नेपाली काङ्ग्रेसमा लामो समयदेखि झाँगिदै आएको गुट–उपगुट अब कमजोर देखियो । गुट–उपगुटभन्दा पनि योग्यता र क्षमताको आधारमा नेता चयन गर्नुपर्नेमा बहुसङ्ख्यक नेका कार्यकर्ता उभिएका छन् । सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित हुनुमा गुट नभई मतदाताले ठूलो सोच, समझ र विवेक पु¥याएको मान्नुपर्छ । विधान अनुसार नेपाली काङ्ग्रेसको केन्द्रीय सभापतिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी चयन हुन पाउँदैनन् । देउवाको यो अन्तिम कार्यकाल हो । आउँदो कार्यकालदेखि जसरी पनि अरूले मौका पाउने भयो। सभापतिमा आफ्नै परिवारका सदस्यलाई उत्तराधिकारीको रूपमा तयार गर्ला कि भन्ने पनि छैन। देउवा पत्नी डा आरजु देउवा राजनीतिमा प्रवेश गरिसकेकी भए तापनि सभापतिकै दाबी गर्ने अवस्था देखिंदैन । अर्कोतर्फ मुलुकको बहालवाला प्रधानमन्त्री रहेकै अवस्थामा पार्टी सभापतिको पद गुम्दा त्यसले सरकार सञ्चालनमा समेत प्रत्यक्ष असर पर्ने र पार्टी भित्र नयाँ–नयाँ समस्याहरू सिर्जना हुन सक्ने अवस्था देखियो । यो महाधिवेशनमा देउवालाई हराएमा अर्कोपटक उनले पुनः सभापतिमा दाबी गर्न सक्ने अवस्था रहिरहने हुँदा गुट झन् मौलाउने सम्भावना रहन्थ्यो ।

हुनत दोस्रो चरणमा डा शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवारहरूले देउवालाई समर्थन गरे । तर त्यसरी समर्थन गर्नुपूर्व अन्य पदाधिकारीका लागि मतदाताले दिएको मत पनि गुटगत देखिएको छैन । पार्टी उपसभापतिका दुई पदमध्ये देउवा प्यानलका पूर्णबहादुर खड्कालाई विजयी हुने मत पहिले नै बाकसमा परिसकेको थियो । त्यसैगरी, विजयी दोस्रो उपसभापति धनराज गुरुङ कोइराला टीमका हुन् । यता महामन्त्रीमा कोइराला टीमका गगन थापा दुई तिहाइ मतले विजयी भएका छन् भने प्रकाशमान सिंह टीमका विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् । सभापतिको उम्मेदवारमा सिंहले १० प्रतिशत मत कटाउन सकेनन् । उनकै टीमबाट शर्मा विजयी हुनु गुटको राजनीति तोडेर मतदाता अगाडि बढेका हुन् भन्ने प्रमाण हो । यसैगरी, अन्य पदाधिकारीहरूको छनोटमा पनि मतदाताले सकभर निष्पक्ष निर्णय गर्न खोजेको देखिन्छ । गुटकै आधारमा मात्रै पार्टी नेतृत्व लिन सकिन्छ भन्ने विभिन्न दलका नेतृत्व तहको मनोरोगलाई नेका महाधिवेशनले ठूलो झटका दिएको छ भने अर्कोतर्फ परम्परागत नेतृत्व परिवर्तनको सङ्केत गरेको छ ।

मुलुककै ठूलो पार्टी नेकपा एमालेको महाधिवेशन केही दिन पहिले सम्पन्न भयो । त्यसमा पार्टी संस्थापन पक्षले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको पाइएन । तत्कालीन अवस्थामा पनि पार्टी अध्यक्ष रहेका केपी शर्मा ओली पक्षले निर्वाचन प्रक्रियामा जाँदा मत दिनुपर्ने र मत दिनुनपर्ने भनेर दुईवटा नाम लिस्ट सार्वजनिक गरेको थियो । मत दिनुपर्ने पक्ष स्वीकार गर्नेलाई ओली पक्ष र स्वीकार नगर्नेलाई फुट परस्त माधव नेपाल पक्ष अर्थात् भीम रावल पक्ष मानिनेछ भनेर चेतावनी दिइयो । ओली पक्षधरकै धेरैजना आकाङ्क्षी चेतावनीपछि मन खुम्च्याएर बस्न बाध्य भए । निर्वाचन प्रक्रियामा गए पनि मतदाताले भयरहित, निर्धक्कसाथ मतदान गर्न नपाएको गुनासो बाहिरियो । जबसम्म पार्टी सङ्गठनभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुँदैन, तबसम्म पार्टी नेतृत्वमा निरङ्कुशता हाबी हुन्छ । नेतृत्वको निरङ्कुशताको असर जनस्तरसम्म पुगेमा पार्टीको अस्तित्व धरापमा पर्न सक्छ । यसर्थ कुनै पनि दलभित्र गुट र हनुमान प्रवृत्तिभन्दा पनि निष्पक्षता नै दल, राष्ट्र र जनहितकारी हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here