- यमुना प्रधानाङ्ग ‘मुना’
पर्सा जिल्लाको वीरगंज, श्रीपुर निवासी कवि अरुण विक्रम शाह मिलनसार र साहित्यिक गतिविधि प्रभात काव्ययात्राका सारथि हुनुहुन्थ्यो । उहाँले अन्तिम घडीसम्म प्रभात काव्ययात्रालाई डो¥याउँदै हिंड्नुभएको थियो । प्रत्येक महीनाको अन्तिम शनिवार प्रभात काव्ययात्रा वीरगंजस्थित विभिन्न चोकचौराहा, विद्यालय, माईस्थान पार्क, श्रीपुर चोक, श्रीपुरस्थित देवकोटा अध्ययन मण्डल, सम्झना होटल, मस्जिद आदि स्थानहरूमा उहाँको नेतृत्वमा हुँदै आइरहेको थियो । उहाँले सदरमुकाममा मात्र कार्यक्रम सीमित राख्नुभएन ।
जिल्लाका विभिन्न ठाउँ र जिल्लाबाहिर पनि प्रभात काव्ययात्रा सञ्चालन गर्नुभएर वीरगंजको साहित्यको परिचय दिनुभएको थियो । प्रभात काव्ययात्राको वार्षिकोत्सव भने प्रायःजसो वीरगंजस्थित प्रतीक दैनिकको प्राङ्गणमा हुँदै आइरहेको छ । सो कार्यक्रममा संस्थापक महानुभावहरूलगायत स्थानीय तथा जिल्लाबाहिरका साहित्यकारहरूको बाक्लै सहभागिता हुन्छ । सो कार्यक्रम त्यहाँ हुनुको मुख्य कारण प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा प्रभात काव्ययात्राका संस्थापक हुनुभएकोले र प्रभात काव्ययात्राको शुभारम्भ विसं २०५३ सालमा प्रतीक दैनिक कार्यालयबाट भएकोले भन्ने लाग्छ ।
हामी दुर्ई म र मेरा पति कवि अच्युत प्रधानाङ्गले कवि अरुण विक्रम शाहसँग विभिन्न कार्यक्रममा बिताएका पलहरू मानसपटलमा अझै ताजै छन् । वीरगंज, श्रीपुरस्थित देवकोटा अध्ययन मण्डल जीर्ण अवस्थामा रहेकोले पुनर्निर्माणको लागि कवि शाहले आवाज उठाउँदै आइरहनुभएको थियो । हाल देवकोटा अध्ययन मण्डल निर्माणाधीन अवस्थामा रहेको देख्दा खुशी लाग्छ ।
उहाँले भोजपुरी भाषाको उत्थानका लागि भोजपुरी भाषामा कविता सङ्ग्रह ‘राह के फूल’ (२०६२) र ‘राह के पतङ्ग’ (२०७३) दुईवटा कृति प्रकाशित गर्नुभएको थियो । उहाँले नेपाली भाषामा लेख्नुभएको कविता, गजल, लेख आदि स्थानीय पत्रपत्रिकामा पनि प्रकाशित भएका छन् । उहाँको नेपाली भाषामा लेखिएका कविता, गीत, गजल पुस्तकको रूपमा तयार भए तापनि बाहिर आउन नसक्नु कारण आर्थिक अभाव नै हो जस्तो लाग्छ । उहाँको पुस्तक निकाल्ने सपना अधूरै रह्यो । समाजका विसङ्गतिमाथि आफ्नो रचनामार्फत आवाज उठाउँदै आउनुभएको उहाँको स्थानीयस्तरमा कदर भएको जस्तो लागेन ।
उहाँ सदैव नयाँ–नयाँ साहित्यिक प्रतिभाको खोजीमा रहनुहुन्थ्यो भने कार्यक्रममा नयाँ–नयाँ प्रतिभालाई सहभागी गराइ वीरगंजमा साहित्यको विकासमा लागिपर्नुभएको थियो । म आफ्नो व्यक्तिगत कारणले केही वर्षदेखि वीरगंज र वीरगंजेली साहित्यिक फाँटबाट अलि ओझेलमा परे तापनि उहाँसँग साहित्यसम्बन्धी भलाकुसारी फोनमा भइरहन्थ्यो भने उहाँले मृत्युवरण गर्नुभएको केही दिनअगाडि मात्र फोनमा साहित्यसम्बन्धी निकै लामो कुराकानी भएको थियो ।
बुबा गोपाल विक्रम शाह र माता झम्केश्वरी शाहका ज्येष्ठ पुत्रको रूपमा २००८ सालमा वीरगंजमा जन्मिनुभएका अरुण विक्रम शाहलाई रैथाने मित्रहरूले ‘राजा साप’ भनी बोलाउने गरे तापनि उहाँको जीवन सामान्य नागरिक सरह नै बित्यो । उहाँले २०७८ वैशाख २६ गते आइतवारका दिन ७० वर्षको उमेरमा यस धर्तीबाट बिदा लिनुभयो । वीरगंजेली साहित्यिक फाँटमा उहाँको उपस्थिति सधैं खट्किरहनेछ ।
विश्व नै कोरोना महामारीको चपेटामा परेर थलिएको अवस्थामा हामी पनि कष्टकर जीवनबाट गुज्रिरहेका थियौं । समय र परिस्थितिलाई पनि ख्याल राख्नुपर्ने भएको हुँदा चाहेर पनि शुभचिन्तकहरू उहाँको अन्त्येष्टिमा सहभागी हुन नपाउनु दुःखद पक्ष रह्यो ।
उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै वीरगंजेली साहित्यिक फाँट, म र मेरो परिवारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । वीरगंज, पर्सा