प्रस, परवानीपुर, २९ कात्तिक/
वीरगंजमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूबाट नगद कारोबार गर्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ । वीरगंजमा तीनवटा सरकारी र २४ वटा निजी बैंक गरी २७ वटा वाणिज्य बैंकका शाखा सञ्चालनमा छन् ।
एउटा बैंकको एउटा शाखाबाट दैनिक करीब ३–४ करोड नगद झिक्ने र डेढ करोडको हाराहारीमा जम्मा भइरहेको वीरगंज बैंकर्स एशोसिएशनले जनाएको छ । एशोसिएशनका एकजना पदाधिकारीका अनुसार कुनै कुनै ठूला बैंकको वीरगंजमा मात्रै तीनवटाभन्दा बढी शाखा सञ्चालनमा छन् ।
सरदरमा हिसाब निकाल्ने हो भने दैनिक एक अर्बभन्दा बढीको नगद कारोबार भइरहेको छ । एक अर्बमध्ये ५० प्रतिशत विभिन्न बैंककै खातामा जम्मा भइरहेका छन् भने ५० प्रतिशत रकम व्यक्तिगतरूपमा बजारमा गइरहेको छ । अर्थात् दैनिक ५० करोड रुपैया बजारमा पुगिरहेको छ । सेवाग्राहीहरूले पाएको रकम विशेषगरी घरजग्गा जोड्न तथा व्यवसाय तथा अन्य महसूल तिर्न खर्च गरिरहेको जनाइएको छ ।
यसअघि दशैं, तिहार र छठमा किनमेल तथा गरगहना खरीदमा धेरै रकम खर्च भइरहेको थियो ।
वीरगंजका एकजना बैंकर्सका अनुसार तिहारतिर दैनिक दुई अर्ब नगद झिकिन्थ्यो भने दैनिक ८० करोड मात्र जम्मा हुन्थ्यो भने अहिले त्यो क्रम घटेको छ ।
चाडपर्वमा नगद झिक्नेहरूको सङ्ख्या वृद्धि हुँदा अधिकांश बैंकको तिजोरी खालीसमेत भएको थियो । “चाडपर्वमा पैसा झिकेर खर्च गरी बाँकी रहेको पैसा फेरि बैंकमा जम्मा हुन थालेको छ,” वीरगंजमा सञ्चालित एक बैंकका प्रबन्धकले भने, “तर जुन अनुपातमा पैसा जम्मा हुनुपर्ने हो, त्यो भइरहेको छैन ।”
निक्षेपको तुलनामा नगद बढी झिकिंदा बैंकसँग पैसा अभाव भएर ऋण लिनेहरू खाली हात फर्किरहेका छन् ।