प्रस, परवानीपुर, २६ साउन/
वीरगंजको सुक्खा बन्दरगाह भन्सार नाकाबाट करीब पौने ५ अर्ब रुपैयाँको केराउ, सुपारी, मरिच छोहरा नेपाल भित्रिएको छ ।
गत आव २०७७/७८ मा रु ४ अर्ब ७७ करोड ६४ लाख ५ हजारको केराउ, मरिच, सुपारी र छोहरा भित्रिएको हो । मूल्यको आधारमा अघिल्लो आव २०७६/७७ भन्दा ३ गुणा कम मूल्यका सामान भित्रिएको देखिएको छ । अघिल्लो आवमा करीब १६ अर्ब रुपैयाँको यी चार वस्तु भित्रिएका थिए ।
सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी चूडामणि शर्मा कट्टेलका अनुसार गत आव २०७७/७८ को ११ महीनामा जम्मा सवा दुर्ई अर्ब रुपैयाँको सामान भित्रिएको थियो भने असार मसान्तमैं मात्र सरकारले कोटा वितरण गरेको सामान भित्रिंदा करीब अढाई अर्ब रुपैयाँको सामान भित्रिएको थियो । उनले गत आवको १२ महीनामा ४ अर्ब ४७ करोड ९० लाख ४ हजार मूल्यबराबरको ७ करोड ९४ लाख ४९ हजार ४९४ किलो केराउ आयात भएको छ । केराउमा भन्सार महसूल मात्र १० प्रतिशत छ ।
त्यसैगरी, १९ करोड ३० लाख ६ हजार मूल्यबराबरको १४ लाख ७२ हजार ८ सय किलो गत आवमा सुपारी सुक्खा बन्दरगाह नाकाबाट भित्रिएको तथ्याङ्क छ । सुपारीमा प्रतिकिलो रु ४५ भन्सार, साढे ८ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।
त्यसैगरी, सोही अवधिमा यो नाकाबाट ६ करोड ३२ लाख ३४ हजार मूल्यबराबरको ७ लाख ४८ हजार ८ सय २५ किलो छोहरा भित्रिएको छ । छोहरामा १० प्रतिशत भन्सार, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूअक लाग्छ । त्यसैगरी, ७ करोड २२ लाख ६१ हजार मूल्यबराबरको १ लाख ६७ हजार किलो मरिच भित्रिएको छ । मरिच आयातमा २० प्रतिशत भन्सार र १३ प्रतिशत मूअक लाग्छ ।
यी सबै सामान अघिल्लो आव २०७६/७७ भन्दा ३ गुणाले कम आयात भएको छ । यसको कारण सरकारले हरेक वर्ष अस्वाभाविकरूपमा आयात गरी तस्करी गर्नतर्फ सक्रिय देखिएपछि भन्सार दरबन्दी बढाउँदै गएको छ ।
शुरूमा पछिल्लो दुई वर्षअघि विदेशबाट मरिच आयात गरी भारत तस्करी हुन्थ्यो भने त्यसमा सरकारले भन्सार बढाउँदै लगेर २० प्रतिशतमा पु¥याएको छ । जसले गर्दा अघिल्लो आवभन्दा करीब रु १ करोड कमको मरिच आयात भएको थियो भने सुपारीको आयात पनि अघिल्लो आवभन्दा रु २८ करोडले कम आयात भएको थियो । अघिल्लो वर्षमा रु ४७ करोडको सुपारी आयात भएको थियो भने गत आवमा रु १९ करोडको सुपारी आयात भएको थियो ।
त्यसैगरी, सबैभन्दा बढी कम गिरावट आउने वस्तु हुन्, केराउ र छोहरा । अघिल्लो वर्ष १४ अर्ब ३१ करोड ६ लाख १५ हजार मूल्यबराबरको केराउ आएको थियो भने गत वर्ष करीब साढे ४ अर्ब रुपैयाँको केराउ आयात भएको थियो ।
गत आवमा केराउमा भन्सार दर ८ प्रतिशतबाट बढेर १० प्रतिशत भएपछि आयात घटेको हो ।
त्यसैगरी, अघिल्लो वर्ष रु १ अर्ब १९ करोड १३ लाख ११ हजारको छोहरा आयात भएको थियो भने गत वर्ष करीब रु ६ करोड ३२ लाखको छोहरा भित्रिएको थियो । आँकडाले छोहराको तस्करीमा पनि सरकार लगाम लगाउन सफल भएको छ ।
अघिल्लो वर्ष सरकारले यी चार वस्तुबाट रु २ अर्ब ५ करोड ५७ लाख ९४ हजार राजस्व सङ्कलन गरेको थियो भने गत वर्ष जम्मा रु ५९ करोड ७६ लाख राजस्व सङ्कलन गरेको थियो । झन्डै १ अर्ब ४० करोड कम राजस्व सङ्कलन भएको थियो ।
सरकारले २०७६ चैत २४ मा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । कोटा तोकेर आयात खुला गर्दा आयातकर्ता हौसिएका थिए । सरकारले गत आवको लागि केराउको आयात कोटा ८० हजार टन मात्रै तोकेको थियो । तर माग भने १४ लाख ७१ हजार ३३ टनको थियो ।
आयात परिमाण २५ हजार टन तोकिएको सुपारीको लागि करीब ५ लाख टनको निवेदन परेको थियो । व्यवसायीले तेस्रो मुलुकबाट आयात गरी भारत निर्यात गर्ने भएकाले केराउ आयातको परिमाण नेपालमा उच्च हुने गरेको छ । छोहरा पाकिस्तान र अरब मुलुकबाट ल्याइन्छ । श्रीलङ्काबाट आयात हुने मरिच भारत पुग्छ ।
सरकारले केराउ, सुपारी, मरिच र छोहराको आयात अस्वाभाविक भएको भन्दै चालू आवको करीब ९ महीना परिमाणात्मक बन्देज लगाएर यी चार वस्तुको आयात रोकेको थियो । तर गत चैत २५ गते सरकारले केही व्यवसायीलाई आयातको कोटा दिएको थियो ।
औपचारिकरूपमा निवेदन मागेर कोटा वितरण गोप्यरूपमा गरेपछि सरकारको आलोचना पनि भएको थियो । सरकारले मुलुकमा खपतको आधारमा सुपारी २५ हजार टन, केराउ ८० हजार टन, मरिच १५ हजार टन र छोहरा ५ हजार टन मात्र आयात गर्ने गरी केही व्यवसायीलाई कोटा वितरण गरेको थियो ।
अस्ट्रेलिया, श्रीलङ्का, अमेरिका, युक्रेन, क्यानडा, पाकिस्तानलगायत ठाउँबाट केराउ, मरिच, छोहरा, सुपारीलगायत सामान आयात गरी भारतीय सीमा बजारमा तस्करी हुँदा कतिपय व्यवसायी मालामाल बन्न यो धन्दामा लागेका छन् ।