राधेश्याम पटेल, वीरगंज, ३ माघ/
मुलुकको प्रमुख भन्सार नाका र आर्थिक नगरी वीरगंजमा भाडामा पसल पाइँदैन । माग बढी र कोठा सीमित हुँदा पसलको अभाव भएको छ । पहिलेदेखि वीरगंज बजारको अवस्था पुरानै छ । वीरगंजको घण्टाघरदेखि रजतजयन्ती चोकसम्म सडक चौडा पार्ने सरकारको लक्ष्य रहे तापनि सर्वोच्च अदालतमा मुद्दा चलिरहेकोले सडक विस्तार कार्य रोकिएको छ । जसले गर्दा वीरगंजको मुख्य सडक भत्काइएको छैन ।
यसैलाई आधार बनाएर वीरगंजमा सटर भाडा पनि बढाउँदै लगिएको पसलेहरूले बताएका छन् । दुई वर्षदेखि कोरोना महामारीको कारण व्यापार मन्दा र घाटा लागेपनि घरधनीले पसल भाडा हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै लगेको बताएका छन् । माईस्थानका पसलेहरूका अनुसार पहिले मासिक ४० हजार भाडा दिएर मध्यम साइजको कोठामा पसल गर्दै आएकोमा यस वर्ष घरधनीले ५० हजार भाडा दिन ताकेदा गरिरहेको बताए ।
माईस्थानकै सैमसङ पसल पहिले ७० हजारमा भाडामा लागेको थियो भने अहिले नयाँ पसलेले एक लाखमा भाडामा लिएर नयाँ स्वरूपमा पसल डेकोरेट गरिरहेको छ । मुख्यगरी वीरगंज घण्टाघर–लिंकरोड, घण्टाघर–रानीघाट, घण्टाघर–माईस्थान–आदर्शनगर–छपकैया, घडिअर्वा, आदर्शनगर, कुमालटोल, गहवामाई मन्दिर, गहवामाई दुई नम्बर रोडलगायत क्षेत्रमा घर तथा कोठाको भाडा बढाइएको छ । साथै घरधनीले बिजुली तथा पानीको छुट्टै भाडा लिने गरेका
छन।
महँगो भाडाका कारण गाउँ देहातबाट पसल व्यवसाय गर्न आएका केही पसलेहरू ६ महीनामा पसल व्यापार गरी सटर छोडेर पसल बन्द गर्ने र अर्कै सस्तो ठाउँमा सर्ने गरेका छन् । एउटा पसले छोडेर गएपछि अर्को पसलेसँग केही बढाएर घरबेटीले पसल भाडामा लगाउने गरेका छन् । घण्टाघरदेखि आदर्शनगर, मीनाबजार, माईस्थान, घडिअर्वा, कुमालटोललगायत क्षेत्रमा १५ हजारदेखि एक लाखमा पनि कोठाको स्पेस अनुसार मासिक भाडा रहेको छ । सहायक सडकको गल्लीहरूमा ४ हजारदेखि १० हजारमा पनि कोठा पाउने गरेको छ ।
पर्सामा पसल व्यापार गर्ने कुल करदाता करीब ४० हजार रहेकोमा ठूलाबडा गरी वीरगंज बजारमा करीब १० हजार पसल सञ्चालनमा रहेको आन्तरिक राजस्व कार्यालयको तथ्याङ्क
छ। वीरगंजका करीब दर्जनौं सडक छेउछाउमा हरेक ठाउँमा पान पसल,खाद्यान्न पसल, तरकारी, पसल,किराना पसल, कपडा, होलसेल, डिपार्टमेन्टल स्टोर्स, होटल तथा नाश्ताघर, रेस्टुरेन्ट तथा बार, कस्मेटिक, जुत्ता चप्पल, हार्डवेयर, इलेक्ट्रिक, सैलुन, ब्युटीपार्लर, गल्लाभण्डारलगायत पसलहरू सञ्चालनमा छन् ।
मोटो भाडा लिए पनि घरबहाल तिर्दैनन् घरधनी
वीरगंज बजार क्षेत्रका घरधनीहरूले समयमा घरबहाल कर तिर्दैनन् । पहिले घरधनीहरूले बर्सेनि कुल आर्जन गरेको घरभाडाबाट १० प्रतिशत घरबहाल कर र २ प्रतिशत सेवाशुल्क गरी १२ प्रतिशत कर तिर्ने नियम रहे तापनि वीरगंज महानगरले चालू आवमा उक्त दर १० प्रतिशतमा झारेको छ । वीरगंज महानगरका मेयर विजयकुमार सरावगीका अनुसार कुल घरधनीले आम्दानी गर्ने घरभाडामध्ये करिब ६० प्रतिशतले घरबहाल कर समयमा नतिर्ने गरेको बताए । “हजारौं कोठा तथा घर भाडामा लागेको छ वीरगंजमा, तर लक्ष्य अनुसार कर उठाउन सकिएको छैन”–उनले भने–“तिर्नेले पनि घपलाबाजी गर्छन्,१० हजार प्रतिमहीना लागेको कोठा २ हजारमा लगाएको भनेर कर तिर्न आउँछन् ।”
वीरगंज महानगरका राजस्व प्रशासन महाशाखाका प्रमुख रूपनारायण राउतका अनुसार वीरगंजको केही निश्चित क्षेत्रबाहेक अन्य ठाउँमा न्यूनतम भाडा तोकिएकोले सोभन्दा कम गर्न नमिल्ने बताए । तर केही घरधनीले महानगरको मूल्याङ्कन र अपेक्षाभन्दा कम कर तिर्ने गरेको उनले बताए । उनका अनुसार गत आवमा करीब ७० करोडभन्दा बढी आन्तरिक स्रोतबाट राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा चालू आवमा ९५ करोड सङ्कलन गर्ने लक्ष्य रहेको
बताए । उनले गत साता सम्पन्न नगरसभाबाट उक्त रकममा वृद्धि गरी एक अर्बभन्दा माथि लक्ष्य निर्धारण गरिएको बताए । उनले करदाताहरूले वडा कार्यालयको उदासीनताका कारण कम कर तिर्दा पुस मसान्तसम्म ६ महीनामा जम्मा ३२ करोड मात्र राजस्व सङ्कलन भएको बताए।