लामो समयपछि नेपाली काङ्ग्रेसमा यस पालिको अधिवेशनमा दलीय प्रवाहमा सहजता ल्याउने कोशिश भइरहेको देखिएको छ । एउटै छतमुनि, एउटै परिवारको वर्चस्व रहेको नेपाली काङ्ग्रेसमा पछिल्लोपटक शेरबहादुर देउवाले नकबजनी गरेका थिए । त्यसै परम्परालाई अब विमलेन्द्र निधि र गगन थापाले निरन्तरता दिन खोजेका छन् । पार्टीका विमलेन्द्र निधि महासचिव र देउवाका खास व्यक्ति भएकाले भोलि सभापति पदको दावेदारीमा रैथाने परिवारबाट कुनै खिचलो उत्पन्न हुँदा समर्थनमा बसिदिने रणनीति होइन भने विमलेन्द्र तथा गगन थापाको उम्मेदवारी घोषणाले पार्टीभित्र तरङ्ग ल्याएको छ । आरम्भदेखि नै सहज प्रवाहको अभाव झेलिरहेको नेपाली काङ्ग्रेस मुहान र निकास थुनिएको ताल बनेको थियो । जाडोमा कक्रिएर बसेको गरीबको शरीरमा कहिलेकहिले भित्रबाट उष्माको एउटा प्राकृतिक लहर उठ्छ र एकछिनको लागि ऊ तङ्ग्रिन्छ । अहिले नेपाली काङ्ग्रेसमा त्यस्तै लहर अनुभूत भइरहेको छ । निश्चय नै नेतृत्व परिवर्तनले कुनै पनि पार्टीलाई पुनर्जीवन दिन्छ । यो अलग कुरा हो, उम्मेदवारहरू को हार्छ, को जित्छ भन्ने कुराले धेरै महŒव राख्छ, तर परिवर्तनको चाहना नै नगर्दा यथास्थिति टुट्न पनि त सक्दैन ।

कुनै पनि पार्टी ठूलो हुनु, पुरानो हुनुको अर्थ हो त्यसमा सिद्धान्तनिष्ठहरूको दबदबा । नेपाली काङ्ग्रेसमा धेरै मानिस छन् जसलाई राजनीतिक श्रेय प्राप्त हुनुपर्छ, जसलाई आफ्नो योग्यता र सोचबाट पार्टीमा सार्थक परिवर्तन ल्याउने जिम्मा दिनुपर्छ । तर सबै राजनीतिक गुण भएर पनि नेपाली काङ्ग्रेसमा प्रवाहमयताको कमी भयो । नेतृत्व तहले पछिल्लो पुस्तालाई सदा थाङ्नामा सुताउने प्रयास मात्र गरिरह्यो । एउटा बालकलाई किशोर हुनै दिएन, युवा बन्ने सपना त परको कुरा । किन हो कुन्नि राजनीतिक चेतको अपार स्रोत भएर पनि पार्टीका कार्यकर्ताहरू दास मनोवृत्तिमा जेलिए र नेताहरू सामन्त बने । राणा र राजाहरूको सिको गर्दै पारिवारिक, एउटै व्यक्तिको वर्चस्व धारण गर्ने सामन्तवादी परिवारजस्तै । हिजो कोइराला परिवार नै काङ्ग्रेस थियो, काङ्ग्रेस नै कोइराला परिवार थियो ।

आज देउवा पनि त्यही बाटोमा हिंडिरहेका छन् । सकेसम्म उनले त्यही परम्परा अवलम्बन गर्नेछन् । निश्चय नै उनी पनि सभापति पदका आकाङ्क्षी बन्नेछन् । नेपाली काङ्ग्रेसको अर्को पक्ष्Fबाट पनि त्यस्तै मनोवृत्तिलाई निरन्तरता दिइने छ । पार्टी नेतृत्वको परिवर्तनमा कसैको आग्रह छैन, खासगरी शीर्ष तहमा । यस मनोवृत्तिलाई विमलेन्द्र र गगनले चुनौती दिएका छन् । नेतृत्व आफ्नै मुठ्ठीमा राख्ने पुरानियाहरूको सबै रणनीति छिचोल्दै नेपाली काङ्ग्रेसमा नेतृत्व परिवर्तन हुन सक्यो, दोस्रो पुस्ताले आफ्नो ठाउँ बनाउन सक्यो भने पार्टीको भलो त हुने नै छ, देश र नेपाली जनताको पनि कल्याण हुनेछ । देशले अङ्गीकार गरेको बहुदलीय व्यवस्थाको मर्म राजनीतिक दलहरूको बगाल बढ्नु होइन । प्रचलित राजनीतिक सिद्धान्तको आधारमा दलहरूको अस्तित्व कायम रहनु हो । नेपाली काङ्ग्रेस, खिया लागेर कमजोर भएकोले नै अन्य प्रतिस्पर्धी दलहरूमा एका छैन । बलियोसँग लड्न पो आफू पनि बलियो हुनुपर्छ । काङ्ग्रेसको बूढो नेतृत्वले गर्दा पार्टी कमजोर भएर प्रतिस्पर्धी दलहरूलाई बलियो नहुँदा पनि काम चलेकै छ। त्यसैले नेपालको राजनीति जहिले पनि सिद्धान्तभन्दा व्यक्तिको अहम्को शिकार बन्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here