- सञ्जय साह मित्र
देश सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा गएपछिको समयमा धेरै किसिमले फडको मारेको छ । आलोचकहरू भन्ने गर्छन् कि देशले खासै विकास गरेको छैन । यो असन्तुष्टि हो, अविश्वास होइन । विकासप्रति असन्तुष्टि भनेको थप विकासको तीव्र चाहनाको सम्बोधन हुनुपर्छ भन्ने हो । त्यस्ता आलोचकलाई के भएन वा यति समयमा यसभन्दा पहिले के भएको थियो भनेर सोध्ने हो भने उत्तरमा राजनैतिक असन्तुष्टि उभ्याइदिन्छन् ।
सही अर्थमा देशमा विकास भएको छ । देश विकासको बाटोमा अग्रसर छ । पहिले रकमको अभावमा विकास हुँदैनथ्यो, अब विकास कार्यमा मानिसहरूबीच मतभिन्नता हुँदा वा तत्काल सहमति हुन नसक्दा विकास अवरुद्ध देखिन्छ । जहाँ सहमति हुन्छ, जहाँ अवरोध हुँदैन, जहाँ विकासप्रति धेरैको सकारात्मक चासो हुन्छ, त्यहाँ विकास प्रभावित हुँदैन । विकासले गति लिएको छ । विकासको नयाँ तरीका बुझिन थालिएको छ ।
गणतन्त्र र सङ्घीयताले समाजको आवश्यकतामा पनि परिवर्तन ल्याइदिएको छ । सामाजिक परिवेशमा पनि परिवर्तन ल्याएको छ । यस परिवर्तित परिवेशले सामाजिक आवश्यकतालाई पनि फरक किसिमले परिभाषित गर्न खोजेको छ । आधारभूत आवश्यकताको आपूर्ति गर्न नसक्ने परिवार एकातिर छँदैछ । देशमा अति विपन्न परिवारले कष्टकर जीवन बिताइरहेको छ। लगातार दुई वर्षको कोरोनाले धेरै विपन्नको ढाड भाँचिदिएको छ । कैयौं परिवारलाई बिचल्लीमा पारिदिएको छ ।
ग्रामीण अर्थतन्त्रमा पनि धेरै नकारात्मक असर परेको छ । कतिपय ठाउँको जग्गा जमीनको भाउमा दुई वर्षदेखि कुनै वृद्धि भएको छैन । कतिपय विपन्नलाई ऋण लागेको छ । गुमेको रोजगार अहिलेसम्म प्राप्त हुन सकेको छैन । यी यथार्थहरूबीच पनि समग्र नेपालको आवश्यकतामा भने केही फरक रूप देखिएको छ । देशको आवश्यकता कतातिर मोडिंदै छ भन्ने कुराको सामान्य अनुमान लगाउन मुश्किल हुन्छ तर जब यथार्थ देख्दछौं तब लाग्न थाल्दछ कि हाम्रो आवश्यकताले नयाँ मोड लिन लागेको छ ।
हो, केही महीनादेखि लगातार रेमिटान्स कम भइरहेको छ । आइरहेको रेमिटान्सको उपयाोग पनि केही क्षेत्रमा भइरहेको छ भन्ने कुराको अध्ययन गर्ने हो भने धेरै मात्रामा विलासिताको वस्तुको नाम आउँछ । नेपाल राष्ट्र बैंकले पनि विलासिताको वस्तु आयात निकै बढेको भनेर सचेत गराइसकेको छ । विलासिताको वस्तुको आयात बढ्न र रेमिटान्स घट्नुले विपरीत सम्बन्ध राख्दछ । यसको सोझो अर्थ यो पनि हो कि हाम्रो समाज अधोगतितिर लम्कँदो छ । हुनत हाम्रो देश अति विपन्न मुलुकको श्रेणीबाट एक तह माथि उक्लेको पनि अहिले नै हो, तर कोरोनाको समयमा देशले प्राप्त गरेको आर्थिक दुर्गतिबाट हाम्रो समाज अझै उन्मुक्त भइसकेको छैन र विलासिताका महँगा सामग्रीहरू देशमा धेरै भित्रिनुले देशमा निम्न वर्ग र सम्पन्न वर्गबीच खाल्डो बढेको छ ।
महँगा गाडीको आयातमा वृद्धि भएको छ । अन्य सवारी साधन पनि धेरै आइरहेका छन् । शृङ्गारका साधनहरू पनि धेरै आइरहेका छन् । पहिलेको तुलनामा मदिराको बिक्री बढेको छ । हाम्रो खेतमा उत्पादन हुने धानको चामलभन्दा बाहिरबाट आउने चामलले बजारमा विस्तार पाएको छ । अहिले यदि खाद्यान्न बजारको अनुगमन गर्ने हो भने हाम्रो खाद्यान्नभन्दा विदेशी खाद्यान्नले बढी मूल्य पाइरहेको तथा मध्यम वर्गको मुखको स्वाद फेरिरहेको छ । अझ गाउँसम्म पनि बाहिरबाट आएको चामल पुग्न थालिसकेको छ ।
धेरै परिवार यस्ता पनि देखिएका छन् जो आफ्नो खेतको उत्पादन बेचिरहेका छन् र बाहिरको चामल किनेर खाइरहेका छन् । यसमा के कति घाटा छ भन्ने कुराको ठेगान किन गरिरहेका छैनन् भने घरका बालबालिका वा युवालाई मोटो चामल मन पर्दैन । बाहिरबाट आएको चामलले गाउँको स्वाद परिवर्तन गर्नुमा शहरमा बसेर आएका युवाहरूको भूमिका ठूलो छ । बन्दाबन्दीले शहरमा काम दिलाउन नसकेपछि गाउँतिर बसेका तर शहरको बसाइँको प्रभाव नहटेका युवाहरूले आफ्नो आनीबानी, स्वाद र पहिरन अन्य गाउँलेमा सारिदिएका छन् । यसले गर्दा गाउँमा पनि रेडिमेड कपडा लगाउने बढेका छन् जुन बाहिरबाट आउँछ ।
हाम्रो आवश्यकता कसरी बदलिरहेको छ भने हिजोसम्म गोटीवाला मोबाइल रहेको हातमा अब स्किन टच मोबाइल देखिन थालेको छ । गाउँमा इन्टरनेटको सुविधा पुगिसकेकोले रिचार्जको बिक्री धेरै बढेको छ तर आय भने बढ्न सकेको छैन । आयका परम्परागत स्रोतहरू सुकेका छन्। यद्यपि अहिले पनि गाउँका अधिकांश परिवारमा बाख्रापालनले धेरै थोक धानेको देखिन्छ । यो असान्दर्भिक कुरो होइन ।
अधिकांशको भनाइ छ–अहिलेका बालबालिकाहरू पढ्न रुचाइरहेका छैनन् । कोरोनाको समयभन्दा पहिले र अहिलेको समयमा धेरै परिवर्तन भइसकेको छ । विद्यालय तथा क्याम्पस तहका विद्यार्थीहरूमा पढ्ने बानी बिग्रिसकेको छ । पढाइको बानी बिग्रँदा बालबालिकाहरूले नपढी पास हुने उपाय खोजिरहेका छन् । पढाइलाई बेकार ठान्ने बानीको विकास हुनु वा उत्तीर्ण हुनुमा अधिकारको आवश्यकता महसूस गर्ने विकृति विकसित हुनुलाई दुःखद नै मान्नु उचित हुन्छ । अभिभावकहरू एउटा पनि पत्रिका पढ्न आवश्यक ठान्दैनन् तर विद्यालय पढ्ने बालबालिकालाई बीस–पच्चीस हजार रुपियाँको मोबाइल किनेर दिन आवश्यक ठान्दछन् ।
त्यो मोबाइल हाम्रो देशमा बनेको हुँदैन । मोबाइल हाम्रो ठूलो आवश्यकता बनिसक्यो, अर्थात् अहिलेको युगमा मोबाइल आधारभूत आवश्यकता बनिसक्यो धेरैको लागि । मोबाइलको उपयोग शिक्षा क्षेत्रमा गर्न अभिभावकले नजानेको तथा बालबालिकाले गर्न नचाहेको अवस्था हो । अहिले बालबालिकाले आफ्नो आवश्यकता के हो भन्ने बुझ्न नसक्नु दुःखद हो भने अभिभावक, समाज र सामाजिक सञ्जालले बुझाउन नसक्नु झन् ठूलो दुर्भाग्य हो । सामाजिक सञ्जाल त सबै वर्गको आवश्यता बनि नै सकेको छ । जो सामाजिक सञ्जालमा सक्रिय छैन, उसले हरेक दिन वा हरेक समय आफूलाई पछाडि पर्दै गएको बुझ्दै गएको छ ।
शिक्षा पहिलो आवश्यकता हुनुपर्ने हो, तर कोरोनालाई दोष दिन सजिलो भएकोले भन्नुपरिरहेको छ कि कोरोनाको दुई लहरपछि शिक्षाको स्तर निकै गिरेको छ । शिक्षाको स्तर गिराउन परीक्षाको वा परीक्षा प्रणालीको वा नतीजाको भूमिका हो भन्ने सोलोडोलो आरोप रहेको छ तर विद्यार्थी भने खुशी छन् । आर्थिक क्षेत्रमा जसरी हाम्रो आवश्यकता अर्थतन्त्रलाई सन्तुलनमा राख्नु रहेको छ त्यसैगरी शिक्षा क्षेत्रमा परीक्षा व्यवस्थित गर्नु परिवर्तित परिवेशमा हाम्रो सामाजिक आवश्यकता बनेको छ । यदि शिक्षालाई ट्र्याकमा ल्याउन सकिएन भने एउटा पुस्ता नै बिग्रिने अवस्था आउन थालेको छ । हो, ट्र्याकमा ल्याउन खोज्दा कतिपय बालबालिकाको एकाध वर्ष पछाडि हुन सक्ला, तर ट्रयाकमा आयो भने गुणस्तर सन्तुलित बनाउन सजिलो हुन्छ ।
अहिले जसरी पनि नाफा कमाउने प्रवृत्ति बढेको छ । कोरोनाको समययता नै केही मानिस अस्वाभाविकरूपमा धनी भएका छन् । यसको अर्थ यो पनि हो कि यस समयको कमाउने दृष्टिकोणले पनि उपयोग भएको छ । गलत तरीकाबाट उपयोग भएको छ भन्न खोजिएको होइन, तर हरेक सङ्कटलाई कतिपयले अवसरको रूपमा उपयोग वा दुरूपयोग गर्दछन् भन्ने कुरा अहिले पनि देखिएको छ ।
अहिले हाम्रो देशको अवस्था कस्तो छ ? समाजको अवस्था कस्तो छ ? यी कुरालाई विचार गरेर हामीले हाम्रो आवश्यकता निर्धारण गर्न सकेनौं । आवश्यकतालाई जहिले पनि अरूसित तुलना गरेर हेर्ने बानी हामीमा विकसित भएको छ । अरूले जसरी गरेका छन्, त्यसरी नै आफू चल्न खोजेका छौं । हाम्रो समाजको छुट्टै विशिष्टता छ । हामी आफैं पनि विशिष्ट हौं । यस विशिष्टतामा पनि हाम्रो सामाजिक तथा राष्ट्रिय कर्तव्य हुन्छ । कर्तव्यलाई नबिर्सेर हामीले अगाडि बढ्नुपर्ने हो तर दुर्भाग्य नेपाल राष्ट्र बैंकले धेरै कुरामा अंकुश लगाउनु परिरहेको छ । हाम्रो आनीबानीमाथि नियन्त्रण गर्नु परिरहेको छ । सामान्य अवस्थामा जे नहुनुपर्ने हो, त्यो अहिले भइरहेको छ । यस अवस्थामा सामाजिक सञ्जाल, बौद्धिक समुदाय तथा सञ्चारले सही बाटो देखाउनु आवश्यक भइसकेको छ ।