ओमप्रकाश चौधरी, सेढवा, १५ कात्तिक/
प्रत्येक वर्षझैं यस वर्ष पनि ठोरी गाउँपालिका–३ शिकारीवासका किसानहरू जङ्गली जनावारबाट धानबाली जोगाउन रातभरि जाग्राम बस्न शुरू गरेका छन् । शिकारीवासमा करीब एक सय चालीस बिघा जमीनमा सोना मन्सुली जातको अगहनी धान लगाइएको छ र जङ्गली जनावरबाट बचाउन स्थानीय किसानहरू आलोपालो रातभरि जाग्राम बस्ने गरेका छन् ।
ठोरी गापा–३ को नजीकको बस्ती ब्रह्मनगरदेखि शिकारीवास पाँच किलोमिटरको दूरी जङ्गलभित्र छ । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाँधमा रहेको शिकारीवासका किसानहरू अहिले दैनिकजसो जङ्गली जनावरहरूसँग बाली जोगाउन खेतमा मचान बनाएर जाग्राम बस्ने गरेको स्थानीय एक किसानले बताए ।
स्थानीय युवा राजेन्द्र चौधरीले अरूको जग्गा हुन्डी बटैयामा लिई खेती गरेको र जङ्गलबाट आउने हात्ती, चित्तल, हरिण, नीलगाईलगायतका जनावरहरूले बालीमा क्षति पु¥याउँदा समस्या हुने गरेको बताए । उनले क्षति भएको बेला जग्गाधनीलाई तिर्नुपर्ने भाडा पनि ऋण बन्दै गरेको बताए । जङ्गली जनावरबाट हुने क्षतिमा जग्गाधनी हिस्सेदार नबन्ने गरेको र त्यसको सबै दायित्व हुन्डी, बटैया लिनेले बेहोर्दै आएकाले जङ्गली जनावरबाट हुने क्षति रोक्नका लागि यहाँ धानखेती गर्नेहरूले अहिले राति जाग्राम बसेर जङ्गली जनावर धपाउँदै आएको बताए ।
किसानहरूले दैनिक निगरानी गर्दा पनि अहिलेसम्म ४० प्रतिशत धानबाली जङ्गली जनावरले नष्ट गरिसकेको उनले बताए । उनले बाँकी ६० प्रतिशतबाट आधा–आधा बटैयादार र जग्गाधनीको हुने बताए । उनले खेतीमा लाग्ने खर्च दिन प्रतिदिन बढ्दै गएको र पर्याप्त उत्पादन हुन नसक्दा यहाँका किसानको आर्थिक अवस्था बर्सेनि कमजोर बन्दै गएको चौधरीले बताए ।
किसानले खेतमा हात्तीसमेत पुग्न नसक्ने गरी मचान बनाएका छन् र साँझ हुनासाथ उनीहरू खाना खाई खेतमा लौरो, टिन लिएर मचानमा बस्ने गरेको किसान बिगा महतो थारूले बताए । जनावर खेतमा पस्नुअगावै टिन ठट्याउँदै होहल्ला गर्दा खेतबाट भाग्ने गरेको महतोले बताए । कहिलेकाहीं जनावर नभाग्ने गरेको र त्यस्तो बखतमा ज्यानको जोखिम बढी हुने गरेको उनले बताए ।
शिकारीवासमा अहिले अगहनी धान तयारी अवस्थामा छ र यसैबेला जङ्गली जनावरहरू निकुञ्जबाट खेतबारीमा आउने र क्षति गरेर जानेका गरेका छन् । शिकारीवासमा ५४ घरपरिवार छन् र उनीहरूको मुख्यबाली धान र गहुँ हो ।