प्रस, वीरगंज, २ पुस/

कृषि ज्ञान केन्द्र, पर्साका बागवानी अधिकृत श्यामकिशोर प्रसादले यस वर्ष धान उत्पादन बढे पनि गहुँ उत्पादन घट्ने सङ्केत गरेका छन् ।

बागवानी अधिकृत श्यामकिशोरले यस वर्ष ४७ हजार १३७ हेक्टर जग्गामा चैते, भदैया, अगहनी धान खेती भएको र २ लाख ३३ हजार १३५ मेट्रिक टन धान उत्पादन भएको बताए । गत वर्ष ४७ हजार ५० हेक्टरमा धानखेती गरिएको र २ लाख २८ हजार ५२८ मेट्रिक टन धान उत्पादन भएको बताए ।

बागवनी अधिकृत श्यामकिशोरले यस वर्ष जेठ महीनादेखि पानी परेको र आकाशेखेतीको भरमा रहेका किसानहरूलाई सिंचाइको असुविधा नहुँदा धानखेती बढेको बताए । उनले अपेक्षाकृतरूपमा भने यस वर्ष पनि धानको उत्पादन बढ्न नसकेको बताए । धान पाकेर भिœयाउने बेलामा कीरा बढेको र पानी परेको कारण धानखेती प्रभावित भएको उनले बताए । अन्तिम समयमा प्रतिकूल मौसमको कारण यस वर्ष धानखेतीमा थोरै वृद्धि भएको बताए । गत वर्ष चैते धान ३ हजार ५ सय हेक्टरमा गरिएको र १७ हजार ८५० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष ३ हजार ५५० हेक्टरमा चैते धान खेती भएको र १८ हजार ८१५ मेट्रिक टन उत्पादन भएको बताए।

यसैगरी, गत वर्ष भदैया धान ८ हजार ५५० हेक्टरमा रोपिएको र ४४ हजार ४६० मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ८ हजार ५६० हेक्टरमा खेती भएर ४६ हजार २२४ मेट्रिक टन उत्पादन भएको बताए । अगहनी धान भने गत वर्ष ३५ हजार हेक्टरमा रोपिएको र १ लाख ६६ हजार २५० मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ३५ हजार २० हेक्टरमा रोपिएको र १ लाख ६८ हजार ९६ मेट्रिक टन धान उत्पादन भएको बताए ।

बागवनी अधिकृत श्यामकिशोरले रासायनिक मलको अभावमा गहुँखेती कम हुने सङ्केत गरे । उनले गत वर्ष २६ हजार ५० हेक्टर क्षेत्रफलमा गहुँखेती भएको र ८५ हजार ९६५ मेट्रिक टन गहुँ उत्पादन भएको बताए । यस वर्ष गहुँको बीउ छर्ने कार्य ९० प्रतिशत भएको तर किसानहरूले रासायनिक मलको अभाव झेलिरहेको उनले बताए ।

बजारमा मलको अभाव छ, सरकारले मल उपलब्ध गराउन सकेको छैन र सीमापारिबाट पनि किसानहरूले ल्याउन नसक्दा गहुँखेती प्रभावित हुने उनले बताए । बागवानी अधिकृत श्यामकिशोरले रासायनिक मलको अभाव भएको बेला सीमावर्ती भारतमा ल्याएर गर्जो टार्दै आएका किसानहरूले यसपटक त्यहाँका किसानले पनि मलको अभाव झेल्दै आएकाले मल नपाएको बताए । पर्सा जिल्लामा धान, गहुँ मुख्य बाली हुन् भने यसबाहेक दलहन र तेलहन खेती पनि हुँदै आएको छ । धान भिœयाएसँगै किसानहरू गहुँ, दलहन, तेलहन खेतीमा लाग्ने गरेका छन् । पर्सा जिल्लामा कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार हिउँदे मकै ५६० हेक्टरमा र वर्षे मकै ४ हजार ५० हेक्टरमा रोपिन्छ ।

यसैगरी, दलहनमा मुसुरोको ३ हजार ६१० हेक्टरमा खेती हुने गरेको छ । दलहनमा सबैभन्दा बढी मुसुरोखेती हुने गरेको छ । दलहनमैं खेसारी, मुङ, राजमा, रहर थोरै मात्रामा खेती हुने गरेको उनले बताए ।

तेलहनमा सबैभन्दा बढी तोरीखेती ५ हजार ५६० हेक्टरमा हुने गरेको छ । आलस ३९० हेक्टर, सरसो ३१० हेक्टर र सूर्यमुखी ५ हेक्टरमा मात्र खेती हुने गरेको छ । पर्सा जिल्लामा उखु ३ हजार हेक्टरमा, आलु एक हजार १७५ हेक्टरमा र सुर्ती २१५ हेक्टरमा खेती हुने गरेको कृषि ज्ञान केन्द्र, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here