जेनेभा २९ मङ्सिर/ एएफपी
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने अनुमान गरेको छ। हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ। यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तीव्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुन सक्ने डब्ल्युएचओ प्रमुखले बताएका छन्।
डब्ल्युएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम ठानिएकोमा चिन्ता बढेको बताएका छन्। ओमिक्रोनको फैलावट यस अघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्युएचओ प्रमुखले पत्रकारहरूलाई बताएका छन्। ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्ने बताएका छन्। यस भेरियन्टसँग जुझ्न कैयौं देशले बुस्टर मात्रा शुरू गर्ने बताएको अवस्थामा मङ्गलवारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहो–याएका छन्। उनले बुस्टर डोजले कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भएपनि केलाई प्राथमिकता दिने भन्ने अहम् प्रश्न रहेको बताएका छन्।
यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो। यससँगै कैयौं देशहरूले दक्षिण अफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङ्क्रमण फैलन रोकिएको छैन।
अस्ट्रेलियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
सिड्नी/सिन्ह्वा
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मङ्गलवार सङ्क्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन्। प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रवार सिडनीमैं रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए। उनीसँगै देशभरि झन्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए।
प्रधानमन्त्री मोरिसनको कार्यालयले पनि उनलाई सङ्क्रमण भएको पुष्टि गरेको छ। कार्यालयले उनको सम्पर्कमा रहेकाहरूलाई पनि सतर्क रहन र कोरोना परीक्षण गर्न आह्वान गरेको छ। सिडनीलगायत अन्य शहरहरूमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्री पनि सङ्क्रमित भएका हुन्।
अस्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो। अघिल्लो दिन ८०४ नयाँ सङ्क्रमित थपिएका थिए।
अमेरिकामा कोभिड–१९ बाट आठ लाखजनाको मृत्यु
न्यूयोर्क/सिन्ह्वा
संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ। यहाँ यो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या मङ्गलवार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरूले पनि स्पष्ट गरेका छन्। मङ्गलवार यहाँ यो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ८ लाख २६६ पुगेको सो विश्वविद्यालयको तथ्याङ्कमा बताइएको छ।
यसरी अमेरिका यो सङ्क्रमणबाट सबैभन्दा बढी ज्यान जाने देशमा पर्दछ। विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका छ भने अमेरिकाभित्र भने क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित हो। क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य हो र यहाँका ७५ हजार ४५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पनि सो समाचारमा जनाइएको छ।
त्यसपछि सबैभन्दा बढी प्रभावित टेक्सासमा ७४ हजारभन्दा बढीको ज्यान गएको छ। त्यसपछि बढी प्रभावित राज्यमा फ्लोरिडा पर्दछ। यहाँका ६२ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। त्यसैगरी न्यूयोर्कमा भने ५८ हजारजनाभन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको छ। प्राप्त समाचारमा विश्वमा यस सङ्क्रमणबाट भएको मृत्युको १५ प्रतिशत अमेरिकामा मात्र रहेको बताइएको छ। त्यसैगरी, विश्वका सङ्क्रमितहरूको १८ प्रतिशत यहाँ रहेको पनि बताइएको छ।
त्यस्तै, हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५ करोडभन्दा पनि भन्दा बढी पुगेको सो तथ्याद्वमा जनाइएको छ। अमेरिकामा गएको करीब दुर्ई महीनायता कोभिड सङ्क्रमण घट्ने क्रममा रहेकोमा पछिल्ला दुर्ई हप्तामा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिन्छ। अमेरिकामा खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चीसो क्षेत्रमा सङ्क्रमित बढ्न थालेका यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।
अधिकारीहरूले अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको जनाएका छन्। नोभेम्बरको अन्त्यमा अस्पताल भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले बढेको बताइएको छ। अमेरिकामा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी सङ्क्रमणको प्रमुख कारण बनेको अधिकारीहरूले बताएका छन्। उता यहाँ नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम पनि जारी छ।
यहाँ पनि प्रत्येक दिन नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमितहरू थपिंदै गएका छन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यहाँ ९९ प्रतिशत डेल्टा भेरियन्टका कारण सङ्क्रमित छन्। रासस