प्रस, ठोरी, १७ भदौ/

वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने ठोरी गापा –३, ब्रह्मानगर चोकबाट करीब ४ किलोमिटर उत्तर चितवन राष्ट्रिय निकुञ्जको घना गोरेटो बाटो पार गरेपछि पुग्न सकिन्छ, ठोरीको पुरानो गाउँँ शिकारीवास । चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गल भित्र रहेको र पर्सा राष्ट्रिय निकुञ्जको चारकोसे झाडीसँगै जोडिएको शिकारीवास गाउँँमा लामो समयदेखि बसोवास गर्दै आएका बमभोला चौधरीलाई साँझ ६ बजे खाना खाइसक्नुपर्छ ।

दिनभरि गोठालो र अन्य घरायसी काममा समय बिताउने चौधरी साँझ भने हतारिएर खाना खान्छन् र खेतमा सुत्न जान्छन् । वर्षभरि २–३ महीनाबाहेक अधिकांश रात उनी खेतमैं बिताउने गर्छन् । घरबाट अलि पर रहेको खेतमा लगाइएको धान बाली बढ्नेबित्तिकै शिकारीवासमा हात्तीले दुःख दिन शुरू गरिहाल्छ ।

यसपालि पनि धानबालीमा हात्तीले दुःख दिन शुरू गरेकोले एक महीना पहिलेदेखि नै उनी खेतमा बनाएको मचानमा रात बिताउन थालिसकेको उनका छोरा राजेन्द्र चौधरीले बताए । शिकारीवासको अधिकांश खेतमा अग्ला ससाना टहरा निर्माण गरिएका छन्, जसलाई यहाँका मानिस मचान भन्छन् ।

शिकारीवासकै रैथाने राम अवतार थारू पनि दिनभर गोठालो जाने र खेतको काममा व्यस्त हुन्छन् तर साँझ हुनेबित्तिकै हतारिएर खाना खान्छन् अनि खेतको मचानमा सुत्न लागिहाल्छन्। खेतमा नसुते धान बाली जोगाउन सकिन्न । मकैमा बँदेल र धानमा हात्तीले क्षति पु¥याउने भएकोले प्रायः सबै गाउँँले खेतमैं रात बिताउँछन् ।

चौधरी र थारूजस्तै यहाँका सबै किसान राति मचानमा सुतेर जनावरबाट बाली जोगाउँछन् । अग्लो मचानमा सुत्ने भएकाले रातको समयमा हात्ती आएको चाल पाउनेबित्तिकै मचानमा रहेका सबै गाउँँले एकैसाथ होहल्ला गरेर जङ्गली जनावर भगाउने गरेको शिकारीवासका युवा राजेन्द्र चौधरी बताउँछन् । उनका अनुसार यस वर्ष ८० बिघाभन्दा धेरै खेतमा धान लगाइएको छ । मङ्सिरमा पाक्ने धान हात्तीबाट जोगाउन सबै किसान साउदेखि नै खेतको मचानमा सुतेर रात काटिरहेका छन् ।

पानी परोस् वा शरीर सन्चो नहोस्, जस्तोसुकै समस्या परेपनि मचानमा सुत्न गएन भने एकैरातमा जङ्गली जनावरले बाली सखाप पार्ने चौधरीका बुवा बमभोला चौधरीले गुनासो गरे । उनी आफैं पनि करीब ३ वर्ष पहिले भालुको आक्रमणमा परेर घाइते भएकाले खुट्टा दुखेर मचानमा चढ्न र झर्न गा¥हो भएको दुःखेसो पोख्छन् ।

यस वर्ष पनि करीब २ साता अघिदेखि दिनहुुँ हात्ती धानबालीमा आउने गरेको छ । बाली पाक्ने बेला हात्तीले नोक्सान पु¥याई आफ्नो आजीविका नै खोसिने भएकोले रातभरि मचानमा कुर्ने र हात्ती आए जङ्गलतर्फ धपाउनुपर्ने शिकारीवासका किसानको दैनिकी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here