको चुनाव लक्षित गतिविधिले भरिभराउ छन् । अहिले विभिन्न माध्यमबाट आआफ्नो क्षमता जनसमक्ष पु¥याउने कार्यमा उम्मेदवारहरू उद्यत छन् ।

शहरदेखि देहातसम्मको वातारवण चुनावी रङ्गले ढाकिंदै गइरहेको छ । संयोगवश चुनावअघि धार्मिक तथा सामाजिक उत्सवहरू होली, चैती छठ र नयाँ वर्ष परेको छ । त्यस कारण यसै बहानामा चुनाव लक्षित कानूनविरोधी आचरण छताछुल्ल हुने सम्भावना बढी छ । पाँच वर्षदेखि लुप्त नेताहरूका लागि अहिले विजयी हुने ध्येय नै सर्वोपरि लक्ष्य भएको छ । मतदाताहरूलाई रिझाउन भरमग्दुर प्रयास शुरू भइसकेको छ । खर्रोरूपमा भन्ने हो भने मतदाताहरूलाई जसरी भएपनि रिझाउने, प्रभावमा पार्ने, मत प्राप्त गर्ने र विजयी हुने स्वप्न नै आजको राजनीतिक चरित्र भएको छ ।

‘शिकारी आएगा, जाल बिछाएगा, दाना डालेगा, फँसना मत’ यो हिन्दी लोकोक्तिको अर्थ मतदाताहरूले बुझ्नुपर्छ । लोभी, स्वार्थी, नातागोता, आफ्नो र पराइभन्दा पनि असल उम्मेदवार छान्नेतर्फ आजका पुस्ताको झुकाव हुनुपर्छ । आगामी चुनावअघि जागरूकताको सङ्केत पनि आजको पुस्तामा देखिन थालेको छ । दारु, मासु र पैसाको लोभमा हुने मतदानले अपेक्षित परिणाम धरापमा पर्ने ज्ञान आमजनतालाई महसूस हुनु सुखद पक्ष हो । किनभने सामाजिक सञ्जालमा अहिले जनताद्वारा उम्मेदवारसँग प्रश्न गर्ने परिपाटी शुरू भइसकेको छ ।

जस्तै तपाईंको शैक्षिक योग्यता के हो ? तपाईं चुनाव किन लड्न चाहनुहुन्छ ? जनताको लागि तपाईंसँग के के मुद्दाहरू छन् ? तपाईंसँग विकासका योजनाहरू के के छन् ? तपाईंले विगतमा समाजका लागि के के गर्नुभएको छ ? सत्ताधारीको अनियमिततामा तपाईंको संलग्नता थियो कि थिएन ? आदि प्रश्नहरू जनताले उम्मेदवारसँग सोध्नु जागरूक जनताको पहिलो खुड्किलो हो । आगामी निर्वाचनमा आआफ्नो अमूल्य मतप्रति आफैं सचेत र जिम्मेवार भइयो भने भविष्य सुरक्षित र सुखद हुन्छ नै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here