प्रस, वीरगंज, ३ माघ/

पिस फर नेपाल दलित फाउन्डेशनका अध्यक्ष मनोज रामले पर्सा जिल्लामा अहिले गैरदलितहरूबाट सकारात्मक विभेद भइरहेको आरोप लगाएका छन् ।

प्रतीकसँग कुरा गर्दै उनले पुरानो शैलीमा परिमार्जित भएर अहिले समाजमा गैरदलितहरूबाट दलितहरूसँग सकारात्मक विभेद भइरहेको बताए । उनले पढेलेखेका दलितहरूसँग एकथरी र अनपढ दलितहरूसँग पूर्ववत् व्यवहार भइरहेको र यसलाई सकारात्मक विभेदको संज्ञा दिएको बताए ।

पर्सा जिल्लामा अहिले पनि दलितहरूले पकाएको नखाने, विवाहमा उनीहरूका लागि छुट्टै व्यवस्था गर्ने, छुवाछूतलगायत विभेद विद्यमान रहेको बताए । समयसापेक्षरूपमा पढेलेखेका, बुझेका गैरदलितहरूबाट देखावटीरूपमा दलितहरूप्रति सकारात्मक टीकाटिप्पणी भए पनि व्यवहारमा उनीहरूबाट पनि पूर्णरूपमा अहिलेसम्म विभेद नहटेको आरोप लगाए ।

अध्यक्ष रामले पर्सा जिल्लाको विभिन्न स्थानमा रहेका दलितहरूको अहिलेसम्म शिक्षा, रोजगारमा पहुँच नबढेकोले उनीहरू आर्थिकरूपमा समस्याग्रस्त रहँदै आएको बताए । अहिले पनि सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रममा पर्साका दलितहरू थोरैमात्र परेका र अधिकांश दलित फूस, खपडा र टायलको घरमा बस्दै आएको बताए ।

सरकारले दलितहरूको लागि सघन कार्यक्रम अन्तर्गत पचास हजारका दरले कर्कटपाता खरीद गर्ने व्यवस्था गरे पनि जिल्लाका थुप्रै दलितहरू यो कार्यक्रममा पनि ठगिएको उनले बताए । ठूलो सङ्ख्यामा दलितहरू रहे पनि १० प्रतिशत दलितलाई यो कार्यक्रममा पारिएको र त्यसमा पनि बिचौलियाहरूले दलितको खाता खोल्न लगाउने र उनीहरूको चेक आफैले लिएर अनियमितता गर्ने गरेको बताए ।

यही कारणले अहिले कार्यक्रममा परेका १० प्रतिशत दलितहरूको टीनको छाना पनि बन्न नसकेको अध्यक्ष रामले बताए । सर्वत्र टीन मात्रै दलितको घरमा छ तर घर निर्माण हुन सकेको छैन । भएको पैसा बिचौलियाले आफ्नो अधीनमा लिएपछि उनीहरूको टीनको घर बन्न नसकेको हो । धेरै दलितहरू भूमिहीन भएका र उनीहरू दैनिक जनामजदूरी गरेर जीवनयापन गर्दै आएकोमा विपद्को समयमा उनीहरूको अवस्था एकदमै दयनीय हुने गरेको बताएका छन् ।

वर्षायाममा घरमा पानी चुहिने र जाडोमा चीसो हावाले कठ्याङ्ग्रिएर दलित परिवार बस्दै आएको र उनीहरूको जीवन उकास्न तीनवटै तहको सरकारबाट सकारात्मक कदम नचालिएको आरोप लगाएका छन् । दलित समुदाय दैनिक ज्यालादारी गर्ने, माछा मार्ने र रोजगारको लागि जिल्लाबाहिर जानुपर्ने अवस्था विद्यमान रहेको र यसै कारण उनीहरूको आर्थिक अवस्थामा सुधार नहुँदा दलित बालबालिकाको पहुँच शिक्षामा बढ्न नसकेको अध्यक्ष रामले बताए ।

पिस फर दलित फाउन्डेशनले दलित बालबालिकाहरूको अध्ययनमा पहुँच र रुचि बढोस् भनेर अहिले जिल्लाको चार स्थानमा ट्युशन सञ्चालन गरेको र त्यसबाट करीब चार सय बालबालिका लाभान्वित हुँदै आएका बताए । सखुवापरसौनी गापा–५ महुवन, वडा नं. ३ कौवा वनकटैया, जीराभवानी गापा–४ सुपौली र वीरगंज–१९ केहुनियामा रहेका दलित बालबालिकाहरूलाई सडक–फूटपाथमा बसाएर चारजना स्वयंसेवक शिक्षकहरूबाट बिहान र बेलुका ट्युशन पढाइने गरेको उनले बताए ।

आफ्नो फाउन्डेशनले स्थानीय सरकारलाई खबरदारी गर्ने, दलितमैत्री बजेट बनाउन दबाब दिनेजस्ता कार्यहरू गर्दै आए पनि आशाप्रद सुधार नभएको उनको गुनासो छ । पर्सा जिल्लामा सबैभन्दा बढी दलित सखुवापरसौनी गापाको महुवनमा छ । वडा नं. १ मधुवन मथवल, वडा नं. ३ कौवा वनकटैया, वडा नं. ५ महुवन, वडा नं. ६ एकडर्वा गाउँमा दलितहरूको बसोवास रहेको उनले बताए ।

यसैगरी जीराभवानी गापाको सुपौली, कोढौली, भवानीपुर, पकाहामैनपुरको खेस्राहा, जगरनाथपुर गापाको सुहपुर, सोहरी, पर्सागढीको बडनिहार, पोखरियाको मननपुर, जगतपुर, वीरगंज महानगरको १, २, ४, ६, ७, १५ लगायतमा दलितहरूको बसोवास छ । फाउन्डेशनले पर्सा जिल्लामा रहेका दलितहरूको यकीन सङ्ख्या सङ्कलन गर्न नसकेको र यो कार्यलाई प्राथमिकतामा नराखेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here