- विवेक वाइबा/समीक्षा
मान्छे सबैलाई समग्र मानव समाजको साङ्गोपाङ्ग जान्नेबुझ्ने चाह हुन्छ। तत् सम्बन्धी ज्ञान र चेतना पनि आफू रहे बसेको समाजबाटै सिकेको हुन्छ। समाजमा घट्ने विभिन्न घटनाक्रमले मान्छे जो कोहीलाई सचेत बनाउँछ। र समाजका हरेक गतिविधि, चालचलन एवं सांस्कृतिक क्रियाकलाप पनि नियालेकै हुन्छ। तिनै अनुभूतिबाट मान्छेले धारणा बनाउने हो। यही क्रममा समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, एक अर्कालाई होच्याउने, दोषारोपण गर्ने खालको व्यवहार, राजनीतिका नाममा भएका विकृति, विसङ्गतिले गाँजिएको समाजबारे समीर पाख्रिनले विचार अभिव्यक्तिको रूपमा ‘अनुगमन’ नामक एकाङ्की सङ्ग्रह २०७५ पुस्तकका रूपमा प्रकाशित गरेका छन्।
उनका रचनाहरू बारा र पर्सा जिल्लाबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरूमा छापिएको पाइन्छ। विभिन्न समयमा प्रकाशित एकाङ्की नाटकहरूको सङ्ग्रह ‘अनुगमन’ भित्र नियाल्दा मेरो अनुभूति र जिज्ञासा शब्दमा व्यक्त गर्ने जमर्काे गरेको छु।
यस पुस्तकका लेखक लामो समय शिक्षण पेशामा बिताएका व्यक्तित्व हुन्। तथापि साहित्यप्रति रुची राख्ने, त्यसबारे अध्ययन, चिन्तनमा लाग्ने मात्र होइन। आफू रहेको ठाउँ आसपास हुने विभिन्न साहित्यिक कार्यक्रमहरूमा पनि सहभागिता जनाउने गर्छन्। र यो एकाङ्की सङ्ग्रहमार्फत राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा देखापरेका विसङ्गतिपूर्ण काम–कारबाहीमाथि तिखो व्यङ्ग्य गरेका छन्। राजनीति भनेको सेवा हो, स्वयंसेवा। तर राजनीतिकर्मी मात्र होइन, सामाजिक रूपान्तरणको महाअभियानमा लामबद्ध भएकाहरूको व्यवहार, कार्यशैली, तिनका बोलीसँग तालमेल नमिलेकोमा लेखक गुनासो गर्छन्। लेखक पाख्रिनको मात्र होइन, आम नागरिकहरू हाम्रो सामाजिक अवस्था संगलिएको देख्न चाहन्छन्। पुरानो अवस्थाबाट अलिक विकास भएको देख्न चाहन्छन्। हाम्रो समाज राष्ट्रका नेतृत्व आफ्नो जिम्मेवारी एवं उद्देश्यलाई बहु जन हिताय बनाउनुभन्दा निहित वैयक्तिक स्वार्थमा रुमलिएकोमा यस सङ्ग्रहमार्फत विभिन्न ठाउँमा असुन्तुष्टि व्यक्त गरेका छन्।
अनुगमनमा लेखक पाख्रिनका विभिन्न बाह्रवटा शीर्षकमा एकाङ्की नाटक समावेश गरिएका छन्। यो उनको पहिलो कृति हो। सामाजिक मर्म, चाहना र भावनालाई आत्मासात् गरेको देखिन्छ। प्रत्यक्ष समस्याको सही समाधान नगरिए भोलिको समाजमा त्यसले नराम्ररी गाँज्न सक्छ भन्ने सङ्केत गरिएको छ। समाजका अगुवा अभियन्ताहरूको ध्यान त्यसतर्फ जाओस् भन्न खोजेका छन् लेखकले। यस सङ्ग्रहमा विद्यार्थी, शिक्षक, राजनीतिक अभियन्ता, युवालगायत सामाजिक मनोदशा र त्यसको प्रभावबारे विभिन्न ढङ्गले तिनको मनोविज्ञानलाई दर्शाउने प्रयत्न भएको छ। यद्यपि कहींकहीं केही सन्र्दभहरू अलिक दोहोरिएजस्तो लागे पनि नाटक आफैंमा रोचक छ। किनकि नाटकको माध्यमबाट समाजमा झ्याङ्गिदै गएको खराब प्रवृत्ति उजागर गर्नु र त्यसको समाधान दिनु वा पहेली सुझाउनु पनि सेवा भाव नै हो। त्यसो गर्नु भनेको सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि हो। यी सन्दर्भ विचलन, पूर्वसन्ध्यामा, र पश्चात्ताप एकाङ्कीमा विभिन्न पात्रहरूले उजागर गरेका छन्।
समाजमा व्याप्त रूढिवादी चिन्तनमा आधारित धामी–झाँक्रीले गर्ने फुकफाकबाट बिरामीहरू निको पार्ने अन्धविश्वासको कडा प्रतिरोध चन्दा नामकी पात्राले गरेको सन्र्दभ अत्यन्तै राम्रो छ। अन्धविश्वासबारे नयाँ सन्देश दिन खोजिएको छ –उज्यालोतिर भन्ने नाटकमा। यसमा मात्र होइन, हरेक शीर्षकमा परम्परागत सोचभन्दा माथि उठ्नुपर्छ। र परम्परा मान्ने र धान्ने प्रवृत्तिले मानव समाजको विकास र समृद्धिको ढोका खोल्न सकिंदैन भन्ने विषय उठाउन खोज्नु लेखकको आँट सराहनीय छ। नाटक खासगरी पढ्नेभन्दा पनि हेर्दा प्रत्यक्षरूपमा यसका पात्रहरूको कलात्मक संवादले भावलाई अझ मुखरित गर्ने विधा हो। लेखक पाख्रिनले यस नाटकको माध्यमबाट समाजमा आम मान्छेले एक अर्कालाई दिने धोका, पार्ने अप्ठ््याराहरू मात्र नभई अन्य प्रकारका सामाजिक विकृतिहरूको रोचक र घोचक ढङ्गले प्रस्तुत गरेका छन्। सामाजिक रूपान्तरणको पक्षमा आफ्नो मत जाहेर गर्दै भोगेको अनुभूतिहरूको सजीव चित्रण हो अनुगमन। समग्र सामाजिक परिवर्तन क्रममा भएका सङ्घर्ष, आन्दोलन मात्र नभई आम मान्छेले आफूलाई नयाँ चेतनाका आधारमा परिमार्जित गर्दै अघि बढेको कथा–व्यथाहरूको एउटा समष्टि रूप हो–एकाङ्की सङ्ग्रह अनुगमन।
शिक्षक र विद्यार्थीबीचको सम्बन्ध र त्यसको प्रभावबारे भूल उपशीर्षकको नाटकमा देखाइएको छ। शिक्षकले गर्ने लापरवाहीका कारण एउटा नयाँ उदीयमान विद्यार्थीमा पर्ने असरका कारण नवप्रतिभाले बेहोर्नुपर्ने नोक्सानी विभिन्न पात्रको माध्यमबाट उजागर गरिएको छ। यद्यपि दुवै सम्बन्धित पक्षको स्वीकारोक्तिसँगै यो सन्देशमूलक पनि छ। त्यतिमात्र नभई प्रकृतिप्रतिको प्रेम, प्रकृतिमाथि सबैको पहुँचको प्रश्न आफैंमा महत्वपूर्ण छ। त्यसैले कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्ति हाम्रो समाजमा विद्यमान छ। प्रकृति भन्नाले जल, जङ्गल, जमीन आदि बुझ्न सकिन्छ। यसमा आम नागरिकले आवश्यकताका आधारमा भोगचलन गर्ने चलन छ। यसको उपभोग गर्दा यसबाट पर्ने असर र प्रभावित बन्ने जीवजन्तु र अन्य विषयमा पनि ध्यान पु–याउनुपर्छ भन्ने कुरा अतिक्रमणमा मुखरित गर्न लेखकले भरपूर मिहिनेत गरेका छन्। यो अत्यन्तै महत्वको विषय पनि हो। यस कृतिमा समावेश गरिएको अनुगमन शीर्षक एकाङ्कीले नाटकको अग्रभाग अर्थात् यसको नामकरण नै अनुगमन भएको छ। चाहे निजी होस् वा सरकारी, सङ्घ संस्थाहरूको अवस्था, काम, कारबाहीको अनुगमन कसरी गरिन्छ त्यसको प्रस्तुति प्रस्ट्याउन खोजिएको छ। जिम्मेवारी निर्वाह गर्नेहरूको भूमिकाका विषयमा प्रश्न उठिरहेको छ। हरेक क्षेत्रमा गरिने अनुगमन सही अर्थमा नभएकै कारण सर्वत्र बेथिति बेहोर्नुपरेको सन्देश यस रचनामा निहित छ।
त्यस्तै विश्वासघात, गुरुदक्षिणा, बडीगार्ड र चक्काजाम नाम शीर्षकका रचनाहरू पनि नेपाली समाजको यथार्थ झल्कने मात्र नभई, त्यसका सबल र निर्बल पक्षहरूको प्रकटीकरण हो। समाजमा अझै पनि वृद्धवृद्धालाई आदर गर्नुभन्दा उपेक्षाभाव राख्ने, विभिन्न बहानामा ठग्ने प्रवृत्तिको चिरफार यी रचनाहरूमा छ। त्यसो त यौन मनोविज्ञान र त्यसप्रतिको गलत बुझाइका कारण समाजमा घट्ने विविध घटनाहरूलाई विषयवस्तु बनाई प्रस्तुत गर्ने लेखकको क्षमता अब्बल मान्नुपर्छ। त्यतिमात्र नभई राजनीतिक दल वा विभिन्न पेशागत सङ्घ, संस्थाहरूले पनि आफ्ना माग पूरा गराउन गरिने दबाबमूलक कार्यक्रम चक्काजामबारे पनि केही कुरा उठाएका छन्–लेखक पाख्रिनले।
यस सङ्ग्रहमा उठाइएका विषयवस्तु र दिन खोजिएको सन्देशलाई मनन गर्ने हो भने लेखक आफ्नो धर्म निर्वाह गर्न सफल भएका छन्। समाज र मानिसलाई परम्परावादी चिन्तन र सोचभन्दा माथि उठ्नुपर्छ भन्ने सकारात्मक धारणा सङ्ग्रहमार्फत अगाडि सारेका छन्। र समाजमा असरल्ल छरिएका विकृति र विसङ्गतिपूर्ण अवस्थाबाट माथि उठ्न सबै क्षेत्र लागिपर्नुपर्छ। त्यसपछि मात्र सबैले सबैलाई सकारात्मक ढङ्गले बुझ्न बुझाउन सकिन्छ भन्ने मूल सन्देशसहित साहित्य लेखन क्षेत्रमा क्रियाशील समीर पाख्रिनलाई शुभकामना १ आगामी दिनमा योभन्दा अझै ओजिलो सिर्जनाका साथ साहित्यिक क्षेत्रमा प्रस्तुत हुने कामनासहित१
–हेटौंडा, मकवानपुर।
हाल ः सीता पाइला, काठमाडौं।