• सञ्जय साह मित्र

अब मधेस शब्दले पहिचान पाएको छ । पहिले अमूर्त भूगोल थियो । अमूर्त भूगोलको नाम तराई थियो । तराईलाई यहाँका बासिन्दाले मधेस भन्ने गर्दथे । मधेस शब्दको औचित्य तराईको अर्थमा त्यतिबेला मात्र थियो, जति बेला यहाँका बासिन्दलाई तराइली नभनेर मधेसी भनी सम्बोधन हुन्थ्यो ।

मधेस कसरी रहन गएको होला ? यसको राजनीतिक जवाफ त लोकतान्त्रिक विधिबाट निर्वाचित जनप्रतिनिधिहरूले प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले पारित भएपछि हुन गएको हो भन्ने हुन सक्छ, तर यसभन्दा निकै पहिलेदेखि मधेस र मधेसी शब्द प्रचलनमा थियो । मधेसको बासिन्दा मधेसी हुने तर्क त घामजस्तै छर्लङ्ग छ । बरु मधेस शब्दले सबैभन्दा बढी उच्चारण पाएको मधेस आन्दोलनको समयमा हो ।

मधेस आन्दोलन हुनुभन्दा पहिले पनि बौद्धिक क्षेत्रमा मधेस शब्द प्रचलनमा आइसकेको थियो । केही दस्तावेजहरूमा पनि मधेस शब्द नपाइने होइन, तर बढी मात्रामा तराई शब्द प्रचलनमा थियो । तराई भन्नासाथ नेपालको भौगोलिक धरातलीय स्वरूप अनुसार तीन मुख्य भूमि सतहमध्ये एक किसिमको भूगोल भएको भूमि हो । पहिलोमा हिमाल, दोस्रोमा पहाड र तेस्रोमा समथर भूभाग । समथर भूभागलाई तराई मानिन्थ्यो, अहिले पनि मानिन्छ । नेपालमा ७५ जिल्ला हुँदा २२ जिल्लाको क्षेत्रलाई तराई भनिन्थ्यो ।

अब ७७ जिल्लाको देश भएपछि यसमा पनि एक जिल्ला थपिएको हुनुपर्छ । मेचीदेखि महाकालीसम्मको दक्षिणी भूभाग जसको सिमाना भारतसित जोडिएको छ, तिनै जिल्लाहरू तराई कहलाउँथे । उस्तै भूमि भएका तर भारतसित सिमाना नजोडिएका केही जिल्लालाई भने भित्री तराई भनिन्थ्यो अथवा चुरे पहाडभन्दा उत्तर, तर समथर जमीन भएको जिल्लालाई भित्री मधेस भनिन्थ्यो । ती जिल्लालाई भित्री तराईभन्दा पनि भित्री मधेस भनिन्थ्यो । सुर्खेत, मकवानपुर, नवलपरासी, चितवन, सिन्धुली र दाड्ढो गणना भित्री मधेसमा गरिन्थ्यो ।

ती जिल्लालाई भित्री तराईभन्दा बढी भित्री मधेस भनिनुले तराई भनेर जुन जिल्लालाई भनिन्थ्यो वा तराई प्रदेश अन्तर्गत जुन जिल्लाहरू रहेका थिए, ती जिल्लालाई मधेस पनि भनिएको हो भन्ने स्पष्ट हुन आउँछ । तराई र मधेस शब्दको प्रचलनभन्दा यी दुई शब्दको व्युत्पत्ति कसरी भएको होला ?

कतिपयको विचारमा तराई शब्दको प्रचलन त्राहि भन्ने शब्दको अपभ्रंश हो । नेपाली बोलीमा अन्तिमतिर आउने ह अक्षरको उच्चारण खासै नहुने हुँदा त्राहिको उच्चारण त्राई हुँदै तराई हुन गएको हो । पहिले यो क्षेत्रमा मच्छर र सर्पको डर धेरै हुने तथा घामले पनि बस्न नसकिने हुनाले कतिपय अपराधीलाई डाँडा कटाएर यस क्षेत्रमा पठाइन्थ्यो । यो क्षेत्र औलो र सर्पको कारणले त्राहि कहलाउँथ्यो ।

अनुकरण पनि हुन सक्छ । उदाहरणको लागि भारतको दार्जिलिङ जिल्लाको दक्षिणी भाग जुन समथर छ, त्यसलाई पनि तराई भन्ने गरेको पाइन्छ । अन्यत्र पनि यस प्रकारको चलन छ कि?

तराईलाई पहिले तरी पनि भनिन्थ्यो । पहाड वा उच्च ठाउँबाट वर्षाको पानी झरेर एकत्रित भई जम्ने समतल भाग नै तरी हो । नेपाली शब्दकोशहरूले तरी शब्दको अर्थ औल, भित्री मधेस र तराईको जङ्गल, पाटा परेको भाग आदि भनेर लेख्ने गरेकोबाट पनि धेरै हदसम्म यही सङ्केत प्राप्त हुन्छ । यस अर्थमा नेपालको सन्दर्भमा पहाडको पानी झरेर जम्ने ठाउँ वा समथर भूभाग वा औलोको डर हुने क्षेत्र तरीबाट तराई हुन गएको हो । तरियानीबाट पनि तराई शब्दको उत्पत्ति भएको हुन सक्छ । तरियानी शब्दको अर्थ तराईको उर्वर भूभाग भन्ने पनि उल्लेख पाइन्छ ।

त्राहि, तरी वा तरियानी वा अन्य शब्दबाट तराई बनेको हुन सक्छ । अब मधेस शब्दको स्रोत के होला ? कतिपयले त मगधबाट मधेस शब्द अपभ्रंश भएको भनेका छन् । मगध त गङ्गा नदीभन्दा दक्षिणको क्षेत्र हो जसको राजधानी राजगृह हालको पटना (पाटलीपुत्र)भन्दा करीब डेढ सय किलोमिटर टाढा पर्दछ । मगध र वैशाली दुवै शक्तिशाली र समुन्नत अलग–अलग राज्य थिए जसको बीचमा गङ्गा नदी थियो । भगवान् गौतम बुद्धले महापरिनिर्वाण गरेको तीन वर्षपछि मगध सम्राट् अजातशत्रुले आफ्नो मावली राज्य वैशालीमाथि आक्रमण गरी आधिपत्य जमाएर पेशावरतर्फ गएका थिए, भगवान् बुद्धका एक शिष्यलाई साथै लिएर । यसले मगधबाट मधेस रहन गएको भन्ने तर्कमा कुनै सत्यता देखिंदैन ।

मध्यदेशबाट मधेस रहन गएको पनि हुन सक्छ भन्ने तर्क छ । र कतिपयको सतही दृष्टिकोणमा मध्यदेशको अर्थ भारतको मध्यप्रदेश हो । इतिहासले मध्यदेश भनेर प्रयागराज अर्थात् इलाहाबादभन्दा पश्चिमको क्षेत्र बुझिन्छ । यो भारतको सन्दर्भमा हो र नेपालको इतिहासको सन्दर्भ आउँदा भारतको इतिहासको सन्दर्भसित जोडिन पुग्दा त्यति अनौठो नहुन सक्छ । कालान्तरमा भारत स्वतन्त्र भएपछि पञ्जाब, दिल्ली, राजस्थान, उत्तरप्रदेश, बिहार, बङ्गाल आदिलाई मध्यदेश मानिएको पाइन्छ । यहाँ उत्तरप्रदेश र बिहार मध्यदेशमा पर्न पुगेको सन्दर्भ नेपालको तराई वा मधेसको हकमा विचारणीय हुन पुग्छ । तर भारतको स्वतन्त्रता सङ्ग्रामभन्दा धेरै पहिले नेपालको वर्तमान राजनैतिक भूगोलको निर्धारण भइसकेको र नेपालले आफ्नो देशको जमीनको धरातलको हिसाबले हिमाल, पहाड तथा तराई गरी तीन प्रदेशको अवधारणा ल्याइसकेको देखिन्छ भौगोलिक विभाजन अनुसार ।

पहिले नेपाल उपत्यका वा पहाडका मानिस भारततिर जाँदा वा तराईतिर झर्दा देश गएको भनिन्थ्यो । अझै उपत्यकाबाट पहाडतिर जाँदा पहाड गएको र देशभित्रै चुरेभन्दा दक्षिणको भूभागमा गएकोलाई देश वा देहात गएको भनिन्थ्यो । यस क्षेत्रको लागि कथ्यमा देश वा देहात पनि प्रचलनमा रहेको पाइन्छ । यसरी प्रयोग र प्रचलनमा रहँदा कालान्तरमा उच्च बौद्धिक क्षेत्रका बुद्धिजीवीहरूले देश भनेर सम्पूर्ण नेपाल बुझिने भन्ने कुरा बुझ्दै गएर तराईको लागि देश भन्नुभन्दा सचेत अभिव्यक्तिको रूपमा यही शब्दलाई मधेस भनेको हुनुपर्छ । र कालान्तरमा यही शब्द प्रयोगमा आएको हुनुपर्छ । अथवा देश आएको व्यक्तिले ‘म देश आएको’, ‘म देश आएको’ भन्दाभन्दै कालान्तरमा म र देशको उच्चारण एकसाथ मिसिएर मदेस आएको भन्ने हुन गएर यस क्षेत्रको नाम नै मदेस हुन गएको हुनुपर्छ ।

जे होस्, तराई क्षेत्रका बासिन्दालाई तराइलीभन्दा मधेसी भन्नुमा बढी सजिलो र आफ्नोपन अनुभूति हुने गर्दछ । मधेस आन्दोलन र त्यसपछिका गतिविधिहरूले मधेस शब्द सबैका लागि ग्राह्य बन्न पुग्यो तर अहिले जब प्रदेश २ को नाम मधेस प्रदेश रहन गएको छ तब व्यापक असन्तुष्टि र प्रतिक्रियाहरू आएका छन् । अब प्रदेशसभाले यस प्रदेशको नाम मधेस र राजधानी जनकपुर निर्धारित गरिसकेपछि धेरैतिरबाट यस प्रदेशको नाम मधेस रहन गएकोमा असन्तुष्टि आएको छ ।

यसरी असन्तुष्टि जाहेर गर्नेमा केही मिथिला पक्षका कट्टर र केही पहाडी समुदायका मानिस रहेका छन् । अब निर्धारण भइ नै सक्यो । हरेक ठूलो कार्यको प्रतिक्रिया आउने नै गर्छ । एउटा प्रदेशको नाम यहाँको बहुसङ्ख्यक बासिन्दाको संयुक्त पहिचानको आधारमा भएको छ । लोकतान्त्रिक विधिबाट नाम तय भएको हो र सभ्य तथा शिष्ट किसिमले प्रतिक्रिया दिनु लोकतन्त्रको मर्यादाभित्र पर्दछ । सुझाव दिने कार्य लोकतन्त्रको गहना नै हो । यस अर्थमा प्रतिक्रियाहरूलाई अस्वाभाविक मान्नुहुँदैन । प्रदेशको नामको विषयमा जति धेरै प्रतिक्रिया आएका छन्, यीभन्दा फरक व्यवहार राजधानीको विषयमा देखिएको छ । मुख्यगरी पर्साका नागरिकले राजधानी वीरगंज हुन नसकेकोमा आन्दोलन गरेका छन् ।

पर्सेली नागरिकको माग जायज हो तर यो आन्दोलन त्यतिखेर भइरहेको छ जतिखेर मुठीको सबै बालुवा भुइँमा झरिसकेको छ । अब मुठी खाली भइसकेको छ र जति कसे पनि हातबाट फुत्केको बालुवालाई पुनः मुठीमा पार्न सकिंदैन । फेरि पनि माग जायज छ, तर अब आन्दोलन गरेर के नै प्राप्ति होला ? यस विषयमा गम्भीर भएर विचार गर्नुपर्छ । वास्तवमा आन्दोलन भनेको आक्रोशको प्रस्फुटन हो । अहिलेको पर्सेली नागरिकको आन्दोलन यही आक्रोशको प्रस्फुटन हो । र यो प्रस्फुटनको बखत त्यो हो जब देशमा कोरोनाको विस्फोट भएको छ । देशमा कोरोना सङ्क्रमणको गति अत्यन्त तीव्र भएको बखत भइरहेको पर्सेली नागरिक आन्दोलनले कोरोनाको प्रोटोकललाई स्वतःस्फूर्त परिपालन गर्ने हो कि ?

मधेस प्रदेशको पहिलो मुख्यमन्त्री पर्सा जिल्लाले पाएकोमा गर्व छ । अब यस प्रदेशको नाम मधेस रहिसक्यो र नाम तथा राजधानी परिवर्तन गर्न झन्डै असम्भवजस्तै छ । प्रदेशसभाले दुई तिहाईले निर्धारण गरिसकेको नाम र प्रदेशको राजधानी फेरि संशोधन गर्न मिल्छ कि मिल्दैन ? संविधानमा के कस्तो व्यवस्था छ भन्ने कुरामाथि पनि विचार पु¥याउनु आवश्यक छ । यदि संशोधन हुन्छ भने पनि दुईतिहाई बहुमत त चाहिन्छ । अब एकचोटि जनकपुर राजधानी घोषित भइसकेपछि यसलाई उल्टाउन अर्को दुईतिहाई बहुमत चानचुने कुरो होइन । लेखक विश्वराज अधिकारीले भनेजस्तो वीरगंजलाई प्रदेशको मुख्य आर्थिक नगरी र देशको आर्थिक राजधानीको रूपमा विकास गर्नुपर्छ । यद्यपि वीरगंज राजनैतिक राजधानी बन्नुपर्छ भन्ने कुरो व्यक्तिगत रूपमा मलाई पनि लागेकै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here