प्रस, निजगढ, २० माघ/
स्वदेशी माछाको स्वादमा माछा पारखी रमाउन थालेपछि विदेशी माछाको आयातमा कमी आएको छ । जसका कारण केही वर्षयतादेखि स्वदेशी माछा उत्पादनले विदेशबाट आयात हुने माछालाई प्रतिस्थापन गर्दै आएको छ । विगतमा भारत, बङ्गलादेश, थाइल्यान्ड, चीन, जापानलगायतका देशबाट हुने माछाको आयातलाई निरुत्साहित गर्दै नेपाली माछाले बजारमा एकाधिकार जमाइरहेको छ ।
विदेशी माछाको आयात करीब ८५ प्रतिशत घटेको जिउँदो माछा व्यवसायी सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष जङ्गबहादुर साहको दाबी छ । स्वदेशी माछाको बजार वार्षिक करीब साढे १२ अर्ब रुपैयाँको भएको र यसमा बारामा उत्पादन हुने माछाको भूमिका अग्रस्थानमा रहेको छ । बारामा छ हजार ८०० को हाराहारीमा साना/ठूला माछा पोखरी छन् । बारा जिल्लामा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा पोखरी रहेको र वार्षिक ३१ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको केन्द्रीय अध्यक्ष साहले बताए ।
बाराबाट देशका अन्य भागमा करीब तीन अर्ब रुपैयाँभन्दा बढीको माछा बिक्री हुने गरेको अध्यक्ष साहको भनाइ छ । पछिल्लोपटक शहरमा मात्र होइन, ग्रामीण बस्तीहरूमा समेत होटल व्यवसाय फस्टाएको छ । जहाँ माछाका विभिन्न परिकार विशेषगरी हुने गरेको छ ।
बारामा व्यावसायिकरूपमा माछापालन गर्दै आइरहेका कृषकहरूको सङ्ख्या चार हजार ७०० रहेको अध्यक्ष साहले जानकारी दिए । बाराबाट २०६९ सालमा शुरू भएको जिउँदो माछाको बिक्रीले नै विदेशी माछालाई स्वदेशी माछाले पलायन गरेको बताउँदै यसलाई निरन्तरता दिन सङ्घ लागिपरेको र यस कार्यमा सरकारले समेत सहयोग गर्नुपर्ने अध्यक्ष साहको भनाइ छ ।
सङ्घीय राजधानी काठमाडौंमा प्रत्येक दिन ६५–७५ क्वीन्टल, पोखरामा १०–१५ क्वीन्टल जिउँदो माछा बिक्री हुँदै आएको छ । काठमाडौंका ५८५ स्थानमा र पोखराका १८ स्थानमा जिउँदो माछा बिक्री पसल सञ्चालनमा आइरहेको उनले जानकारी दिए ।
“जिउँदो माछाको बिक्री शुरू भएपछि नै स्वदेशी ग्राहकहरूले ताजा माछा रुचि अनुसार विभिन्न परिकार बनाइ खाने गरेका छन् । अधिकांश ग्राहकको रोजाइमा जिउँदो माछा पर्ने गरेकाले यसको आकर्षण दिन प्रतिदिन बढ्दो छ,” उनले भने ।
देशभरमा ८० हजारदेखि ८५ हजार मेट्रिक टन माछा खपत भइरहेको छ । किसानले जिउँदो माछा पोखरीबाट प्रतिकिलो होलसेल मूल्यमा रहु, ग्रास, कमन ३५० देखि ३८० रुपैयाँ, बिग्रेड, नैनी २६०, सानो नैनी १८० देखि १९० रुपैयाँ, सिल्भर २३० देखि २५० रुपैयाँमा बिक्री गर्छन् । व्यापारीहरूले काठमाडौंमा रहु प्रतिकिलो ५०० रुपैयाँमा बिक्री गर्छन् ।
गत चैत, वैशाखमा पोखरीमा माछाको भुरा राख्नुपर्ने समय भएपनि लकडाउनका कारण राख्न नसकिएको अधिकांश माछा कृषकको गुनासो छ । फेरि लकडाउन हुने हो भने माछा व्यवसायमा धेरै असर पर्ने भन्दै उनीहरू चिन्तित छन् ।
माछालाई चाहिने आहारा दाना, भिटामिनलगायतका वस्तु नपाउँदा समस्या थपिएर भाडामा पोखरी लिएर माछापालन गर्दै आएका कृषकहरूलाई झनै ठूलो आर्थिक समस्या परेको कोल्हवी नपा बोधवनका रामप्रसाद चिमरियाले बताए । माछापालनलाई व्यावसायिकरूपमा अघि बढाउने कृषकहरूले सबै खर्च कटाएर प्रतिबिघा प्रतिवर्ष पाँच लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । प्रतिबिघा अढाई/तीन लाख लागत लाग्ने गरे पनि व्यावसायिकरूपमा लाग्ने हो भने राम्रो आम्दानी गर्न सकिने माछा कृषकहरू बताउँछन् ।
माछापालक कृषकलाई स्थानीय तहले अझै सुविधा उपलब्ध गराए यसतर्फ स्थानीयहरूको आकर्षण बढ्ने पुराना माछा कृषक चिमरिया बताउँछन् ।
जिउँदो माछा नपुगेको दुर्गम क्षेत्रमा फ्रोजन माछालाई तराईबाट लैजाने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आइरहेको अध्यक्ष साहले बताए । लकडाउनअघि नेपाली माछा भारतमा निर्यात गर्दै आइरहेकोमा लकडाउनपछि रोकिएकोमा अहिले पुनः शुरू भएको अध्यक्ष साहले
भने ।
मुलुकका विभिन्न शहरमा सुविधासम्पन्न माछा बिक्री बजार स्थापना र स्थानीय बजारहरूमा पूर्ण सरसफाइका साथ सुपथ मूल्यमा माछा बिक्री केन्द्र सञ्चालन गर्न सकेमा स्वदेशमा माछा बजार अझै विस्तार हुने माछा कृषकहरूको भनाइ छ ।