मानिसको आवश्यकता जसैजसै बढ्दै जान्छ, त्यसको पूर्तिको सवाल जटिल हुँदै जान्छ । जुन व्यक्ति, परिवार, समाज वा राष्ट्रमा आवश्यकता धान्न सक्ने संसाधन छ, उसले गा¥होसा¥हो थेग्छ । तर जोसँग आवश्यक त के, सामान्य संसाधनसमेत छैन, उसले बढ्दो आवश्यकताको पूर्ति कसरी गर्ने ? यसको दुईवटा उपाय हुन सक्छ–एउटा, आवश्यकता बढ्नै नदिनेस दोस्रो, जसरी भए पनि आवश्यकता पूर्ति गर्ने । आवश्यकता बढ्न नदिनु साधु, सन्तहरूका लागि सम्भव होला । संसारी मानिसलाई त जसरी भए पनि आवश्यकता पूर्ति नै सर्वोपरि लाग्दछ । यो मानिसको स्वाभाविक गुण पनि हो कि ऊ यथास्थितिमा बाँच्न सक्दैन । उसलाई जीवनमा, जीवन–शैलीमा, चाहना–आकाङ्क्षा परिपूर्तिमा परिवर्तन चाहिन्छ नै । अनि ऊ जुनसुकै उपायको खोजीमा लाग्दछ । यो जुनसुकै उपाय भनेको आफ्नो सामथ्र्यभन्दा बढी काम गर्नु, चोरी, डाँकाजनी, तस्करी, रङ्गदारी, ठगी, घूसखोरी जे पनि हुन सक्छ । सामथ्र्यभन्दा बढी काम गर्ने मानिसले पाउने आफ्नो कमाइको केही अंश बढी मात्र हो । त्यसबाहेकका उपाय अवलम्बन गर्दा मालामाल हुन सकिन्छ । र आजको मानिस सामथ्र्यभन्दा बढी यस्तै कामतर्फ लहसिन्छ ।
यसै हप्ता जानकी टोला, दशौंतामा सशस्त्र प्रहरीले दुईजना बालकलाई लागू पदार्थ तस्करी गरिरहेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्ने बालकहरू कानूनी प्रावधान अन्तर्गतका बालकहरू हुन् । तिनको उमेर १६ र १८ वर्ष छ । हाम्रो पूर्वीय समाजमा प्राप्तेतु षोडसे वर्षे पुत्र मित्रमिवा चरेत् भनिएको छ । अर्थात् पुत्र १६ वर्षको भयो भने ऊसँग मित्रवत् व्यवहार गर्नुपर्छ । बालकले कुनै अपराध ग¥यो भने उसलाई सजाय हुँदैन वा थोरै हुन्छ, सरल हुन्छ । त्यसैले अहिले प्रायः बालकहरूलाई अपराध कर्ममा लगाउने मानसिकता वृद्धि हुँदै गएको छ । घर–परिवारले पनि सरल तरीकाले धन प्राप्त हुने र समातिएको अवस्थामा सजाय कम हुने स्वार्थजन्य सोचले आफ्ना नाबालिग सन्तानलाई यस्ता काममा लगाउने गरेका छन् । यसको शुरूआत महिलाहरूलाई यस्ता काममा लगाउनेबाट शुरू भएको हो । पञ्चायतको उत्तरार्धदेखि नै महिलाहरू तस्करीमा प्रयोग हुन थालेका थिए । महिलाप्रति समाजको सहानुभूतिशील दृष्टिकोणको लाभ उठाउन त्यस्तो गरिएको थियो । त्यो क्रम अहिले बालकहरूसम्म आइपुगेको छ ।
खराब प्रवृत्तिको कुनै सीमा हुँदैन । पूज्य नारी जातिलाई जब गलत कार्यमा प्रयोग गरिन्छ र समाजले त्यसलाई मान्यता दिंदै जान्छ, त्यसले विकृति नै फैलन्छ । शुरूमा समाजले सोच्दैन, पछि स्वयं विकृतिको शिकार बन्न पुग्छ । त्यो विकृति अब बालकहरूमा सार्न थालिएको छ । कानूनले १८ वर्षसम्मको व्यक्तिलाई बालक मानेर कानूनमा जुन छुट दिएको छ, त्यसको ध्येय उसलाई त्यस उमेरसम्म शिक्षामा संलग्न गराउनु थियो, अपराध गरोस् र उसको सजाय कम होस् भन्ने पटक्कै थिएन । तर आवश्यकताले गाँजिएको मानिसले कानूनकै उपयोग गरेर कानूनको खिल्ली उडाउन थाल्यो । राज्यले कानून बनाउने, त्यसको कार्यान्वयन गर्ने त हो, तर त्यो अवस्था नै आउन नदिनेतर्फ चनाखो हुनु राज्य वा समाजको प्रथम दायित्व हो । राज्य र समाज यही चुकेको छ, जसले गर्दा समाजमा विकृतिको अम्बार लाग्न थालेको छ ।