- उमाशङ्कर द्विवेदी
यत्तिकैमा उनले महाबली वृन्दारक, अभय, रौद्रकर्मा र दुर्विमोचनलाई पनि मारिदिए । अनि तपाईंका पुत्रहरूले उनलाई चारैतिरबाट घेरामा हाले । भीमसेनले हाँस्दाहाँस्दै तपाईंका पुत्र विन्द, अनुविन्द र सुवर्मालाई पनि यमलोक पठाइदिए । अनि उनले तपाईंका शूरवीर पुत्र सुदर्शनलाई घाइते पारिदिए । यस प्रकार भीमसेनले चारैतिर ताकिताकी अलिक बेरमैं आफ्नो तीक्ष्ण बाणहरूबाट त्यस रथसेनालाई नष्ट पारिदिए ।
अनि त सिंहको गर्जना सुनेर मृगहरू भागेझैं उनको रथको आवाज सुनेर तपाईंका पुत्रहरू चारैतिर भाग्न थाले । भीमसेनले तपाईंका भाग्दै गरेका सेनालाई पनि पछ्याए र उनले सबैतिर कौरवहरूको संहार गर्न थाले । यस प्रकार कौरवसेना अत्यन्त व्यथित भई भीमसेनलाई छाडेर आफ्ना घोडाहरूलाई दौडाउँदै रणभूमिबाट भागिहाले । महाबली भीमसेन ती सबैलाई परास्त गरेर बडो जोडले गर्जना गरे ।
अब उनी रथसेनालाई नाघेर अगि बढे । यो हेरेर उनलाई रोक्नको लागि द्रोणाचार्यले भीषण बाण वर्षा गर्न थाले तथा तपाईंका पुत्रहरूको प्रेरणाले कैंयन धनुर्धरहरूले उनलाई चारैतिरबाट घेरामा हाले । अनि भीमसेनले सिंहको समान गर्जना गर्दै एउटा भयङ्कर गदा उचालेर उनीहरूतिर
हाने । त्यस गदाले तपाईंका कैंयन सैनिकलाई यमलोक पठाइदियो । भीमसेनले गदाबाट नै अन्य सैनिकहरूमाथि प्रहार गरे । यसबाट भयभीत भई तपाईंका सेना यस प्रकारले भाग्न थाले, जुन प्रकारले सिंहको गन्ध पाएर मृगहरू भाग्न थाल्छन् ।
भीमसेनले यस प्रकार कौरवसेनाको संहार गर्न थालेपछि द्रोणाचार्य उनको सामु आए । उनले आफ्नो बाणको प्रहारबाट भीमसेनलाई अगि बढ्नबाट रोकिदिए । अब यी दुवैजनाबीच घोर युद्ध हुन थाल्यो । भीमसेन आफ्नो रथबाट हाम्फालेर द्रोणको बाणलाई सहन गर्दै उनको रथको छेउमा पुगी रथको मोहडा समातेर त्यस रथलाई टाढा फालिदिए । द्रोण अर्को रथमाथि चढेर फेरि व्यूहद्वारमा आइपुगे । आफ्नो निरुत्साहित गुरुलाई यस प्रकार फेरि आफ्नो सामु आएको हेरेर भीमसेनले फेरि बडो वेगले त्यस रथलाइ पनि उचालेर झन् टाढा फालिदिए । यस प्रकार भीमसेनले अनायास नै द्रोणचार्यका आठवटा रथलाई उचालेर फाली नष्ट पारिदिए । तपाईंका सेनाहरू यो रमिता बडो विस्मयपूर्वक नेत्रले हेरिरहे ।
हुरीले जसरी वृक्षहरूलाई नष्ट पारिदिन्छ, त्यसै प्रकारले संग्राममा क्षत्रियहरूलाई नष्ट पार्दै भीमसेन अगि बढे । अलिक पर गएपछि उनलाई कृतवर्माबाट सुरक्षित भोजसेना फेला प¥यो, तर उनले त्यसलाई पनि थरीथरी विधिबाट नष्ट गर्दै अगि बढे । फेरि कम्बोज सेना तथा अनेकौं र युद्धकुशल म्लेच्छहरूलाई नाघेपछि उनले युद्ध गरिरहेका सात्यकिलाई देखे । अनि त उनी अर्जुनलाई हेर्ने इच्छाले आफ्नो रथद्वारा बडो सावधानीका साथ तीव्र गतिले अगि बढे । तपाईंका अनेकौं योद्धाहरूलाई नाघेर उनी अलिक अगि गएपछि जयद्रथको वध गर्ने उद्देश्यले युद्ध गरिरहेका अर्जुनलाई देखे । यो हेरेर उनी वर्षाकालीन मेघझैं बडो जोडले गर्जना गर्न थाले ।
भीमसेनको त्यो भीमनाद श्रीकृष्ण र अर्जुनको कानमा पनि प¥यो । अनि उनीहरू उनलाई हेर्नको लागि गर्जना गर्दै उनी छेउ आइपुगे । यता भीमसेन र अर्जुनको सिंहनाद सुनेर युधिष्ठिरलाइ बडो प्रसन्नता भयो । उनको सम्पूर्ण शोक हरायो तथा उनलाई अर्जुनको विजयको पनि पूर्ण आशा भइहाल्यो । भीमसेनले सिंहनाद गरेपछि युधिष्ठिरले मुस्काउँदै मनमनैमा भने– भाइ भीमसेन, तिमीले क्या सूचना दियौ, तिमीले दाजुले भनेको कुरा पु¥याइदियौ ।
भाइ तिमीले जोसित द्वेष गर्दछौ, संग्राममा उसको जीत हुनै सक्दैन । यो मेरो सौभाग्य हो कि मलाई श्रीकृष्ण र अर्जुनको पनि सिंहनाद सुनिंदैछ । अहो, जसले इन्द्रलाई जितेर खाण्डव वनमा अग्निलाई तृप्त पारेका थिए, एउटै धनुषबाट निवातकवचहरूलाई जितेका थिए, विराटनगरमा
गोहरणको लागि मिलेर आएका सबै कौरवसेनालाई परास्त गरे र दुर्योधनलाई मुक्त पार्नको लागि गन्धर्वराज चित्ररथलाई होच्याएका थिए तथा श्रीकृष्ण जसको सारथि छन् र जो मलाई सदैवको लागि नै प्रिय छ ती अर्जुन अझै पनि जीवित छन् ।
यो कस्तो आनन्दको कुरा छ । के श्रीकृष्णको रक्षामा सूर्यास्तभन्दा पहिले नै आफ्नो प्रतिज्ञा पूर्ण गरेका अर्जुनलाई म फेरि भेट गर्न पाउनेछु ? अर्जुनको हातबाट जयद्रथको तथा भीमको हातबाट आफ्ना भाइहरू मरेको हेरेर के मन्दबुद्धि दुर्योधन बाँचेका वीरहरूको रक्षा गर्नको लागि हामीसित वैर त्यागेर सन्धि गर्न चाहनेछ ? यस प्रकार एकातिर महाराज युधिष्ठिर करुणाद्र भएर नानाथरीका अड्कल काढ्दै थिए र अर्कोतिर तुमुल संग्राम भइरहेको थियो । क्रमशः …