प्रस, गरुडा, ९ असोज/
रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवास्थित पूनम शाह कन्या विद्यालयमा इतिहास सन्दर्भ, बज्जिका विमर्श तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।
बज्जिका भाषा विकास परिषद् नेपालद्वारा शनिवार आयोजित कार्यक्रममा बज्जिका भाषा, साहित्य र संस्कृति क्षेत्रमा कार्यरत रौतहट र बाराका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।
माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी देवी र पूर्व जिशिअ बालदेवप्रसाद साहको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा भाषा आयोग र सर्लाहीको रामनगर गाउँपालिकाद्वारा प्रकाशित बज्जिका भाषाको इतिहास पुस्तकबारे छलफल भएको थियो ।
कार्यक्रमका वक्ताहरूले बज्जिका भाषाको इतिहास आइसकेको, शब्दकोश निर्माणको काम अन्तिम चरणमा रहेको, कक्षा एक र दुईमा बज्जिका पाठ्यपुस्तक लागू भइसकेको, रेडियो तथा पत्रपत्रिकामा बज्जिका भाषा र साहित्यले पर्याप्त सम्मान पाउन थालेको चर्चा गर्दै आगामी दिनमा बज्जिका मातृभाषाबारे जनचेतना जगाउन सबै कस्सिएर लाग्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बज्जिका भाषा प्रचारप्रसार समिति रौतहटका संयोजक योगेन्द्रप्रसाद यादव, बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किसुनदयाल श्रीकृष्ण, नेपाल बज्जिका भाषा शिक्षक प्रतिष्ठानका अध्यक्ष सफिन्द्रप्रसाद यादव, बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव, बज्जिका भाषा विकास परिषद् नेपालका उपाध्यक्ष लालबाबू साह, गुजरामाई एफएम बंकुलका स्टेशन मैनेजर रामप्रवेश बैठा, पूर्व स्रोत व्यक्तिहरू बिन्दा सहनी, विन्देश्वरप्रसाद साह, विपिनबिहारी सिंह, तीन पालिकाका शिक्षा संयोजक रामजीराय यादव, प्रअहरू सुदामाराय यादव, राजेन्द्र साह, कमलेशप्रसाद अग्रहरि, रामाधार पासवान, नागेन्द्र महतो, उपेन्द्रप्रसाद जयसवाल, साहित्यकारहरू रामेश्वर मेहता, शेख चाँद अलि, रेणु गुप्ता, श्यामसहनी चन्द्रांशु, शिवचन्द्रप्रसाद साह, भोला पासवान, कानून व्यवसायी रमेश तिवारी, गौरीशङ्कर साह, जियालाल साह, सुबोधकुमार साहलगायतको सहभागिता थियो ।
राष्ट्रिय जनगणनालाई मध्यनजर गर्दै बारामा मातृभाषा जागरण ल्याउन खजानीमा रहेको माध्यमिक विद्यालयका प्रअ कमलेशप्रसाद अग्रहरिको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । महोत्तरी, सर्लाही, रौतहट तथा बारा जिल्लाबाट काठमाडौं उपत्यकामा बसोवास गर्नेहरूलाई पनि जनगणनामा मातृभाषाको विषयमा सचेत बनाउन राजेन्द्र साहको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ । यसैगरी, सर्लाही र रौतहटमा बज्जिका भाषाको क्षेत्रमा कार्यरत सक्रिय संस्थाहरूलाई जनगणनाको लागि थप सक्रिय बनाउने कुरामा पनि सहभागीहरूले जोड दिएका थिए ।