प्रस, परवानीपुर, २४ माघ/
भारत सरकारले प्रशोधित तेल निर्यातमा अङ्कुश लगाउँदा नेपाली तेल उद्योगीहरूलाई पछिल्लो छ महीनामा अर्बौं रुपैयाँ घाटा भएको छ । भारत सरकारले विभिन्न चरणमा सोयाबिन, पाम र सनफ्लावर तेलको निर्यात महसूल ५५ प्रतिशतबाट घटाएर साढे सात प्रतिशतमा झारेपछि अहिले नेपालबाट हुने निर्यात शून्यमा झरेको छ भने भारतीय व्यवसायीलाई विदेशबाट कच्चा पदार्थ आयात गर्ने ढोका खुलेको छ ।
नेपालबाट भारत निर्यात हुने प्रशोधित तेलभन्दा भारतमैं उत्पादित प्रशोधित तेलको मूल्य सस्तो हुने भएकोले भारतीय विक्रेताहरूले नेपालको तेल खरीद गर्न छाडेका हुन् । जसले गर्दा नेपालबाट निर्यात हुने प्रशोधित तेलको परिमाण दिनानुदिन घट्दै गएको र कच्चा पदार्थ आयात गरी प्रशोधन गरिएको तेल घाटा बेहोरेर बिक्री गर्नुपरेको व्यवसायीहरूले बताएका छन् ।
वीरगंजको रूँगटा समूहको तेल र पिना उत्पादन गर्ने उद्योग ओसिपी फूड्स एन्ड फिड्स प्रालि, चैनपुरका सञ्चालक नारायण रूँगटाले गत अक्टुबरदेखि हालसम्म नेपाली उद्योगीहरूलाई किलोमा १५ देखि ३० रुपैयाँ घाटा बेहोर्नुपर्दा ६० हजार टनभन्दा बढी कच्चा तेल प्रशोधन गरेर बिक्री गर्दा अर्बौं रुपैयाँ घाटा बेहोरेर कारोबार गर्नुपरेको बताए । पहिले दिनकै चौधवटा गाडीभन्दा बढी प्रशोधित तेल उनको उद्योगबाट भारत निर्यात हुन्थ्यो भने अहिले तीन–चार गाडी तेल जाने गरेको छ । एउटा गाडीमा १७–२५ टन तेल भारत जान्छ ।
पहिले भारु ११५ प्रतिकिलोको दरमा भारत तेल निर्यात हुन्थ्यो भने अहिले भारु १०० को दरमा पुरानो अर्डर अनुसार तेल निर्यात भइरहेको उनले जानकारी दिए । गत अक्टुबर १४ मा भारतीय विदेश व्यापार निर्देशनालयले जारी गरेको सूचना अनुसार २०२१ डिसेम्बर ३१ सम्म मात्र नेपालबाट प्रशोधित तेल निर्यात हुने विज्ञप्ति जारी गरेपछि नेपाली व्यवसायीहरूले कोलकाता र विशाखापट्टनमलगायत बन्दरगाहबाट धमाधम कच्चा तेल ल्याइ प्रशोधन गरी हतारमा भारत निकासी गर्न बाध्य भएका थिए । तर फेरि भारत सरकारले नेपालबाट भारत निर्यात हुने प्रशोधित तेलको समयावधि २०२२ डिसेम्बर ३१ सम्म लम्ब्याउँदा अहिले नेपाली व्यवसायीहरू पछुतो मानिरहेका छन् ।
नेपालबाट भारत प्रशोधित तेल निकासी गरेर मालामाल हुन थालेपछि नेपाली तेल उद्योगीहरूले उद्योगको क्षमता विस्तार गर्दै लगानी थपेका थिए भने केही नयाँ उद्योगहरू पनि स्थापना भएका थिए । वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा करीब ते¥हवटा तेल उद्योग सञ्चालनमा छन् भने विराटनगर, भैरहवालगायत देशभरि साना–ठूला करीब तीसवटा उद्योग सञ्चालनमा छन् । नेपाली तेल उद्योगमा करीब १० अर्ब रुपैयाँभन्दा बढी लगानी छ ।