- सञ्जय साह मित्र
विश्वबाट बिस्तारै सबै किसिमको दासता उन्मूलन भइरहेको छ । शिक्षा र चेतनाको विस्तार सँगसँगै जब आर्थिक समृद्धि हुँदै जान्छ तब बिस्तारै दासताले पनि उन्मूलनको बाटो समात्छ । एक दिन दुनियाँ यस्तो हुनेछ जब जहाँ कुनै किसिमको दासता हुने छैन ।
नेपालमा चन्द्र शम्शेरले गरेका राम्रा कामहरूमध्ये दासता उन्मूलन पनि एक हो । कतिपयले के पनि भनेका छन् भने चन्द्र शम्शेरको समयमा दासप्रथा उन्मूलन भएको हो, दासता होइन । दासता अहिले पनि अनेक रूपमा कायम छ हाम्रो समाजमा । यसलाई पूरै अस्वीकार गर्न सकिन्न ।
दासप्रथा र दासता एउटै कुरो होइन तर दासता चाहिं दाससँग सम्बन्धित नै होइन भन्ने चाहिं होइन । दासता उन्मूलन र दासप्रथा उन्मूलनको कुरा एकैपटक आउन सक्छ । यो स्वाभाविक हो ।
पहिले–पहिले मानिसको खरीद–बिक्री हुन्थ्यो । त्यस युगलाई नै दासयुग पनि भनिन्छ । दास मानिस त हुन्थे, तर उसलाई मानवीय हक प्रदान गरिन्नथ्यो । मानिसले पाउने आधारभूत कुरा पाउनु पनि दासको मालिक कस्तो प्रकृतिको छ भन्नेमा निर्भर हुन्थ्यो । दासलाई पशुलाई जस्तै बजारमा किनबेच गरिन्थ्यो । जोसित धेरै दास हुन्थ्यो, ऊ त्यति नै धनी वा प्रतिष्ठित कहलाउँथ्यो । बिस्तारै दासयुगबाट समाज अगाडि बढ्दै गयो र विश्वमा दास राख्न नहुने कुराले बल प्राप्त गर्न थाल्यो ।
संसारका विभिन्न देशबाट दासप्रथा उन्मूलन भइरहेको थियो त्यही समयमा नेपालमा पनि उन्मूलन भएको हो । यद्यपि नेपालमा भने केही पछि भएको हो । दासप्रथा उन्मूलन गर्दा तत्कालीन धेरै दासका मालिकहरूले असन्तुष्टि जनाएका थिए । यद्यपि त्यसको अर्थ रहेन, दासप्रथा उन्मूलन कार्य सफल भयो ।
दासप्रथा औपचारिकरूपमा उन्मूलन भएको धेरै समयसम्म अनौपचारिक रूपमा दास राख्ने वा दास बस्नेहरू देखिएका थिए । मनोविज्ञान वा मन तथा मस्तिष्कले नै दास बनिसकेकाहरूलाई स्वतन्त्रता प्यारो नलाग्न सक्छ । कहाँ जाने, के खाने, कसरी बस्नेजस्ता व्यावहारिक समस्या पनि आउन सक्छ तर कालान्तरमा यी सबै समाधान नहुने होइन ।
यदि मानिसले आफूलाई स्वतन्त्र मान्दछ भने उसले आफ्नो स्वतन्त्रताको रक्षाको लागि केही उपाय पनि गर्दछ । जसरी मानिस बाँच्नका लागि केही गरिरहन्छ त्यसैगरी आफ्नो स्वतन्त्रतालाई जीवन मान्ने हो भने आफ्नो स्वतन्त्रताको रक्षाको लागि पनि उसले धेरै कुरो सोच्न सक्दछ वा धेरै उपाय अवलम्बन गर्न सक्दछ । यसै कारण दासप्रथा उन्मूलनको पक्षमा नरहेका केही दासहरूका सन्तान अहिले स्वतन्त्र छन् ।
देशमा दासप्रथा छैन । दासप्रथा नहुँदा पनि मनोवैज्ञानिक वा मानसिक दासता रहेको धेरैको भनाइ छ । समाजमा अझै पनि दासताका अवशेष रहेको धेरैको बुझाइ छ । मनोवैज्ञानिक वा मानसिक दासताबारे धेरै कुरा आइरहन्छ । यस प्रकारको कुरालाई कतिपयले केवल आरोप भन्छन् । एकअर्कालाई यसरी आरोप–प्रत्यारोप गर्नेहरूले कुनै राजनीतिक दल वा कुनै राजनैतिक दलका अमुक नेताको दास भन्ने गरेका छन् ।
सबैभन्दा सजिलो हुन्छ आरोप लगाउनु । आरोप लगाउन किन सजिलो हुन्छ भने यसको लागि कुनै ठोस आधार दिनुपर्दैन । आफ्नो असन्तुष्टि पोख्न आरोप लगाइदिए पुग्छ । यसरी दासता पनि एक किसिमको आरोप नै हुनुपर्छ र दासताको विस्तृत अर्थ बताउनहरूले दास समाजको सबै क्षेत्रमा दासता रहेको बताउँछन् । यसरी पनि भन्दछन् कि हरेक मानिस कुनै न कुनै रूपमा कुनै न कुनै किसिमले दासताको जीवन बाँचिरहेको छ । पूर्णतया स्वतन्त्र जीवन कसैको पनि हुन सक्दैन । दासताको अवशेष हरेक मानिसमा हुन्छ ।
कोही सङ्गीतको दास हुन्छ, कोही नृत्यको दास हुन्छ, कोही साहित्यको दास हुन्छ, कोही अखबारको दास हुन्छ, कोही पठनको दास हुन्छ । यसरी जो जुन क्षेत्रमा अति धेरै लाग्दछ, ऊ त्यही क्षेत्रको दास हुन्छ । कुनै पनि कुराको धेरै बानी हुनु वा छोड्न नसक्ने अवस्थामा पुग्नु दास हुनु हो रे । त्यस्ताका दृष्टिमा छोड्न सक्ने अवस्थामा नहुनु, आफूलाई कुनै क्षेत्रमा त्यसले हानि नै पु¥याइरहेको भए पनि हानि बुझ्न नसक्नु वा हानिलाई हानि नमानेर त्यसमा लागिरहनु पनि दासता हो । कर्तव्यको दास हुनु पनि दासता हो र जुनसुकै कामलाई पनि दासता देख्नु दृष्टिकोणगत दासता हो । कुनै पनि काममा दासता नदेख्नु पनि दृष्टिकोणगत दासता नै हो ।
एकजना नेताजी भन्दै थिए ः मेरो व्यक्तिगत जीवन पनि त होला नि १ जब म बिहान उठ्दछु तब केही मानिस आएर बसिरहेका हुन्छन् र दिनभरि कोही न कोहीसित व्यस्त रहनुपर्छ । यसरी व्यस्त रहँदा कहिले पार्टीको काम, कहिले सङ्गठनको काम त कहिले कुनै क्लब वा कुनै मानिसको काम गरिरहन्छु । अझ साँझ यदि घरमा छु भने अबेर रातिसम्म मानिसहरू आइरहन्छन् र सबैको कुरो सुन्नुपर्दछ ।
अझ कतिपय यस्ता पनि हुन्छन् जो यो भन्दछन् कि मेरो काम अहिले नै गरिदिनुस् । कतिपय अवस्थामा आफ्नो घरपरिवार, नाताकुटुम्ब र आफन्तसित टाढिनुपर्ने पनि हुन्छ । यस जीवनशैलीलाई जति गरे पनि कम गर्न सकिन्न । मलाई यसरी पनि कहिलेकाहीं लाग्दछ कि म समयको दास भइसकेको छु र समय नै मेरो दासता हो । कुनै बेला मनमा उब्जन्छ ः के यो दासता नै मेरो जीवन हो ? के एउटै सिद्धान्तमा अडिग रहिरहनु पनि दासता हो ?
दासले गर्ने भनेको काम हो । त्यसैले दासलाई कतिपयले कार्यकर्ता पनि भन्दछन् । दास यस्तो कार्यकर्ता हो जो केवल काम गर्दछ । अर्थात् जसले केवल कार्य गर्दछ, ऊ कार्यकर्ता हो भनी अथ्र्याउनेहरू के भन्छन् भने जसको नीति, सिद्धान्त र अन्य कुनै केही पनि आफ्नो निजी हुँदैन र जो केवल अरूका लागि वा अरूले अह्राएको भरमा कार्य गर्दछ, उही दास हो ।
कोही कसैले आफूलाई कुनै पार्टीको कार्यकर्ता बताउँछ भने उसो भए ऊ पार्टीको दास हो ? यदि कोही व्यक्तिले कुनै नेतालाई आदर्श मान्दछ र आफूलाई ती नेताको कार्यकर्ता भन्दछन् भने ऊ दास हो ? यस प्रकारले अथ्र्याइनुहुन्न । कार्य गर्ने कर्ता हुन्छ भनेझैं कसैको कार्य गर्ने कार्यकर्ता हुन्छ । आफ्नो कार्य गर्ने पनि कार्यकर्ता नै हुन्छ । कार्यकर्ता भन्ने बित्तिकै केवल कुनै दल वा व्यक्तिको मात्र काम गर्ने व्यक्ति हो भन्ने बुझाइको दायरा फराकिलो बनाउनु आवश्यक छ ।
यद्यपि कोही लोभका दास हुन्छन्, कोही मोहका दास हुन्छन्, कोही धनका दास हुन्छन्, कोही सबै कुरा हुँदाहुँदै पनि मनका दास हुन्छन् । यी र यस्ता दासलाई दास भनिनुहुन्न ।
आजको युगमा औपचारिकरूपमा दासप्रथाको अन्त्य भइसकेको छ । दासप्रथाको अन्त्य भइसकेको भए पनि दासताको अन्त्य भइसकेको छैन । अझै पनि केही यस्ता मानिस छन्, जो अर्काको गुलामी गर्छन् तर दासता स्वीकार गरेको पाइँदैन । यस प्रकार दासताको अनेक रूप हुन सक्छ । यी र यस्ता सबै किसिमका दासता वा दासत्व अन्त्य हुनुपर्दछ ।
दासताको सम्पूर्णतः अन्त्य नभएसम्म विश्वका मानवले आफूलाई सम्पूर्णरूपमा स्वतन्त्र भएको पाउने छैन । दासताको विषयमा अझै पनि धेरै कुरा बुझ्न बाँकी छ र दासता उन्मूलनको पक्षमा मानव समुदायले अझै धेरै कुरा गर्न बाँकी छ । दासता उन्मूलनको यात्रामा मानव समुदायले अझै धेरै लामो बाटो काट्न बाँकी छ ।