प्रस, परवानीपुर, १७ मङ्सिर/
वीरगंजमा प्रदेश नं २ को प्रदेशस्तरीय मानवीय सहायता स्थलको उद्घाटन भएको छ । गृहसचिव टेकनारायण पाण्डेले वीरगंजको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)मा निर्माणाधीन सहायता स्थलको उद्घाटन गरेका हुन् ।
आइसिपीमा सहायता स्थलको उद्घाटन गर्दै गृहसचिव पाण्डेले भूकम्प, बाढी, पहिरो, चक्रवातलगायत विभिन्न दैवी विपद्बाट प्रभावितहरूको उद्धार तथा सहायताको लागि दातृ निकायको सहयोगमा निर्माण गरिएको सहायता स्थलमा विपद्मा काम गर्ने टीम नै स्थापना भएको बताए । उनले नेपाल सरकारको क्रियाशीलतामा ब्रिटिश सरकारको युकेएड तथा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को आर्थिक सहयोगमा नेपालमा सातवटा प्रदेशका सातवटा ठाउँमा र चारवटा घुम्ती मानवीय सहायता स्थल गरी जम्मा ११ वटा सहायता स्थल बनाउने सरकारको नीति रहेको जानकारी गराए ।
सहायता स्थलमा प्रदेश सरकारले समन्वय गर्ने र स्थानीय सुरक्ष्Fा अङ्गहरू मिलेर विपद्को समयमा विपद् व्यवस्थापन गर्ने सरकारको लक्ष्य छ । वीरगंजसँगै नेपालगंज, भैरहवा, पोखरा, धनगढी, जुम्ला, ते¥हथुम, बर्दियालगायत ठाउँमा सहायता स्थल निर्माण भइरहेका छन् । एउटा सहायता स्थलको निर्माण खर्च र आवश्यक सामग्रीको व्यवस्थापनमा करीब डेढ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।
गृह मन्त्रालय अन्तर्गत विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामकुमार महतो, युकेएड अन्तर्गतको एफसिडिओका प्रतिनिधि हेनरी डोनार्टी, डब्लुएफपीका नेपाल निर्देशक रोबर्ट कास्कालगायतले मन्तव्य व्यक्त गरेको डब्लुएफपीकी सञ्चारप्रमुख मोनिका उपाध्यायले जानकारी गराइन् ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल, वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्कालगायत बाराका सुरक्ष्Fा अधिकारी र नेपाली सेनाका पर्सा/बाराका गणपतिहरूको सहभागिता थियो ।