राधेश्याम पटेल, वीरगंज, ८ माघ/
विशेष आर्थिक क्षेत्र (स्पेशल इकोनोमिक जोन–सेज) सिमरामा लगानीकर्ता तान्न सरकारले जग्गाको भाडा दर घटाउने भएको छ । तीन वर्ष अघि रु २० प्रतिवर्गमिटरमा टेन्डर आह्वान गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले अब करीब रु १० प्रतिवर्ग मिटरमैं जग्गा उपलब्ध गराउने तयारी गरेको छ ।
उद्योग मन्त्रालय मातहत रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका महानिर्देशक डा. चण्डिकाप्रसाद भट्टले जिम्मेदारी सम्हालेपछि सिमरा सेजमा उद्योगी–व्यवसायी तान्न कसरत शुरू गरेका हुन् । यस अघिका महानिर्देशकहरूले लगानीमैत्री नीति नल्याएपछि उद्योगी व्यवसायीहरू सेजको जग्गा भाडा लिएर उद्योग लगाउन अग्रसर नभएको बताइएको छ ।
हालका महानिर्देशक भट्टले एक साताभित्रै करीब रु १० मा प्रतिवर्गमिटर जग्गा भाडा दिनेगरी मन्त्रालयमा छलफल भइरहेको र फाइल स्वीकृत भइसकेपछि सूचना प्रकाशित गर्ने तयारी रहेको बताए । उनले सबैभन्दा मुख्य कुरा, सेजमा उद्योग लगाउने उद्योगीले ६० प्रतिशत उत्पादन विदेश निर्यात र ४० प्रतिशत स्वदेशमा खपत गर्नुपर्ने बाध्यात्मक सरकारी नीति पनि संशोधन गर्न लागिएको जानकारी गराएका छन् ।
“एक त जग्गा भाडा महँगो भयो भन्ने उद्योगीहरूको भनाइ थियो, अर्को जसरी पनि ६० प्रतिशत उत्पादित सामान विदेश निर्यात गर्नुपर्ने अवस्था थियो, त्यसले धेरै व्यवसायी हच्केका थिए”–उनले भने–“अहिले कुनै उद्योगले ६० प्रतिशत सामान विदेश निर्यात गर्न सकेन भने केही जरिवाना तिरेर उद्योग–व्यवसाय गर्न पाउने नियम संशोधन गर्न लागिएको छ । यसले लगानीकर्ताहरूलाई सिमरा सेजमा ल्याउन मदत मिल्नेछ ।”
उनले यस्तो अवस्था भयो भने ७० हजार मासिक भाडामैं लगानीकर्ताले सिमरा सेजमा डेढ बिघा जग्गामा उद्योग लगाउन सक्ने उनको विश्लेषण छ ।
तत्कालीन वीरगंज चिनी कारखानाको सरकारी स्वामित्वको जितपुरसिमरा वडा नं ४, १४ र १५ मा रहेको ८३३ बिघा क्षेत्रफलमा २०७३ सालमा विशेष आर्थिक क्षेत्र प्राधिकरण गठन गरी सिमरा सेजको काम अघि बढेको थियो । त्यसबेला प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेजको अवधारणाबाट देशमा उद्योग स्थापना गरी निर्यात बढाएर व्यापार घाटा कम गर्ने र स्वदेशमैं रोजगार सृजना गर्न सकिने अपेक्षा राखेका थिए । तर सरकारी नीतिकै कारण उद्योगी व्यवसायी उद्योग लगाउन चासो देखाएका थिएनन् ।
करीब अढाई अर्ब खर्च गरी भौतिक पूर्वाधार विकास गरिएको सिमरा सेजमा ए, बी, सी, डी र इ गरी पाँचवटा ब्लक बनाइएको छ । जसमा ए ब्लक ३४३ बिघामा, बी १२८ बिघा, सी साढे ४९ बिघा, डी १७८.५ बिघा र इ १३३ बिघामा फैलिएको छ । हाल ए ब्लकको १६० बिघा जग्गा उद्योग लगाउन तयारी अवस्थामा छ । डेढ बिघाको ६८ वटा प्लट तयारी अवस्थामा रहेको सिमरा सेजका सहायक इन्जिनीयर आनन्द भट्टले बताए ।
६३४५ वर्गमिटरदेखि १२२८१ वर्गमिटरसम्मको प्लट छ । उनले अहिले बीदेखि इ ब्लकसम्म पर्खाल लगाउने काम भइरहेको छ भने ए ब्लकमा मात्र उद्योग लगाउन भौतिक पूर्वाधार निर्माण कार्य पूरा भएको बताए । उनले एक ब्लकमा प्रशासनिक भवन, बैंक, इन्स्योरेन्स, आवश्यकता अनुसारको चार लेन र दुई लेनका सडकहरू, सडक, नाला, वाटर ट्रिटमेन्ट प्लान्ट, डेकेयर कक्ष, पोस्ट, पोलिक्लिनिक, भन्सार कक्ष, खानेपानी, शौचालयलगायतको सुविधा थप्ने काम सम्पन्न भइसकेको उनले बताए ।केही ठाउFमा विजुली बत्तीको काम धमाधम भइरहेको पनि बताए । ए ब्लकलाई अहिले सिमरा गार्मेन्ट प्रशोधन क्षेत्र (जिपिजेड अर्थात् गार्मेन्ट प्रोसेसिङ जोन) को लागि घोषणा गरिएको छ ।
नेपालको सातवटै प्रदेशमा सेज निर्माण गर्ने सरकारको लक्ष्य रहे पनि हाल भैरहवा, सिमरा र काभ्रेको पाचखालमा सेज सञ्चालनमा आइसकेको छ भने अन्य ठाउँमा सर्भे, डिपिआर तथा जग्गा खोज्ने कामले योजना अड्केको छ ।