• राजेन्द्रप्रसाद कोइराला

२०१७ सालदेखिको दल विभाजनको सिलसिला २०४८ सालपछि भयावह देखिन थाल्यो । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा यसले विकराल रूप देखिन थाल्यो । चौहत्तरे र छत्तीसेको रडाँकोले बहुमतको सरकार विघटन गरेर देश मध्यावधि चुनावमा होमियो । त्यसपछि देशको सार्वभौमसत्ता कमजोर हुन थाल्यो । देशमा सुत्केरी–भत्ता, प्राडो होडबाजी, सांसद किनबेचको घिनलाग्दो खेल शुरू भयो । उता कम्युनिस्ट पार्टीमा पनि त्यही सिकोगरी वामदेव गौतमको नेतृत्वमा दल विभाजन भयो । त्यसपछि संसदीय प्रणाली नै यति बदनामा भयो कि शब्दमा बयान गर्न सकिंदैन ।

संसदीय प्रणालीको विकृत रूप र गिरिजाप्रसाद कोइरालाको अहङ्कार र कोइरालावादको हुँकारले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, दमननाथ ढुङ्गाना, लोकराज बराल, कृष्ण खनालजस्ता देशका धेरै होनहार नेता काङ्ग्रेस पार्टी नै छाड्न बाध्य भए । चैते काङ्ग्रेसीको बिगबिगी शुरू भयो। परिणामस्वरूप पीडित र शोषित जनताको मसिहाको रूपमा माओवादीको उदय भयो । देश १० वर्षको द्वन्द्वमा प्रवेश ग¥यो ।

०६२–६३ को दोस्रो जनान्दोलनपछि देशमा ठूलो राजनीतिक परिवर्तन त भयो, तर माओवादीहरू पनि संसदीय भासमा भासिन पुगे । त्यो दल, जसले देशबाट २४० वर्षको राजतन्त्र नेस्तनामुद गरी गणतन्त्र स्थापनाका लागि अनपेक्षित भूमिका खेल्यो, त्यस पार्टीको हालत आज देख्दा दया लागेर आउँछ । टुक्राटुक्रा भएको छ माओवादी पार्टी, प्रचण्डले मानसिक सन्तुलन गुमाउने हुन् कि भन्ने आशङ्का सिर्जना भएको छ ।

मधेसका मसिहा बनेका मधेसी दलको त्यही हालत छ । जनताले यी जाली फटाहाहरूलाई विश्वास गर्न छाडिसके । जनतामा ठूलो निराशा र वितृष्णाको बीजारोपण भएको छ । सङ्घीयताको नाममा प्रदेश र स्थानीय निकायको भ्रष्टाचारको दिनानुदिनको समाचारले यो व्यवस्थालाई नै बदनाम गरिसक्यो । पद र पोजिशनको हानाथापमा एक अर्कालाई धारेहात लगाई सुधारिएको भनिएको संसदीय प्रणाली त झन यति बदनाम भएको छ कि बयान गरी साध्य छैन ।

दुईतिहाईको ओली सरकारबाट जनतामा केही आशा र अपेक्षाको रक्तसञ्चार भएको थियो । त्यसमा पनि तुषारापात भयो । अन्तोत्वगत्वा प्रचण्डको षड्यन्त्र र ध्वंसको सिद्धान्तले एमालेलाई पनि फेरि फुटाइछाड्यो र देश झन् कमजोर भयो, जसले गर्दा देश अहिले विदेशीहरूको सिङौरी खेल्ने मैदान भएको छ । राजनीतिक दलको जति विभाजन हुन्छ, त्यति देशको सार्वभौमसत्ता कमजोर हुँदै जान्छ । दलको विभाजनले जनता पनि विभाजित हुन्छ । जब जनता विभाजित हुन्छ, देश गृहयुद्धको द्वन्द्वको दलदलमा फस्छ । यही मौकामा विदेशीहरू आफ्नो स्वार्थ पूरा गर्न दलहरूबीच फोड र राज गरको सिद्धान्त प्रयोग गर्छन् । एमसिसी त्यसैको परिणाम हो ।

झन्डै ७७ दिन पुग्न लागिसक्यो असक्षमको डाम लागेका शेरबहादुर देउवा ले अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । अध्यादेशमार्फत दलको २० प्रतिशत नेताहरूले दल विभाजन गर्न पाउने ऐन पासगरी अर्को कलङ्कको टीका शेरबहादुर देउवाले लगाइसके ।

दलका झोलेहरूले कहिले बुझ्लान् यो विकृति र विसङ्गतिको नाङ्गो रूप, अनि हामी तिनै नेता र मन्त्रीहरूको पिछ्लग्गु भएर आफूले ठूलो पौरख गरेको ठान्दछौं । २०४६ सालदेखि आजसम्म तिनै भोकाएका लुटेराहरूको अनुहार रातो पिरो भएको देख्नबाहेक के पायौं र हामी नेपाली जनताले ? माओवादी भनाउँदा जङ्गली पशुहरूले सोझासाझा जनतालाई भ्रम बेचेर कति झुक्याएछन् त १ १७००० जनताको रगतको होली खेलेर आज उनीहरूको विलासी जीवन देख्दा र त्यस्तालाई सर्वहFरा वर्गको मुक्तिदाता भन्दा लाज पनि लाज लाग्छ ।

अब केही दिनमा तपाईंले राम्ररी चिनेको एउटा झुर व्यक्ति मन्त्री बन्छ त्यसपछि तपाईंले जोगाइराखेको सारा भ्रम समाप्त हुन्छ । सामान्य पढाइ, राजनीतिक इतिहास नभएको, जग्गा दलाल वैदेशिक रोजगार–व्यवसाय गरेर पैसो कमाएको र त्यही पैसाको बलमा सांसद र मन्त्रीसमेत बनेको ज्यूँदो इतिहासको साक्षी बस्नुपर्नेछ । अझ तिनै मन्त्रीलाई मुख्य अतिथि बनाएको कार्यक्रममा तपाईं आफ्ना सडेगलेको अहम् लिएर उपस्थित हुनुहुनेछ, ताली बजाउनुहुनेछ, मञ्चमा आसन सेयर गर्नुहुनेछ र भाषणमा बातैपिच्छे ‘माननीय मन्त्रीज्यू’ सम्बोधन लगाई सम्मान व्यक्त गर्नुहुनेछ । प्रशंसाको पुल बाँध्नुहुनेछ र जिल्लामा विकासको मूल फुटेको सपना देख्नुहुनेछ । मन्त्रीसँग खिचाएको फोटो सगौरव सामाजिक सञ्जालमा सेयर गर्नुहुनेछ । त्यो बेला अनुभूति हुनेछ पतन हुन अब केही बाँकी छ ?

एउटा पागल नाङ्गै हिंडिरहेको थियो । उसको छेउमा अर्को पागल आयो । यसले कट्टु लगाएको थियोे । कट्टु लगाउनेले नाङ्गोलाई भन्यो–“हेर हेर, पागल, नाङ्गै हिंड्न लाज लाग्दैन ? ला, बरु मैं दिन्छु कट्टु । मैले त लगाइराकै छु, तँजस्तो नाङ्गो छैन ।”

आफूले लगाइरहेको कट्टु दिंदै भन्यो– “यो लगा, नाङ्गो नबस् । कम्तिमा म जस्तै कट्टु मात्रै भए नि लगा” । अहिलेको सरकार परिवर्तन पनि यस्तै हो ।

अध्यादेशमार्फत जुन हरकत शेर बहादुरले प्रस्तुत गरे त्यसले काङ्ग्रेसको भोलिको राजनीतिलाई पछिल्लोपटकको चुनावभन्दा अगाडि शेरबहादुरले सुशीला कार्की, नवराज सिलवाल र बिबिसीको उनको एउटा अन्तर्वार्ताले जसरी चुनावताका हरिबिजोग भएको थियो, त्योभन्दा कारुणिक स्थितिमा काङ्ग्रेस पुग्नेछ । दुईचार जान गगन, विश्वप्रकाश, र प्रदिप पौडेल उफ्रेर केही हुनेवाला छैन । शेरबहादुरले काङ्ग्रेसको विरासत नै नेस्तनामुद पार्ने भए । उता माओवादी को हालत झन् दयनीय हुनेछ । सजिलै अनुमान गर्न सकिन्छ, आउँदो चुनावमा जनताले प्रचण्डलाई कुनै हालतमा निर्वाचित गर्ने छैन । जनता अब सधैं मूर्ख बन्नेवाला छैन, धेरैको अवस्था पछिल्लो चुनावताका डा. शेखर कोइराला, महेश आचार्य, रमेश रिजाल जस्तो हुनेछ । यिनीहरू कहिल्यै सुध्रिनेवाला छैनन् ।

यसो विचार गर्दा, फेरि पनि आउँदो चुनावमा कहीं ओलीकै बोलवाला त हुने होइन १ जतिसुकै नकारात्मक कुरा गरे पनि आखिर उनले, लगभग साढे तीन वर्षको अवधिमा, १६ महीना त कोभिडले देश नै ठप्प थियो, काम त निकै गरेको तथ्याङ्कले भन्छ नि १ र यता हालको गठबन्धनको अक्षमताले जनताको सहानुभूति नाटकीय ढङ्गले ओलीतर्फ आकर्षित हुने सम्भावना धेरै देखिन्छ । अनि फेरि आपसी झगडा, स्वार्थ सिद्ध हुन नसकेमा फेरि माधव नेपाल र झलनाथजस्ता यदुवंशीहरूको जन्म । यो अनन्तकालको राजनीतिक प्रहसन कहिलेसम्म ?

अन्त्यमा जे जति हामीले दलहरूलाई सरापे वा राजनीतिलाई गाली गरे पनि, जबसम्म देशको राजनीति सग्लिंदैन देशले यो नियति भोगिरहनुपर्छ । राजनीति दलहरूमा चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here