राकेश यादव, रौतहट, ९ कात्तिक/
तीन तहको सरकार बने पनि बेमौसमी वर्षाबाट पीडित किसानलाई कसैले वास्ता नगरेको भन्दै किसानहरू आक्रोशित बन्न थालेका छन् । जतिसुकै तहको सरकार भएपनि किसानहरू पीडामा पर्दा बोलिदिने, उनीहरूलाई अल्पकालीन र दीर्घकालीन राहत एवं क्षतिपूर्तिको व्यवस्था नगरेकामा किसानहरूले आक्रोश व्यक्त गर्न थालेका छन् ।
रौतहटमा किसानहरू धान भिœयाउने क्रममा रहेका तर भर्खरै परेको वर्षाले धान डुबानमा परेको छ । काटेपछि धेरै दिन खेतमैं डुबेर रहेकाले धानमा टुसा उम्रिन थालेको छ । राम्रो धान उब्जाउ होला, वर्षभरि खाउँला अनि खाएर बचेको धानबाट घरखर्च चलाउँला भन्ने किसानहरूको आशामा तुषारापात भएको छ । वर्षापछिको यहाँको धानको अवस्था हेर्दा मान्छेलाई खान धान मात्र होइन, वस्तुलाई खुवाउन पराल पनि नआउने अवस्था छ ।
पानीमा डुबेका धान फेदैसहित कुहिन थालेको छ । किसानहरू खेतमा उम्रिएको धान हेरेर टोलाउँछन् अनि अब के खाने, घरखर्च कसरी धान्ने चिन्ता गर्छन् । किसानको सङ्कटमा सरकार भने तमाशा हेरेर बसेको भन्दै किसानहरूले सरकारको आलोचना गर्न थालेका छन् ।
“हामीलाई राहत दिने सरकार आफैं भागबन्डामा व्यस्त छ,” स्थानीय किसान भीमसेन केसीले आक्रोशित हुँदै भने, “यहाँ किसानको कसैलाई वास्ता छैन् । जे गरे पनि मर्ने त किसान नै हुन् ।” जेनतेन सुकाउँदै मिल्नेसम्म धानलाई थ्रेसर लगाएर झारिरहेका छन् किसानहरू । तर यसरी झारेको धान केवल चित्त बुझाउने बाटो मात्र भएको छ, उनीहरूको लागि ।
थे्रसर लगाएर झारिएको धान न खान मिल्छ, न बेच्न नै । लगानी पनि नउठ्ने भएपछि किसानहरू धान उत्पादन गर्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता गर्दैछन् । आफूहरू यस्तो पीडामा पर्दा सरकारले केही गरिदिए हुन्थ्यो भन्ने झिनो आशा भने उनीहरूलाई छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा केही मन्त्री लिएर लाखौं खर्च गरेर पीडित किसान भेट्न गएको भनिए पनि वास्तविक पीडित नभेटी फर्किए । सरकार किसानको पीडामा मलहम लगाउने भन्दा पनि भागबन्डामैं रमाइरहेको किसानहरूको आक्रोश छ । उनीहरू भन्छन्, “सरकारलाई त पुगेको छैन्, हामीलाई के देलान् ।”
वर्ष दिन खाने अन्न डुबेर नाश भएपछि के खाने भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ । यसरी दुःख गरेर वर्षभरि खाने अन्न जोहो गर्न लागेका किसानहरूको जीवनमा बेमौसमी वर्षाले वज्रपात गरिदिएको छ । वर्षभरि खाने अन्न डुबेपछि अब आफू के खाने र परिवारलाई के खुवाउने चिन्ताले चन्द्रपुर नपा–२ कि किसान दुर्गा देवीलाई सताउन लागेको प्रतिक्रिया दिइन् । उनको १५ कट्ठामा लगाएको धान भिœयाउन नपाउँदै डुबेर नाश भएको छ ।
यहाँका किसानहरूले धान पानीमा डुबिरहँदा कोही पनि जनप्रतिनिधि फर्केर पनि नआएकोमा चित्त दुखाएका छन् । भोट माग्ने बेला घरघर हात जोडेर आउने नेताहरू धान खेतमा उम्रिंदासम्म पनि फर्केर भेट्न नआएको किसानहरूको गुनासो छ । नेताहरूले खेतमैं आएर किसानको पीडामा मलहम लगाउनुपर्नेमा फेसबूकमा किसानको पीडामा दुःख व्यक्त गर्दछु, भन्दै लेखेर झारो टारेको उनीहरूको आरोप छ ।
किसानहरूलाई जहिल्यै राज्यले उपेक्षा गर्ने गरेको किसान तेजप्रसाद पाण्डेको आरोप छ । “रोप्ने बेला सिंचाइ छैन, रोपिसकेपछि मलखाद छैन,” उनको गुनासो थियो, “जेनतेन दुःख गरेर हुर्काएको बाली भिœयाउन पनि पाइएन ।” किसानको समस्यामा राज्य जहिले पनि कानमा तेल हालेर बसिरहेको उनले बताए ।
तीन तहको सरकारमध्ये सबैभन्दा नजीक रहेको स्थानीय सरकारले पनि किसानको पीडामा कुनै चासो नदेखाएको रौतहटका किसानहरूको गुनासो छ । गाउँ–गाउँमा सिंहदरबार भनेर चिनिने स्थानीय सरकारका जनप्रतिनिधिहरू क्षतिको अवलोकन गर्न पनि नआएको उनीहरूको भनाइ छ। अरूको भोक टार्ने किसानहरू आज आफैं भोकभोकै पर्ने अवस्थामा पुग्दा पनि सरकारले राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्नमा ढिलाइ गर्न नहुने किसानहरूको माग छ ।
सरकारले उनीहरूलाई केवल आश्वासन मात्र होइन देखिने गरी तत्काल राहत तथा क्षतिपूर्ति दिनुपर्ने अर्का किसान रणबहादुर अधिकारी बताउँछन् । आगामी दिनमा पनि आउन सक्ने यस्ता समस्याहरूको दीर्घकालीन समाधानको लागि तीनै तहका सरकारले योजना ल्याउनुपर्ने उनले बताए ।
कृषि ज्ञान केन्द्र रौतहटको अनुमानित तथ्याङ्क अनुसार जिल्लामा एक हजार १३० हेक्टर जमीनमा लगाएको धानबाली किसानले काटिसकेपछि पानीले नष्ट भएको छ भने एक हजार दुई हेक्टर जमीनमा लगाएको धान हावाहुरी र पानीले झारेर काट्न नपाउँदै कामै नलाग्ने अवस्थामा पु¥याएको छ ।
त्यसैगरी, नपसाएको आठ सय २५ हेक्टर जमीनमा लगाएको धान पनि पूर्ण नोक्सान भएको छ। जिल्लामा ३५ हजार पाँच सय ३५ हेक्टर जमीनमा यसपालि धानखेती गरिएको थियो । केन्द्रको तथ्याङ्क अनुसार कुल ८.१८ प्रतिशत जमीनमा लगाइएको धानमा नोक्सानी भएको छ ।