नेपालमा आजको दिनमा सग्लो नोट पाउन कठिन छ । छुन पनि घिनलाग्ने खालका नोटहरू बजारमा मात्र होइन, बैंकहरूमा पनि छ्यापछ्यापती पाइन्छ । बैंकहरूले भुक्तानी दिएको नोटको एउटा गड्डीमा दशवटा नोट मात्र पनि सग्लो भेटिंदैन । प्रायः सेलो टेपले टाँसेको, धुजाधुजा भएको, फोहर–मैलो, छुँदा पनि हातमा फोहर लाग्ने, सकसक लाग्ने, छोएपछि हातै धुनुपर्ने नोटहरू चलनमा रहेकोले अहिले नेपाली उपभोक्ताको हुनुसम्म दोहोलो भएको छ । शायद कोरोना महामारीले विदेशतिर जाने नेपालीको रहर शमन गरेकोले होला, यस्तो भएको ! अन्यथा राष्ट्र बैंकका कर्मचारीहरू त एकपटकमा ल्याउन सकिने छापिसकेको नोट कैयौंपटक विदेश यात्रा गरेर ल्याउँछन् । कि सरकारले नगद चलन निरुत्साहित पार्न, डिजिटल कारोबारलाई प्रोत्साहन दिन यस्तो गरेको हो ? वास्तविकता जे होस्, अहिले नेपालमा नोटको दुरवस्था हेर्ने जो कोहीले देशको आर्थिक अवस्था जर्जर भइसकेको लख काढ्न बेर लाउँदैन । कुनै पनि देशका लागि यस्ता झुत्रा नोट प्रचलनमा ल्याउनु लाजमर्दो कुरा हो । तर किन हो सरकार र नेपाल राष्ट्र बैंक लाज पचाएर बसेका छन् ।

कोरोनाको शुरूआती बेला निकै खबरहरू छापिन्थे, एकपटक प्रचलनमा आएको नोटमा पनि तीन हजार कीटाणुको वास हुन्छ । त्यसैले कोरोना महामारीको बेला सकभर पुराना नोटहरू चलनमा नल्याउनू । तर नेपालमा जुन प्रकारका झुत्रा नोटहरू अहिले चलनमा छन्, तिनमा त शायद लाखौं कीटाणुको वास हुनुपर्छ । के ठेकान त्यसैमध्ये केही कोरोनाका जीवाणु पनि होऊन् ! अहिले नेपाल राष्ट्र बैंकले झुत्रा नोट जलाएर त्यसको खरानीबाट ब्रिकेट बनाउने योजनासहित मेशीनहरू मगाएको समाचार आएको छ । यी मेशीनले झुत्रा नोट जलाउँदै लगत्तै ब्रिकेट उत्पादन गर्छ । आम का आम गुठली का दाम भनेजस्तै झुत्रा नोट तह लाग्ने र ब्रिकेटबाट राष्ट्र बैंकलाई अतिरिक्त आमदानी पनि हुने । तर कुरा त त्यहीं अड्केको छ । पुराना नोट जलाएपछि नयाँ नोट कहाँबाट ल्याउने ? किनकि कोरोनाको राप र ताप त अझ पनि कायम छ । विदेश उडान सीमित छ । नेपाल सरकार आफैं नोट छाप्ने मेशीन (छापाखाना) लगाउन चाहँदैन । एकपटक उच्चस्तरको छापाखाना स्थापित गर्ने कोशिश गर्दा एकजना मन्त्री करोडौं कमिशन खाने लोभले पद नै गुमाउन पुगेका थिए ।

यहाँ त देश र जनताको हित होइन, व्यक्तिको हित नहुन्जेल कुनै काम गर्ने चलन नै छैन । लाभ नहुने काम किन गर्ने भन्ने मनोग्रन्थि उपल्लो तहमा व्याप्त छ । यस्तोमा कसैले भुँडी फुटुन्जेल कमिशन हसुर्न पाए न मेशीन जडान होस् ! मेशीन जडान भयो भने राष्ट्र बैंकका कर्मचारीहरूले विदेश यात्राको अवसर गुमाउँछन् । त्यसैले निकट भविष्यमा नेपालले आफ्नै मेशीन जडान गरी नोट छाप्ला र नयाँ नोट पाइएला भन्ने आशा रद्द भए सरह छ । नयाँ नोटको विकल्प डिजिटल कारोबार हुन सक्दछ, तर वीरगंजजस्तो शहरमा त गिनेचुनेका पसलहरूमा यस्तो प्रावधान छ भने गाउँ–देहातको अवस्था के होला ? फेरि नेपाली जनता डिजिटल –मैत्री पनि छैन । नेपाल राष्ट्र बैंकले सग्लो–नयाँ नोट प्रायः दशैंमा वितरण गर्दछ । बितेको दशैंमा नयाँ नोट वितरण भएन, त्यसैले यो अवस्था आएको हो भने अरू बेला पनि नयाँ नोट निष्कासन गर्दा लक्ष्मी महारानी रिसाइहाल्ने त पक्कै होइनन् । झुत्रा नोटले देशको इज्जत मेट भइरहेको छ । देशकै इज्जतका लागि भए पनि बजारमा नयाँ आओस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here