सन्दर्भ प्रकाशोत्सव जन्म–जयन्ती
- जसपाल सिंह
गुरु रामदासजी सिक्ख पन्थका चौथो गुरु हुन् । श्री गुरु रामदासजी महाराजको जन्म कार्तिक वदी २, वि.सं. १५९१ (२४ सेप्टेम्बर १५३४) का दिन, लाहौर शहरमा चुनामण्डी इलाकामा भएको थियो । माता दयाकौर तथा पिता श्री हरिदासजी सोढी थिए । त्यस समय हिन्दुस्तानमा शेरशाह सूरीको राज्य थियो । रामदासजी सानै भएको बेला पिता हरिदासजीको भयो । यिनको बाल काँधमा घर परिवारको जिम्मेवारी आइलाग्यो । यिनको घरको नाम भाइ जेठा थियो । केही समय मामाघरमा बसी गोइन्दवाल गाउँ आए । त्यहाँ आजीविकाका लागि चना बेच्न थाले तथा बचेको बढीभन्दा बढी समय गुरुघरको सेवा गर्न थाले ।
एकपल्ट चना बेच्दा रामदासजी गुरुमहलको तलबाट जाँदै गर्दा तेस्रो गुरु श्री अमरदासजी महाराज पत्नी मनसा देवीजीसित बसेर छोरी भानीजीको विवाह बारे विचार विमर्श गर्दै थिए । माताजीले गुरु रामदास जीतिर इशारा गर्दै भनिन्– यस्तै युवक भए उपयुक्त हुनेछ । तब गुरु अमरदासजीले भने, यिनीसँगै विवाह गरिदिउँ । वि.सं. १६१३ मा भाइ जेठाजीको शुभविवाह बीबी भानीजीसित भयो । भानीजी पिता गुरु अमरदासजीको धेरै सेवा गर्थिन् । सद्गुरुजीले भाइ जेठा लाई ‘रामदासजी’ नाम दिएर गुरुगद्दी बकस दिए तथा यिनलाई श्रीगुरु रामदास सोढी पातशाह (गुरु साहेबानको मर्यादा उपाधि) बनाइदिए ।
तेस्रो गुरु अमरदासजी महाराजले सुल्तान विंड तथा तुंगग्रामका जमींदारहरूको जग्गा किनेर गुरु रामदासजीको हातबाट यस नगरको जग आषाढ ५ वि.सं. १६२६ मा राख्न लगाएर सबै जातिका मानिस बोलाएर बसाउने कार्य शुरू गरे । यस पवित्र नगरीमा हरेक साना–ठूला धनी–गरीबलाई सोढी पातशाहको तर्फबाट पूर्ण सत्कार दिइन्थ्यो । यस नगरको नाम रामदासपुर राखियो । यसैलाई रामदास चक्क पनि भनिन्थ्यो । वि.सं. १६३३ मा जब अकबर बादशाह दर्शन गर्न आए तब उसले तुंग एवं सुलतानविंड ग्रामको केही थप जग्गा चक्क गुरु रामदासजीको नाम गरिदिए, तथा कर–तिरो पनि मिन्हा गर्नेे पट्टा लेखिदिए । केही बहुमूल्य हीरा –जवाहरात पनि भेट गरे तथा माथा टेकेर गए ।
गुरु रामदासजी महाराजका तीन पुत्र पृथ्वी चन्द्रजी, महादेवजी तथा अर्जुन देवजी थिए । पृथ्वी चन्द्रजी टर्रो स्वभावका थिए, महादेवजी सदा भजनमा लीन रहन्थे । अर्जुनदेवजी आफ्ना पिता गुरु रामदासजीको साथमा सधैं सेवामा सहकार्य गर्दथे । गुरु रामदासजी महाराजले आफ्नो नगरी रामदासपुर (अमृतसरमा) सबै जातिका मानिस ल्याएर बसाएका थिए । वि. स. १६३८ मा अमृत सरोवरको सेवा शुरू भयो । पहिले यो एउटा सानो काँचो पोखरी थियो । गुरु रामदासजी महाराजले सरोवरको लागि यसै स्थानलाई छान्नु थियो, अमृतजल भएको कारण यसको नाम अमृतसर राखियो ।
एकपटक गुरु रामदासजी महाराज बारठ गाउँ गुरदासपुर जिल्लामा प्रथम सत्गुरु श्री नानकदेवजी महाराजका जेठा पुत्र बाबा श्री चन्द्रजी महाराज भएको स्थानमा पुगे उनलाई भने हामीले अमृतसर सरोवरको रचना गरेका छौं । तपाईं पनि कुनै बेला त्यहाँ पाल्नुस् तथा चक्क रामदासमा दर्शन दिनुस् । बाबाजी निम्तो पाएर अमृतसर आए । गुरुजीले धेरै आदर–सत्कार गरे । सूरज प्रकाश ग्रन्थमा (पन्थको मर्यादित तथा ऐतिहासिक ग्रन्थ) लेखेको छ कि उनको आपसमा अनेक प्रकारका वचन–विलास भयो ।
एकपल्ट गुरु रामदासजी महाराज लंगर सेवाको निरीक्षण गर्न आए । गुरुघरका सेवक भाइ हिन्दाल, जो लंगर (निश्शुल्क भोजन) को सेवा बडो श्रद्धा एवं प्रेमले गर्दथे, पीठो मुछिरहेका थिए। उनलाई आएको देखेर सत्कारसाथ उभिए र पीठोले लतपत हात पिठ्युँ पछाडि गरेर पाउमा नमन गरे । गुरु महाराजले एउटा सरोपा (शल कपडा तथा प्रसाद सम्मान तथा आशीर्वादको प्रतीक) बख्शीश दिए । जब भाइजीले उक्त कपडा शिरमा बेरे गुरु कृपाले भाइ हिन्दाललाई लोक परलोकको ज्ञान भयो ।
आदि ग्रन्थसाहेब श्री गुरुग्रन्थ साहेबमा गुरु रामदासजी महाराजद्वारा रचित जम्मा ६३८ शबद, २४६ पउडी, १३८ श्लोक, ३१ अष्टपदी तथा ८ वारां छन् । एकपल्ट बाबा आदमजी मालवाबाट पत्नीसहित गुरु दर्शनका लागि आए । केही समय गुरुघरमा सेवा गरे । एक दिन गुरुजी प्रसन्न भएर भने– गुरुघरका भण्डारहरू खुला छन् जे मनमा लाग्छ वरदान माग ।
बाबा आदमले भने– महाराज, हजूरले दिएको सबैथोक छ तर हामीलाई एउटा पुत्रको आशीष बकस होस् । गुरुजीले बाबा आदमलाई भने– तपाईंको कर्महरूमा पुत्र लेखेको छैन, तर तपाईंको सेवा–श्रद्धाले हामी धेरै खुशी छौं । यस कारण हामी कहाँ जुन चौथो पुत्र हुने थियो, सो पुत्र तपाईंलाई दिदैंछौं, उनी अब तपाईंको घरमा जन्मने छन् । उनको नाम भाइ भगतू राख्नू । यो सुनेर आदमजीले गुरुको पाउमा शिर निहुराएर नमन गरे र गुरुघरबाट खुशी हुँदै आफ्नो घर फर्के ।
एकपल्ट लाहौरदेखि कुनै नातेदार आएको बेला आफ्नो कान्छो सुपुत्र अर्जुनदेवजी लाई उनीसँग पठाइदिए तथा आदेश गरे हामीले बोलाएपछि मात्र फर्कनू । अर्जुनदेवजी गुरु रामदासजीबाट टाढिएको लगभग दुई वर्ष भयो, उनी निकै उदास रहन थाले किनकि उनको गुरुसाहेबसित अत्यधिक लगाव थियो । जेठा पुत्र पृथ्वीचन्द्रजी कडा स्वभावका थिए तथा महादेवजी आफ्नै रंगमा मस्त रहन्थे, अर्जुनदेवजी गुरुसाहेबजीका साथ गुरुघरको सेवामा सदा सहकार्य गर्दथे । यस कारण धेरै वैराग्यले भरिएर गुरु पितालाई पत्र लेखे ।
जब गुरुजीले अर्जुन देवजीको ह्रदयमा गुरुघरप्रति अपार लगन, श्रद्धा र प्रेम अनुभव गरे, तब उनलाई भाद्रपद, दूज १६३८ का दिन गुरुगद्दी प्रदान गरेर भाद्र सुदी तीजका दिन वि.सं. १६३८ मा ज्योति ज्योतमा समालीन भए ।
श्री गुरु रामदासजी ज्योतिलीन भए पश्चात् पञ्चम गुरु अर्जुन देवजीले एक सुन्दर नक्शाको अनुसार सचखण्ड श्री हरिमन्दिरसाहेबको रचना (सरोवरको) पोखरी एकदम बीचोबीच गरे । यसको जग प्रसिद्ध सूफी फकीर साईं मियाँ मीर द्वारा कार्तिक शुक्ल पञ्चमी, वि.सं. १६३५ मा राख्न लगाए । यसका चार द्वार चार वर्णलाई ध्यानमा राखेर बनाइयो । सुन्दर पुल तथा दर्शनी ड्योढी (मूलद्वार) सेवा कैयौं वर्ष चलिरह्यो । जहिले पनि कुनै यात्री दर्शन गर्न पुग्दथ्यो स्वस्फूर्त मुखबाट निस्कन्थ्यो–“डिठ्ठे सभे थाव नहीं तुध जेहिया” ।
अर्थात संसारको सबै तीर्थ स्थान देखें तर श्री हरिमन्दिरको शोभा सबभन्दा अलग छ । दर्शनी ड्योढी (मूलद्वार)को एकदम सन्मुख छैठौं पातशाह श्री हरिगोविन्दसाहेबजीले भक्तिका साथ शक्तिको मिश्रण गर्दै समयको चाल बुझेर श्री अकाल तख्तसाहेबको जग राखे, जहाँबाट धर्मयुद्धको लागि युद्ध लड्नेहरूका लागि अरदास (प्रार्थना) गरिन्थ्यो । जुन मर्यादा आजसम्म चलिआएको छ। यही स्थानमा छैठौं गुरु हरगोविन्दसाहेबले मीरी पीरीको दुई तलवार भिरेर अत्याचार तथा अत्याचारीको नाश गरे । उपरान्त महाराजा रणजीत सिंहको पालामा सचखण्ड स्वर्णमन्दिरसाहेब अमृतसरमा स्वर्ण सम्बन्धित सजावटको कामलाई पूर्णता दिइयो ।
अमृतसर, हरमन्दिरसाहेब, स्वर्ण मन्दिर पञ्जाब (भारत) संसारभरमा अद्भूत, फरक आकर्षक, आस्थाको दर्शनीय तथा श्रवणीय ऐतिहासिक एवं धार्मिकस्थल हो । यस पावन तथा पवित्र स्थलमा बाह्र महीना, चौबीसै घण्टा श्रृद्धालु, भक्तालु तथा पर्यटक, साधु सन्तहरूले भरिपूर्ण रहन्छ। गुरु साहेबहरूको इच्छा, चाहना तथा वरदान अनुसार यो विश्वको एउटा यस्तो आस्थाको थलो र केन्द्र बनेको छ, जसको वर्णन गर्ने शब्द नै छैन । भनिन्छ सरोवरको स्नानले कृपा, भक्ति र स्वास्थ्य मिल्छ, शरीर चङ्गा हुन्छ । त्यहाँको वातावरण र शबद–कीर्तनले आत्मा र मन दुवै चङ्गा हुन्छ । स्वर्ण मन्दिरसाहेब कहिले सुत्दैन ।
अमृत बेला हजुरको सवारी आएपछि, दरबार शुरू हुन्छ, त्यस पछि शबद–कीर्तन, पाठ, दर्शन भेट, आस्था भक्ति हरेक समय कडाह प्रसाद (हलुवा प्रसाद) शुद्ध घ्यूको चौबीसै घण्टा गुरुको लंगर, बस्नलाई सानादेखि आलीशान कोठाहरू, न्यूनतम शुल्कमा ठाउँ हेरेर (कहिलेकाहीं अग्रीम बुकिङ आवश्यक हुन्छ) पाइन्छ । राति हजुरको सवारी फिर्ती भए पनि चहलपहल रौनक मेला उस्तै सरसफाइ, दरबारभित्र सधैं मार्बलको पालिस, स्वच्छ जलले पखालिन्छ, सबै सुनका छत्रहरू तथा अन्य सुनका सामग्रीलाई टल्काइन्छ ।
नयाँ वस्त्र, ताजा फूल, अत्तरले सुगन्धित पारेर तयार गरिन्छ । गुरुद्धाराको शबद–कीर्तनलाई अति कर्णप्रिय मानिन्छ । आश्विन/कात्र्तिक महीना विशेष हुने गर्दछ । गुरु रामदासजी महाराजको जन्मोत्सव (प्रकाशोत्सव) तिथिको हिसाबले यसपालि २०७८ कात्तिक महीना (अक्टोबर २२ तारिख २०२१) ५ गते शुक्रवार परेको छ ।
सो उत्सव हप्तौं पहिलेदेखि व्यापकरूपमा मनाइन्छ । संसारको विभिन्न स्थानबाट लाखौंको सङ्ख्यामा श्रृद्धालुहरूको मेला लाग्ने गर्दछ । चहलपहल, रौनक, शबद कीर्तन, प्रवचन, धार्मिक गोष्ठी, स्नान, ध्यान तथा दिपावली, दियाबत्ती, मैन, बिजुलीको झलमल हुने गर्दछ । त्यो दृश्य हेर्ने लायक हुन्छ ।
गुरु रामदासजी महाराज उमालेको चना बेचेर जीविकोपार्जन गर्ने तथा गुरु घरको सेवाटहल गर्थे, आज त्यही पवित्र स्थलमा प्रतिदिन १ लाख भक्तजनले आशीष पाउँछन् लंगर पाउँछन् । धन्य धन्य श्री गुरु रामदास ज्यू महाराज !