• सञ्जय साह मित्र

आजभोलि भ्रष्टाचारको कुरा धेरै सुनिन्छ । जताततै भ्रष्टाचार भन्ने गरेको कुरो धेरैतिरबाट सुन्दा र अधिकांश क्षेत्रमा भ्रष्टाचारको सन्दर्भ केवल आर्थिक पक्षसित मात्र सम्बन्धित हुँदा आचरणसित पनि कतै जोडिएको हो भन्ने लाग्न थाल्दछ । यसो त भ्रष्ट आचार नै भ्रष्टाचार हो । यसले धेरै क्षेत्र समेट्छ, जसमा आर्थिक पक्ष पनि एक हो । आजको युगमा आर्थिक भ्रष्टाचारको पक्ष हाम्रो समाजमा निकै उठ्न थालेको छ जुन धेरै पहिले शायद अहिलेको जस्तो थिएन ।

पहिले त कसैले कसैलाई घोच्नेगरी बोल्यो भने भ्रष्ट मान्छे भन्ने गरिन्थ्यो । कुनै शाकाहारी मानिसले अनजानमा वा अन्य कुनै कारणले माछा, मासु वा अन्डा खायो भने उनले आफूलाई भ्रष्ट भएको महसूस गर्दछ । हाम्रो समाजमा भ्रष्टाचारको सन्दर्भ आफ्नो मूल धर्म वा कर्मबाट च्युत भएपछिको अवस्थालाई जनाउने परम्परागत मान्यता हो । पछिल्लो समयमा आर्थिक सन्दर्भ बढी जोडिएकोले यस प्रकारको मनोविज्ञान बन्दै गएको छ वा नयाँ पुस्तामा बनिसकेको छ कि भ्रष्टाचार आर्थिक पक्षसित मात्र सम्बन्धित हुन्छ ।

माथिको सन्दर्भमा आफूलाई आफैंले हीनताबोध वा हेपेर वा अपनानित गरेर भ्रष्ट भनेको होइन । तर यही कुरा यदि अरू कसैले त्यसरी भ्रष्ट भएको बताउने मानिसलाई भन्दछ भने त्यो आरोप हुन सक्छ वा नराम्रो लाग्न सक्छ । यहाँनेर नराम्रो लाग्नु वा अपमानित अनुभव गर्नु वा त्यसरी सङ्केत गरेको बोध हुनुले र आफैंले आफूलाई सात्विकरूपमा भ्रष्ट भन्नु फरक कुरा हो । हो, शब्दले पनि मानिसलाई सम्मान गरेको वा सम्मान नगरी हेपेको अनुभूति दिलाउँछ ।

शब्दको तहमा पुगेर धेरैले जान वा अन्जानमा यसरी अपमानित गरेको हुन सक्छ र कतिपयले नजानेर पनि शब्द प्रयोग गर्दा कसैलाई चोट लागेको हुन सक्छ । अझ चोट लागेको अभिव्यक्ति दिने सामथ्र्य भएका मानिस भए त आफ्नो प्रतिक्रिया जनाउन सक्छ तर मौखिक वा लिखित वा साङ्केतिक अभिव्यक्ति सामथ्र्य नभएका वा भए पनि तत्काल वातावरण नभएको अवस्थामा त्यस्ता मानिसले मनमनै गरेको विचार कस्तो होला ? यस परिस्थितिमा मानिस जतिसुुकै ठूलो वा असल भए पनि अभिव्यक्ति क्षमताको अभावमा परेका व्यक्तिले मनमनै नराम्रो वा अज्ञान मानिस ठानेको हुनुपर्छ ।

शिक्षा र चेतना बढ्दै जाँदा र सामाजिक–लोकतान्त्रिक संस्कारको वृद्धि हुँदै जाँदा अहिले पनि मानव समुदायमा मानवलाई हेप्ने किसिमका शब्दावलीको प्रयोग र प्रचलन हेपाहा प्रवृत्तिको अवशेषको रूपमा रहेको छ । अहिले के कुरा आइरहेको छ भने जब कुनै शब्दबाट कसैले आफूलाई हेपिएको अनुभूति गर्दछ भने त्यो हेपेको हो र कुनै शब्दले जब कसैलाई सम्मान गरेको महसूस हुन्छ भने त्यो हेपेको होइन ।

यस अर्थमा हरेक व्यक्तिको अनुभव वा अनुभूति फरक हुन सक्छ तर समूह वा समाजले भने मानेको बढी उचित हुन्छ । व्यक्तिको भावनाको सम्मान गर्नुपर्छ, तर सामूहिकता तथा सामाजिकता सर्वोपरि हुन्छ । यहाँ सामाजिकताको सन्दर्भ उस्तै प्रकृतिका मानिसको समूहलाई बुझ्दा पनि हुन्छ । उस्तै स्वभावका मानिसको एकभन्दा बढीको निष्कर्ष वा त्यस्ता मानिसको संस्था छ भने संस्थाको बोलीलाई आधार मान्दा हुन्छ ।

उदाहरणको लागि कुनै समयमा नेपाल अन्धा कल्याण सङ्घ थियो । अहिले अन्धा कल्याण भन्न पाइँदैन । केही समय दृष्टिविहीन शब्द पनि चल्यो र अब यसभन्दा फरक शब्दको प्रयोग हुन थालेको छ । तर समाजका कतिपय मानिस अझै पनि अन्हरा–अन्हरी, अन्धा आदि शब्द प्रयोग गरिरहेका छन् जुन सर्वथा अनुचित भइसक्यो । यसैगरी एउटा आँखा नदेख्नेलाई कानो, कनहा, कनही आदि शब्द प्रयोग गरेको सुनिन्छ जुन एउटा आँखा नदेख्नेका लागि अपमानजनक हो ।

अझ दुवै आँखामा दृष्टि भएका तर कुनै आँखा सानो वा आँखाको परेलामा कुनै समस्या आएर सानो देखिए वा आँखाको नानीको उमेरसँगै विकास भएको छैन भने त्यस्ता व्यक्तिलाई चोन्हा, चिम्से, डेढो, डेडो, डेढाजस्ता शब्दले सम्बोधन गर्ने गरेको पाइन्छ जुन सर्वथा अनुचित हो । व्यक्तिको नाम हुँदाहुँदै थोरै मात्र शारीरिक अपाङ्गता छ भने तिनलाई राम्रो लाग्दै नलाग्ने अनुचित शब्द प्रयोग गर्दा अपमान गरेको अनुभूति हुन्छ भन्ने कुरालाई समाजले बुझ्नै परेको छ ।

बढी बोल्ने मानिसलाई बोलक्कड शब्द प्रयोग गर्नु नराम्रो हो । वास्तवमा ऊ बहिर्मुखी व्यक्ति हो, जसले आफ्नो मनमा आएको कुरा बोलिदिन्छ । कम बोल्नेलाई घुसघुसे पनि भन्नुहुँदैन, ऊ अन्तर्मुखी हो । शरीरको उचाइ सामान्यभन्दा कम हुनासाथ बन्ठा, बौना, भुट्टा, नाटा, पुड्को, बामपुड्कोजस्ता अपमानजनक शब्दको प्रयोग हाम्रो पछौटे समाजले अझै प्रयोग गरिरहेकै छ, जुन सभ्य समाजलाई सुहाउने शब्द होइन ।

शारीरिक अपाङ्गता भन्दा पनि हुन्छ वा औसतभन्दा कम उचाइ भएका मानिस मानेर अन्य सम्मानजनक शब्द प्रयोग गर्दा पनि हुन्छ । यदि उचाइ अलिकति बढी छ भने लामखुट्टे, सिंढी, रहेठा, बाँस भनी सम्बोधन गर्दा मन दुःख्छ भन्ने कुरातर्फ अब त समाजको ध्यान जानै परेको छ । यसैगरी पेट बाहिर ननिस्कनेलाई पेटसुट्का तथा पेट बाहिर निस्कनेलाई पेटू, पेटमधवा, तमहा, घ्याम्पेजस्ता अपमानजनक शब्द प्रयोग गरिएको पाइन्छ । आजको विज्ञानले शरीर र उचाइको तुलनामा तौल हुनुपर्दछ भन्दछ तर तौल अलिकति कम छ भने पनसुट्का, ख्याउटे, मरन्च्यासेजस्ता हीनताबोध हुने शब्द प्रयोग गरेर बोलाउने गरेको सुनिन्छ जसलाई कुनै पनि कोणले उचित ठान्न सकिन्न, राम्रो मान्नै सकिन्न ।

यस प्रकृतिको शब्दावली उब्जिने मनलाई पनि सुधार गर्नुपर्छ । लङ्गडा, खोरन्डो, लुलो वा लुल्हा भन्नु पनि कदापि राम्रो होइन । मानसिक रोगीलाई बौलाहा, पागल भन्नु बिल्कुलै अनुचित हो भने श्रवणसम्बन्धी समस्या हुनेलाई बहिरो भन्नु, बोलाइसम्बन्धी समस्या हुनेलाई लाटो, लठेब्रो भनी बोलाउनु, हिंडाइसम्बन्धी अलिकति समस्या हुँदैमा खोल्टे भनी सम्बोधन गर्नु उनीहरूमाथि गरिने अन्याय हो ।

यस प्रकारका अभिव्यक्ति अब निन्दनीय मानिन्छ र यस प्रकारका समस्या भएका वा फरक क्षमता भएका मानिसलाई सम्मान गर्ने शब्दावली प्रयोग गर्नु सबैको लागि राम्रो मानिन्छ । सबैतिर एकै किसिमको शब्द प्रयोगमा ल्याउनुपर्छ भन्ने होइन । हुन सक्छ एउटा शब्द एक ठाउँमा सम्मान र अर्को ठाउँमा अपमान बुझिएला । हाम्रो समाजमा अपाङ्ग शब्द बढी प्रयोग हुन्छ भने भारतमा त्यस्तालाई दिव्यांश भनिन्छ, तर आजभोलि शारीरिक, बौद्धिक कम भएका व्यक्तिलाई अपाङ्गता भएका व्यक्ति भन्न थालिएको छ ।

लैङ्गिक, यौनिक अल्पसङ्ख्यकप्रति त हाम्रो समाज झन् कठोर छ । यस्ता मानिसको लागि प्रयोग गरिने शब्द हिंजडा, खोजा, खोजिन, मौगा आदिलाई कसरी उचित मान्ने ? पहिले तेस्रो लिङ्गी भनेर बोलाइयो पछि न्यायिक होइन भन्ने बुझियो । यसले कसैलाई पहिलो लिङ्गी र कसैलाई दोस्रो लिङ्गी पनि भनिएको वा मानिएको बोध हुन्छ । कसलाई पहिलो वा दोस्रो लिङ्गी भनिएको हो ? यी दुईपछि कसरी कोही तेस्रो लिङ्गी भयो ? यसको आधारभूत तार्किक जवाफ छैन । एक दृष्टिले पहिलो, दोस्रो र तेस्रो लिङ्गी सम्बोधन गर्दा मानवताको अपमान भएको देखिन्छ । सम्बोधनमा भ्रष्टाचार देखिनु वा मानिनु मानव समुदायकै लागि सुहाउँदो होइन ।

अबको समयमा हामीले हाम्रो बोलीलाई सम्मानजनक र लोकतान्त्रिक बनाउनु आवश्यक छ । समाजले प्रयोग गर्ने प्रत्येक शब्दबाट सबैलाई सम्मान अनुभूत हुनुपर्दछ । कम्तीमा कसैलाई नमीठो लागेको अनुभूति हुन दिनुहुँदैन किनभने कोही पनि चाहेर त्यस अनुरूप भएको होइन र हरेकले आफ्नो पहिचानले सम्मान पाउनुपर्दछ । पहिचानमैं सम्मान जोडेर हेर्ने हो भने सम्बोधन सम्मानजनक हुनुपर्दछ । हाम्रो लोकतान्त्रिक संस्कारलाई अझ बलियो बनाउन यो आवश्यक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here