• श्रीमन्नारायण

शान्तिको निम्ति दुईजना पत्रकारलाई नोबेल सम्मान हासिल हुनु स्वागतयोग्य र अनुकरणीय कुरा हो । वर्तमान अवस्थामा जतिबेला अभिव्यक्तिमाथि सङ्कटको कालो बादल अलि बढी नै मडारिइरहेको छ, पत्रकारहरूलाई सम्मान दिनु साँच्चीकै पत्रकारिताकै सम्मान हो । फिलिपिन्सकी पत्रकार मारिया रसा र रूसका पत्रकार दिमित्री मुराटोभलाई २०२१ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको छ ।

पत्रकारिकताको निम्ति यो यस्तो सफलता हो, जसबाट मिडियाको समग्र गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ । मारिया रसा र दिमित्री मुराटोभलाई अभिव्यक्तिको स्वतन्त्रताको रक्षा र तिनका प्रयासको निम्ति यदि सम्मानित गरिंदैछ भने यसबाट विश्वमैं लोकतन्त्र र स्थायी शान्तिको निम्ति पनि ऊर्जा प्राप्त हुनेछ । जुन देशमा जति बढी प्रेस स्वतन्त्रला हुन्छ, त्यहाँको लोकतन्त्र त्यति नै बढी बलियो हुने गर्दछ ।

नोबेल समितिका अध्यक्ष बेरिट– रीड एन्डरसनले स्वतन्त्र र तथ्यमा आधारित पत्रकारिताले सत्ताको दुरुपयोग, झूट र युद्धको दुष्प्रचारबाट जोगाउने काम गर्दछ, भनेका छन् । उनको विचारमा अभिव्यक्तिको स्वतन्त्रता र प्रेस स्वतन्त्रताविना राष्ट्रहरूबीच सफल भ्रातृत्वपूर्ण सम्बन्ध विस्तार गर्न, निश्शस्त्रीकरण र सफल हुनको निम्ति एउटा राम्रो विश्व व्यवस्थालाई बढावा दिन कठिन हुन्छ । नोबेल पुरस्कारसँगै एउटा स्वर्ण पदक र एक करोड स्वीडिस क्रोनर (११.४ लाख डलर) भन्दा बढी रकम प्रदान गर्ने गरिन्छ ।

मारिया रसाले आफ्नो मूल देश फिलिपिन्समा सत्ताको दुरुपयोग, हिंसाको उपयोग र बढ्दो तानाशाही उजागर गर्न अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै आएकी छन् । उनले सन् २०१२ मा खोजी पत्रकारिताको निम्ति एउटा डिजिटल मिडिया कम्पनीमा सह संस्थापक बनेर आफ्नो देशमा विवादास्पद ड्रग कारोबारविरुद्ध अभियान चलाउन आफ्नो ध्यान केन्द्रित गरिन्, जसबाट हजारौं मानिसको ज्यान जोगाउन सफलता हासिल भयो । झूटो समाचारविरुद्ध पनि रसा मारियाले गरेको कामतिर विश्व जगत्को ध्यान जानु आवश्यक छ ।

अर्कोतिर रूसी पत्रकार दिमित्री आन्द्रेयेविच मुराटोभले नोवाटा गजेटा नामक सामाचारपत्र स्थापना गरेका थिए, जुन वर्तमान समयमा रूसको सबैभन्दा स्वतन्त्र समाचार माध्यम हो । नोबेल समितिले यसको निकै प्रशंसा गरेको छ । मुराटोभले आफ्नो देशमा तीव्र गतिमा बदलिंदो प्रतिकूल अवस्थामा पनि अभिव्यक्तिको स्वतन्त्रता जोगाइराख्न उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । उनको रूसी समाचारपत्रले भ्रष्टाचार, सत्ताको दुरुपयोग, चुनावी अनियमितता र षड्यन्त्र तथा ट्रोल अभियानमाथि प्रश्न उठाउँदै कारगर पत्रकारितालाई निष्कर्षसम्म पु¥याउने काम गरिरहे । खास कुरा त नोवाजा गजेटाका पत्रकारहरूले विभिन्न तरीकाले उत्पीडनको सामना पनि गर्नुप¥यो ।

धम्की तथा हिंसाको सामना त्यसका संवादाताहरूका निम्ति सामान्य विषय भइसकेको थियो । यस समाचारपत्रले सत्य सूचना सम्प्रेष्ण गर्ने पुनीत कार्यमा आफ्ना आधा दर्जन पत्रकार साथी पनि गुमाउनुप¥यो, जसमध्ये अन्ना पोलितकोबजसकाजा पनि सामेल छिन्, जसले चेचन्या युद्धलाई आफ्नो लेखनीमार्फत नङ्ग्याउने काम गरेकी थिइन् । नोबेल समितिले अखवारका सम्पादक मुराटोभलाई पुरस्कारको निम्ति छनोट गरेर निकै राम्रो काम गरेको छ, किनभने व्यापक दबाबका बावजूद उनले अखबारको स्वतन्त्र नीति परित्याग गर्ने विषयमा कुनै सम्झौता गरेनन् । आजको वर्तमान युगमा जति बेला विश्वमा अधूरो सूचना र झूटो समाचारको बाढी नै आएको छ । यस्तोमा वास्तविक टापूको पहिचान गर्नु आवश्यक भएको छ ।

असल पत्रकारिता शान्तिभन्दा कम हुँदैन । हाल जो व्यक्ति पत्रकारिताको उपयोग द्वेष र साम्प्रदायिकता बढाउन गरिरहेका छन्, तिनका निम्ति पनि यस नोबेल सम्मानमा विशेष सन्देश अन्तर्निहित छ । राम्रो विश्वको निम्ति इमानदार पत्रकारिता पनि चाहिन्छ । हाल हाम्रो पत्रकारितालाई रेखाङ्कित र सम्मानित गरिनु आवश्यक छ । नोबेल सम्मानबाट थप त्यस्ता नयाँ पत्रकारहरूको ऊर्जा वद्र्धन हुनेछ,जो साँचो र न्यायपूर्ण पत्रकारिताप्रति समर्पित छन् ।

समितिले पनि ठीकै भनेको छ कि स्वतन्त्र र तथ्य आधारित पत्रकारिताले सत्ताको दुरुपयोग, झूटो र युद्धको वातावरणबाट समेत बचाउन सहयोग गर्दछ । वर्तमान परिस्थितिमा आम नागरिकको यो कर्तव्य हुन जान्छ कि साँचो पत्रकारिताको पक्षमा डटेर उभिऊन् । पत्रकारिता सधैं जोखिमपूर्ण र चुनौतीले भरिएको हुन्छ । प्रायः पत्रकारहरूलाई कुनै पनि देशको शासन सत्तासित आमनासामना गरिरहनुपर्दछ । लोकतान्त्रिक देशहरूमा यस्तो अवस्था अपेक्षाकृत कम रहे पनि निर्दलीय शासन व्यवस्था अथवा तानाशाही मुलुकहरूमा त यस्तो चुनौती निकै बढी हुने गर्दछ ।

पत्रकारिकतालाई राज्यको चौथो अङ्ग मानिन्छ । राज्यको चौथो मानिएको कारण यसको भूमिका र दायित्व पनि महती नै हुन्छ । स्वतन्त्र, निष्पक्ष एवं मर्यादित पत्रकारिताले स्वस्थ जनमत निर्माण गर्दछ । स्वस्थ जनमतबाट नै सच्चा लोकतन्त्रको निर्माण हुने गर्दछ । पत्रकारिता भनेको राज्यको तीनवटै अङ्गबाट न्याय पाउन नसकिरहेकाहरूको पक्षमा खुलेर लेखिदिनु, बोलिदिनु, पढिदिनु र टेलिभिजनमार्फत प्रसारण गरिदिनु हो । स्वतन्त्र, निष्पक्ष एवं इमानदार पत्रकारिता सधैं जोखिमपूर्ण हुने गर्दछ । सत्य कुरा पचाउन प्रायः गाह्रो हुन्छ ।

तसर्थ पत्रकारहरू राज्यको विपक्षमा सधैं उभिरहने बाध्यता एकातिर हुन्छ भने अर्कोतिर समाजमा भय एवं त्रास उत्पन्न गरी मनपरीतन्त्र सञ्चालन गरिरहेकाहरूको समेत आक्रोशको शिकार भइरहनुपर्दछ । दक्षिण एशियाकै अफगानिस्तानमा अहिले धर्मान्ध तालिबानीहरूको सरकार अस्तित्वमा छ । तालिबानहरूबारे समाचार लेखेकै भरमा अनेकौं पत्रकारले ज्यान गुमाउने अवस्था उत्पन्न भएको देखियो ।

नेपालमा माओवादीको एक दशक लामो सशक्त सङ्घर्षका दौरान माओवादी र राज्यपक्षबाट पनि पत्रकार मारिएका थिए । माओवादीहरूको उत्पीडन बढी थियो । केही अघि मात्रै राजधानी काठमाडौंमा वरिष्ठ पत्रकार बलराम बानिया खोला किनारमा मृतावस्थामा फेला परेका थिए । यस घटनाको छानबीन जारी छ । लोकतान्त्रिक गणतन्त्रमा पत्रकारमाथि दबाब, धाक धम्की र उत्पीडनजस्ता घटनालाई निन्दनीय नै मान्नुपर्दछ ।

नेपालमा पत्रकारिता जगत्ले ठूलो फडको मारेको छ । सरकारी सञ्चार माध्यमका अत्तिरिक्त निजी क्षेत्रमा पनि अनेकौं दैनिक समाचारपत्र, टेलिभिजन चैनल र अनलाइन मिडियाहरू निकै सङ्ख्यामा सञ्चालनमा छन् । जनताले पनि मिडियालाई सहयोग गरिरहेको छ । नेपालको पत्रकारिताले पनि आफ्नो कर्तव्य एवं धर्मको इमानदारीपूर्वक निर्वाह गरे विश्वजगत्मा चर्चामा आउने छ । एक दिन कुनै नेपाली पत्रकारले पनि शान्तिको निम्ति नोबेल पुरस्कार पाउने अपेक्षा गर्न गरिन्छ ।

फिलिपिन्सका मारिया रसा, रूसका दिमित्री मुराटोभ बधाईका पात्र हुन् । आआफ्नो देशको शासन सत्ताको विरोध र समाजमा धन र बलको आधारमा वर्चस्व कायम गर्न खोज्नेहरूविरुद्ध अभियान चलाएर नै उनीहरू यस उच्च सम्मानको योग्य मानिएका छन् । त्याग, सर्मपण र इमानदारिताको पर्याय बनेका पत्रकारद्वयको सङ्घर्षगाथा अनुकरणीय र प्रशंसनीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here