– सञ्जय साह मित्र

अहिले समय आवासीय शिक्षा उन्मुख छ। यहाँ आवासीय शिक्षा भन्नाले चलनचल्तीको भाषामा बोर्डिङ शिक्षा भनेर बुझिन्छ तर सबै बोर्डिङ आवासीय हुँदैन। सोझो अर्थमा जहाँ बोर्डर्स हुन्छ, त्यो बोर्डिङ हो। जहाँ आवासीय सुविधा उपलब्ध हुन्छ, त्यो आवासीय विद्यालय हो। यहाँ आवासीय विद्यालयको कुरामात्र गरिएको हो। विद्यालय तहमा आवासीय सुविधा वर्तमान परिवेशमा कत्तिको उचित छ भन्ने विषयमा एउटा सामान्य बहस चलाउन खोजिएको हो। आवासीय विद्यालयले भोलिको कर्णधार कस्तो उत्पादन गरिरहेको छ भन्ने विषयमा थोरै भए पनि विचार पु–याउनु आवश्यक लागेको छ।

मैले धेरै राम्ररी चिनेका एकजना प्रतिष्ठित व्यक्तिका दुर्ई छोरा छन्। दुवै छोरा अहिले कक्षा बाह्र उत्तीर्ण गरेका छन्। उमेरले दुर्ई वर्षको फरक भए पनि एकजना अहिले भर्खर बाह्र कक्षा उत्तीर्ण गरेका छन् भने अर्का चाहिं गत वर्ष उत्तीर्ण गरेका हुन्। घरभन्दा टाढा होस्टलमा बसेर दुवै दाजुभाइले पढेका हुन्। पहिलो बुझाइमा विद्यालयलाई लागेजस्तो एक कक्षा तलमाथि गरेर भर्ना गरिएको थियो र अन्तिमसम्म दुर्ई वर्षको उमेरले फरक दाजुभाइ कक्षाको हिसाबले एक वर्षको फरक रहिरहे। दाजु चाहिंको एक वर्ष कुनै कामको रहेन। सानैदेखि दाजुभाइ घरबाहिर होस्टलमा बसेर पढाइ गरेकाले गाउँमा खासै कोही साथी छैन। जब दुवैजना कुनै चाडपर्वमा घर आउँछन् दुर्ई–तीन दिनमैं उनीहरूको मन भरिन्छ। चाहन्छन् होस्टल पुगिहालौं, घरमा फिटिक्कै बस्न चाहँदैनन्। कुनै चाडपर्वमा ढोग्नुबाहेक अरू कुनै रमाइलो मान्दैनन्। घरमा कुनै बेला पूजा हुँदा त्यसको मूल्य बुझेका छैनन्, अरूले के गरिरहेका छन्, त्यो पनि बुझ्ने मतलब राख्दैनन्। जब लकडाउन थियो, घरबाट बाहिर निस्कनु थिएन, उनीहरू घरबाटै निस्केनन्। अन्य सामान्य समयमा पनि उनीहरू घरबाट निस्कदैनन्, गाउँ डुल्दैनन्, साथीभाइसित खेल्दैनन् र खेतखरिहानतिर जाँदैनन्। यसको अर्थ यो होइन कि पढाइमा दाजुभाइ राम्रा छैनन्। पढाइमा राम्रा छन्। उच्च मध्यमस्तरका छन्। आमा शिक्षक र बुबा समाजसेवी भएकाले भन्दछन्–लगानीको तुलनामा प्रतिफल राम्रो आएन। दुवैजना अव्यक्तरूपमा भन्दछन्–सानैदेखि होस्टलमा राखेको कारण यिनीहरूको समाजीकरण हुन सकेको छैन।

यो एउटा उदाहरण मात्र हो। यस्ता अनेक उदाहरण पाउन सकिन्छ कि घरभन्दा टाढा रहेर बालबालिकाले अध्ययन गर्दा अध्ययन राम्रो भए पनि समाजीकरणमा समस्या हुने गर्दछ। आफ्नो समाज र संस्कृतिलाई खासै बुझ्दैनन्, बुझ्न पाउँदैनन्। समाज र संस्कृति बुझ्न नसकेको अवस्थामा पढाइ सकेर फेरि जब समाजमा फर्कन्छन्, तब समाजमा घुलमिल गर्न तथा सेवा गर्न निकै कठिन हुन्छ। यो कुनै काल्पनिक सिद्धान्त होइन, व्यवहारमा देखिएको सत्य र तथ्य पनि हो कि निरन्तर बाबु आमाबाट टाढा रहेका बालबालिकाहरूमा सामाजिक व्यवहारको निकै कमी हुन्छ। सामाजिक व्यवहारलाई देखावटीरूपमा बुझेका हुन्छन्। उदाहरणको लागि बाबु वा आमाबारे निकै राम्रो निबन्ध लेख्न सक्छन् तर बाबु वा आमाको सेवा गर्ने कुरामा धेरै पछाडि हुन्छन्। समाजको अन्य कार्य व्यापारमा पनि यही देखिएको छ।

एउटा अध्ययनले यो पनि देखाएको छ कि बाबुआमासित बसेर पढेका बालबालिका र होस्टलमा बसेर पढेका बालबालिकामा धेरै भिन्नता हुन्छ। यसको अध्ययन गर्नेहरूले के भन्ने गरेका छन् भने समावेशी समाजको लागि होस्टलले विभेद सिर्जना गरेको पाइएको छ। समावेशी समाज र समावेशी शिक्षाको लागि होस्टलरहित विद्यालय शिक्षा हुनुपर्दछ अर्थात् विद्यालय तहसम्म हरेक बालबालिकाले अनिवार्यरूपमा आफ्ना मातापिताका साथमा रहेर, घरबाटै विद्यालयको पढाइ गर्नुपर्दछ, जसले तिनमा सामाजिक गुणको विकास सम्भव हुन सकोस्। यस्ता बालबालिकामा व्यावहारिक ज्ञान धेरै हुन्छ। साथमा सिर्जनात्मक क्षमताको विकास पनि धेरै भएको हुन्छ। परिस्थिति बुझ्ने र परिस्थिति अनुसार काम गर्न सक्ने, विभिन्न परिवेशमा घुलमिल गर्न सक्ने किसिमको क्षमताको विकास समाजमा रहेर नै हुन्छ। घरबाट टाढा नौलो वा बिरानो ठाउँमा बसेर अत्यन्त अनुशासनमा दिनरात बसेर केवल एकोहोरिंदा बालमनोविज्ञान र त्यसको माध्यमले जीवनको एउटा क्षेत्र नै एकाङ्गी बन्ने डर हुन्छ र कतिपय अवस्थामा यस्तो भएको देखिन्छ पनि।

होस्टलमा बस्ने विद्यार्थीहरूको एउटा वर्ग हुन्छ। सामान्यतया जुनसुकै समाजको हुनेखाने वर्ग वा परिवारका बालबालिका नै होस्टलमा बसेर पढ्छन्। अझ विद्यालय तहको होस्टलको अध्ययन गर्ने हो भने छात्राभन्दा छात्रको सङ्ख्या कैयौं गुणन बढी होला। छात्राको सङ्ख्या अत्यन्त कम हुन सक्छ। अझ विभिन्न दृष्टिकोणले अपाङ्गता भएका बालबालिकाको सङ्ख्या यस्ता होस्टलमा कति प्रतिशत होला ? समाजका अन्य पक्षलाई यदि छाडेर यसरी एक वर्ग, एक लिङ्ग र लगभग एकै किसिमका साथीहरूसित निश्चित घेरामा र निश्चित नियम तथा परिधिमा निरन्तर बसिरहेका बालबालिकामा के कस्तो प्रभाव परेको होला भन्ने कुराको अनुमान लगाउन सकिन्छ। पढाइ राम्रो हुन्छ भन्ने कुरामा द्विविधा छैन र कतिपयले यो पनि भन्ने गरेका छन् कि पौराणिक कालदेखि नै शिक्षार्जनको लागि घरभन्दा टाढा आश्रममा राख्ने चलन थियो तर यस उदाहरणलाई एक पक्षीय रूपमा नलिएर यदि राम्ररी विचार गर्ने हो भने गुरुको आश्रममा रहने त्यतिखेरका शिष्यहरूले सबै काम आफैंले गर्नुपर्दथ्यो। राजाका छोरा भए पनि अन्य साथीहरूसित मिलेरै बस्नुपर्दथ्यो र आवश्यकता अनुसार आश्रमकका लागि मागेर पनि केही सामान ल्याउनु आवश्यक हुन्थ्यो। त्यहाँ भेदभाव होइन, मेलमिलाप सिकाइन्थ्यो तर होस्टलले समावेशी शिक्षा दिन नसकेको बुझाइको विस्तार हुन थालेको छ।

होस्टलको शिक्षामा राम्रो प्रभाव छ। शिक्षाको स्तर बढाउन होस्टलको भूमिका अस्वीकार गरिएको होइन। होस्टलले धेरै सहयोग पनि पु–याएको छ तर यहाँ विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको हकमा मात्र होस्टलको चर्चा गरिएको हो। बालबालिकालाई संरक्षणको अधिकार हुन्छ। आमा बुबाबाट माया पाउने अधिकार पनि हुन्छ। उसको समाजीकरणको पनि अधिकार हुनुपर्ने हो। जब होस्टलमा बालबालिका पुग्दछन् तब बिहान निर्धारित समयमा उठ्नुपर्ने र निर्धारित समयमा तोकिएको काम गर्नुपर्ने हुन्छ। मानिसको जीवनलाई हरेक दिन उही पटरीमा चल्ने रेलजस्तो बनाइदिन्छ। कुन बेला घन्टी बज्दा त्यसको अर्थ के बुझ्ने भन्ने हुन्छ। घन्टी नसुन्दा निद्रा पनि नखुल्ने, घन्टी नसुन्दा भोक पनि नलाग्ने र खेल खेल्न पनि जाँगर नफुर्ने किसिमको एकोहोरो हुने डर पनि हुन्छ। तोकिएको समयमा निर्धारित किसिमको भोजनबाहेक अन्य किसिमको आहारविहारमा फिटिक्कै रुचि हुन्न। पच्दैन पनि र यदि कुनै विशेष समारोहमा जान्छन् भने केही मन पर्दैन। केही पनि राम्रो लाग्दैन। अझ उसलाई सबैतिर झर्कोफर्को लाग्छ। उसलाई लाग्दछ कि उसलाई बुझ्ने कोही छैन वा उसको नजरमा सबैले गर्ने काम चित्तबुझ्दो हुँदैन। दुवैतिर चित्त दुःखाइ हुन्छ। पीडा हुन्छ। यससँगै देखिएको अर्को पक्ष पनि के छ भने होस्टलमा बसेका बालबालिकामा शारीरिक श्रम गर्ने बानी पनि कम भइसकेको हुन्छ। चाडपर्वमा एक दुर्ई दिनका लागि घर आएका बालबालिकामा शारीरिक श्रम गर्ने क्षमता बिलकुलै नहुन सक्छ किनभने होस्टलमा यस किसिमको शारीरिक काम गर्ने वा गराउने वातावरण हुँदैन। जबकि बालबालिका घरमा आमाबुबासित बसेर पढाइ गर्दा शारीरिक तथा मानसिक श्रम दुवै गर्नुपरेको हुन्छ वा कम्तीमा प्रत्यक्ष देखेका हुन्छन् र कपितय अवस्थामा सहयोग गर्नुपरेको हुन्छ।

समाज भन्नु सबै विविधताको सङ्गम हो। विविधताबीच बाँच्न सिकेको, हुर्केको तथा विविधतालाई नजीकबाट नियालेको, धेरै किसिमका कार्यमा संलग्न भएका बालबालिकाभन्दा सानैदेखि होस्टलमा बसेर पढाइ गरेका बालबालिकामा समावेशिता कम हुन्छ। समाजीकरण कम भेटिन्छ। यसले गर्दा सम्भव हुँदासम्म होस्टलमा राखेर बालबालिकालाई पढाउनुभन्दा आफ्नै घरमा आफैंसित राखेर विद्यालय तहको पढाइ पूरा गराउनु राम्रो हुन्छ भन्ने मान्यताको विकास भइरहेको छ। एक ठाउँमा त यो पनि भनिएको छ विश्वमा होस्टलरहित शिक्षा हुनुपर्दछ। फेरि पनि भन्दछु, यहाँ होस्टलरहित भन्नुको अर्थ आवासीय सुविधा हुनुहुँदैन भन्ने मात्र हो, संस्थागत विद्यालयको विरोध गरिएको होइन। विद्यालय तहभन्दा माथि यदि क्याम्पस तहमा आवासीय सुविधा हुन्छ भने धेरै राम्रो। यस उमेरका विद्यार्थीहरूमध्ये कतिपयले आफैंले काम गरेर पढ्न पनि जानिसकेका हुन्छन्, यसले गर्दा समाजीकरणमा सहयोग नै पुग्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here