संस्मरण
– सञ्जय मित्र
नेपाली भगवान् भनेर चिनिएका बुद्धसित सम्बन्धित ठाउँहरू यत्तिकै प्रिय छन्। शान्तिका लागि भगवान् बुद्ध परिचित छन्। एशियाका तारा भनेर पनि सिद्धार्थलाई नै चिनाउने हो। भगवान् बुद्धको यत्ति धेरै व्यावहारिक महत्व रहेको छ। उनका बारेमा लेखिएका साहित्य निकै पहिलेदेखि खोजीखोजी पढ्ने गरेको छु। यद्यपि क्षुधापूर्ति भने हुँदैन। बुद्धको बारेमा अझ धेरै जान्ने चाहना रहिरहन्छ।
बुद्ध आफैं पुगेको ठाउँमा पुग्दा भने अभ्यन्तरमा फरक सन्तुष्टि प्राप्त हुन्छ। यही सन्तुष्टिको खोजीमा बुद्धसित सम्बन्धित मुख्य स्थानहरूमा टेक्ने प्रयत्न जारी छ। यसरी पनि विचार गर्छु– पूर्वेली र पाश्चात्य धेरै विद्वान्हरू बुद्धको बारेमा जान्न चाहँदा र खोज्दा अन्ततः अनुयायी बनेका छन्। किन होला ?
उत्तरको खोजी आफूले नै गर्नुपर्छ। र यस्तो प्रश्नको उत्तर कुनै ठाउँमा डुलेर पाइँदैन। बुद्ध साहित्य नै पढ्नुपर्दछ। खोजी गर्नुपर्दछ तर बुद्धसित सम्बन्धित मुख्य स्थानहरूमा पुग्दा पाइने सन्तुष्टि मेरोलागि आनन्ददायी हुन्छ। जहाँ सन्तोष पाइन्छ र आनन्द पनि पाइन्छ, त्यस्तो ठाउँमा जान मन लागिरहन्छ। यही कारण हो कि कतै निस्किंदा बुद्ध धर्मसित सम्बन्धित ठाउँ छेउछाउमा पर्दछ भने अवलोकन गरिहाल्छु। बुद्ध जन्मेको लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर जस्ता अतिविशिष्ट बौद्ध धार्मिकस्थलहरूको भ्रमण विभिन्न सन्दर्भमा गरिसकेको छु। भगवान् बुद्धले पहिलोचोटि उपदेश दिएको ठाउँमा टेक्नुपर्ने चाहना थियो, यो चाहना २०७८ भदौमा पूरा भयो।
बनारस अर्थात् काशीको दोस्रो यात्रा थियो गत भदौमा। पहिलोचोटि झारखण्डको बाबाधाम पुगेर बिहार हुँदै बनारस पुगेका थियौं र अयोध्या, गोरखपुर हुँदै घर फर्केका थियौं। तर यसपटक भने बाबाधाम बन्द थियो र बनारस खुला। साउन वा भदौमा सम्भव भएसम्म बाबाधाम पुगिरहेका हामीलाई बाबाधामको विकल्प रोज्नुपर्ने अवस्था आएको थियो र बनारसको विश्वनाथ महादेवको दर्शन गरी कतै भ्रमण गर्नुपर्ने थियो।
पहिले गूगलको प्रयोग त्यति गर्दैनथ्यौं तर बिस्तारै हातमा मोबाइलको सङ्ख्या बढ्दै जानु तथा हरेक मोबाइलमा इन्टरनेटको सुविधा बढ्दै गएपछि स्थानहरूको खोजी स्वाभाविक हुन्छ। पहिले नै यतिको सुविधा, रुचि र ढङ्ग भएको भए शायद बनारसको छेवैमा र अझ बनारसमैं रहेको सारनाथ जहाँ भगवान् बुद्धले पहिलोचोटि ज्ञानको उपदेश दिएका थिए। यस स्थानको दर्शन, भ्रमण र अवलोकन गर्न छाड्ने थिएनौं।
बनारसमा करीब सात वर्षदेखि मुजफ्फरपुरका मित्र बस्छन्। उनी त्यहाँ अध्ययन गर्छन्। अभय कुमार नाम हो भन्नेसम्म थाहा छ तर भेट चाहिं कहिल्यै भएको छैन। बनारस बसाइँ उनीसँगै हुने वा सरल तरीकाले बनारसका प्रमुख स्थलहरूको अवलोकन भ्रमण हुनेमा ढुक्क छौं।
अभय कुमार स्नातकोत्तर अध्ययनरत छन्, काशी हिन्दू विश्वविद्यालयमा। काशी हिन्दू विश्वविद्यालयलाई नै बनारस हिन्दू विश्वविद्यालय र छोटकरीमा बिएचयू भनिन्छ। अभय कुमारसित चिनजान भएको सामाजिक सञ्जालमा हो। चिनजानको कारक भने भाषा र साहित्य हो। उनी पनि बज्जिका भाषा र साहित्यमा गहिरो रुचि लिने व्यक्ति हुन्। हामी घरबाट निस्कने निश्चित भएपछि नै उनीसित सम्पर्कमा छौं र उनी स्वागतका लागि तयार भएर बसेका छन्।
निर्धारित समयभन्दा हामी धेरै ढिलो हुन्छौं, कारण हुन्छ हामीले रोजेको बाटो। हुनत भीडभाडवाला बाटो रोजेपछि जाममा समय त जान्छ तर गाउँठाउँलाई भने हेर्न पाउँछौं। बनारसमा मध्याह्न बा–ह बजे पुग्नुपर्ने ठाउँमा हामी छ घण्टा ढिलो गरी पुग्दा पनि मित्र अभय कुमार हाम्रो प्रतीक्षामा हुन्छन् र सम्भव भएसम्मको स्वागत सत्कार गर्छन्।
अर्को दिन बनारसमा गङ्गास्नान, विश्वनाथ महादेव दर्शन, बनारसको किल्लावलोकन गर्दछौं र तेस्रो दिन सारनाथतर्फ लाग्दछौं।
भगवान् बुद्धका प्रमुख तीर्थस्थलहरू कुनै ठूलो शहरको नजीकै छन्। गया शहरको नजीकै बोधगया रहेको छ भने बनारससँगै सारनाथ। पहिले त बनारसभन्दा १५/२० किलोमिटर टाढा छ भन्ने सुनेको थिएँ तर शहरीकरण बढ्दै जाँदा शहरभन्दा धेरै टाढा लागेन। अब त बनारसकै एउटा भाग हो जस्तो लाग्यो सारनाथ क्षेत्र।
लुम्बिनी, बोधगया, कुशीनगर जस्ता ठाउँमा पुग्दा जुन शान्तिको अनुभूति हुन्छ, त्यही शान्तिको रङ्गीन प्रतिलिपिजस्तो आनन्दको शान्ति सारनाथमा पनि पाइन्छ। भगवान् बुद्धले उपदेश दिएको ठाउँमा सम्राट अशोक पनि पुगेका रहेछन्। उसो त सम्राट अशोक इतिहासका एक पात्र हुन् तर बुद्धसित जोडिएपछि उनी अमर बन्न पुगेका हुन्। वास्तवमा सम्राट अशोकलाई चिनाउने इतिहासको अध्ययन धेरै कमले गरेका छन् तर भगवान् बुद्धसित सम्बन्धित भएर काठमाडौं, लुम्बिनी, सारनाथ, वैशाली जस्ता ठाउँमा उनी पुगेका बेला जुन स्तम्भ निर्माण गर्न लगाए, जसले गर्दा उनी अमर बने। ती अशोक स्तम्भहरूले भगवान् बुद्धको तीर्थस्थललाई पनि सम्मानित गरिरहेका छन् र भगवान् बुद्धको तीर्थस्थलमा हुने अशोक स्तम्भहरूले सम्राट अशोकलाई पनि अमरत्व प्रदान गरिरहेका छन्। भारतीय इतिहासका सम्राटहरूमा अशोक पनि यस्ता पात्र हुन्, जसको कीर्तिको गाथा बौद्धतीर्थयात्रीहरू लाखौंले हरेक दिन गाइरहेका छन्। स्वाभाविक छ, बौद्धतीर्थस्थलहरूमा देश र विदेशबाट दैनिक लाखौं मानिस पुगिरहेका देखिन्छन् र हरेकले सम्राट अशोकको कार्यको बारेमा चर्चा गरिरहेका हुन्छन्। सारनाथमा सम्राट अशोकको कार्य झन् विशिष्ट छ। भगवान् बुद्धको जीवनसित सम्बन्धित स्थलहरूलाई परिचित गराउन सम्राट अशोकको भूमिका अतुलनीय छ र यही भूमिकाले गर्दा अशोक सम्मानित र पूजित पनि बन्न पुगेका छन्।
भगवान् बुद्धको तीर्थस्थलहरूमा हुने वा हुनुपर्ने आकर्षणहरू सारनाथमा पनि छन्। उही शैलीको शान्ति र उही शैलीका भवनहरू। बौद्ध तीर्थस्थलहरूमा एकापसमा शान्ति र शैलीको दृष्टिकोणले गाँसिएका छन्। झन्डै एकै ठाउँका प्रतिरूपहरू जस्ता पनि मलाई लाग्छ।
जहाँ भगवान् बुद्धले प्रथम प्रवचन दिएका थिए, पहिलो मौलिक शिक्षा दिएका थिए, त्यो ठाउँ सारनाथ हो। र सारनाथको जुन ठाउँमा भगवान् बुद्धले पहिलो औपचारिक उपदेश दिएका थिए, त्यस ठाउँलाई सुरक्षित पारिएको छ। हुनत त्यहाँ बुद्धको प्रतिमा छ र हामीले भन्ने गरेको ठूलो मन्दिर छ। अन्य दर्शनीय कुराहरू छन् तर जसरी भगवान् बुद्धले पाँचजनालाई प्रथम शिक्षा दिएका थिए, त्यसको प्रतिरूप पनि बनाइएको छ। यही दृश्य हेर्न पाउने मेरो इच्छा थियो। जुन ठाउँ जेका लागि प्रसिद्ध हुन्छ, त्यसको वर्तमान वा अवशेष हुनुपर्छ भन्ने मलाई लागिरहन्छ। भगवान् बुद्धको उपदेश दिंदाको अवस्था शारीरिक अवस्थाको कल्पना कसरी गरिएको होला र त्यस कल्पनालाई मूर्तिमा कसरी उतारिएको होला भन्ने मलाई लागेको थियो। यसैगरी, भगवान् बुद्धका प्रथम पाँच शिष्यको बसाइँको अवस्था कस्तो थियो होला ? त्यो कस्तो ठाउँ होला, जहाँ भगवान् बुद्धले प्रथम शिक्षाको लागि रोजे ? यस्ता जिज्ञासाहरूलाई सारनाथ भ्रमणले शान्त पारेको छ।
सारनाथमा यस्तो अनुभूति हुन्छ कि यहाँको वातावरणमा साँच्चै अद्यपर्यन्त बुद्धले शिक्षा प्रदान गरिरहेका छन्। बुद्धवाणी कानमा गुञ्जेको अलौकिक अनुभूति हुनु सुखद आश्चर्य हो यहाँको। अतिरमणीय यस ठाउँमा पुग्न पाउनु आफैंमा एउटा उपलब्धि अनुभव हुन्छ हृदयमा।
हरेक वर्ष डुल्न कतै निस्किन्छौं क्याम्पसका साथीहरू मिलेर। यो भ्रमण हाम्रो निजी हुन्छ। मध्यरौतहट बहुमुखी क्याम्पसका साथीहरू यसरी निजी भ्रमणमा निस्कँदा भारतको बिहार, झारखण्ड, पश्चिम बङ्गाल, उडिसा, उत्तर प्रदेश आदि प्रान्तका प्रायः प्रमुख स्थलहरूमा पुगिसकेका छौं।