राधेश्याम पटेल, परवानीपुर, २१ साउन/

वीरगंजमा कोरोना महामारीमा क्वारेन्टाइन सेवा दिने उद्देश्यले २८ करोड रुपैयाँको होल्डिङ सेन्टर निर्माण भइरहेको छ । वीरगंज–१६ इनर्वास्थित वीरगंज भन्सारको गोदामको जग्गामा नेपाली सेनाले होल्डिङ सेन्टर निर्माण गरिरहेको छ ।

भारतबाट भित्रिनेहरूलाई क्वारेन्टाइनमा राखेर सीमा क्षेत्रको आवागमन सहज पार्न यस्तो होल्डिङ सेन्टर निर्माण भइरहेको हो । हजारजनालाई खान, बस्न र चिकित्सा सेवा निश्शुल्करूपमा उपलब्ध गराइ सङ्क्रामक रोगबाट बचाउन नेपाल सरकारले यस्तो योजना लागू गरेको हो । नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको  होल्डिङ सेन्टरको बजेट करीब रु २८ करोड रहेको छ भने आठवटा होल्डिङ सेन्टरको झन्डै २ अर्ब २५ करोड रुपैयाँभन्दा बढी बजेट रहेको ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्शन, ललितपुरले जनाएको छ ।

एउटै ठेकेदार कम्पनीले आठवटै नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने ठेक्का पाएको हो । नेपालका १० ठाउँमा बनाउने लक्ष्यसहित टेन्डर आह्वान गरिएकामा एक ठाउँमा जग्गा नपाएको र काठमाडौंमा हाल नबनाउने भएपछि अहिले आठवटै ठाउँको मात्र ठेक्का भएर काम शुरू भएको छ । झापा, मोरङ, पर्सा, रूपन्देही, कपिलवस्तु, नेपालगंज, कैलालीलगायत नाकामा होल्डिङ सेन्टर निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ ।

वीरगंज भन्सारको पश्चिमपट्टिको गोदाममा यो योजना गत असार २५ गतेदेखि शुरू भएको हो । अहिले दैनिक सयभन्दा बढी कामदार खटिरहेका छन् । एउटा प्रशासनिक भवन, एउटा सेन्ट्रल किचेन र २० वटा ५० जना अट्ने क्वारेन्टाइन हल गरी कुल २२ वटा भवन निर्माण भइरहेको छ । दुई वटा भवनको बीचमा एउटा किचेन र पछाडिपट्टि सुविधायुक्त शौचालयको पनि व्यवस्था मिलाइएको छ । एउटा भवनको क्षेत्रफल ११७ फिट लम्बाइ र करीब २० फिट चौडाइ रहेको छ । चण्डीप्रसाद गण श्रीपुर वीरगंजका मेजर नैन बस्नेतका अनुसार केन्द्रीय योजना अनुसार नै काम भइरहेको छ । उनले मध्य भदौसम्म काम सम्पन्न गर्ने सम्झौता भए तापनि निषेधाज्ञाको कारण काम करीब एक महीना लम्बिन सक्ने बताए । आगामी असोजको मध्यसम्म काम पूरा गर्ने गरी ठेकेदार पक्षसँग समन्वय गरी काम भइरहेको उनले बताए । फलामे पाइपले उभ्याइएको घरमाथि जस्ता र छेउछाउबाट पफ बोर्ड लगाइने ठेकेदार कम्पनीका इन्जिनीयर प्रवेन्द्र चौधरीले बताए ।

कोरोनालगायत अन्य सङ्क्रामक महामारीको बेला भारतबाट वीरगंज नाका हुँदै नेपाल भित्रिनेहरूलाई सीमा क्षेत्रबाट ल्याएर स्वास्थ्य परीक्षणपछि त्यस क्वारेन्टाइनमा १० देखि १४ दिनसम्म राख्न सकिनेछ । यसले महामारी सङ्क्रमणको जोखिम कम होस् र राज्य सुरक्षित बनोस् भन्ने सरकारको रणनीति छ । यसअघि सुविधासम्पन्न ठाउँ नहँुदा सीमा क्षेत्रका विद्यालय, कलेजलाई क्वारेन्टाइन बनाएर शङ्कास्पद व्यक्तिलाई राखिएको थियो । अहिले कामको प्रगति अनुसार सबैभन्दा बढी काम हुने होल्डिङ सेन्टरहरूमा क्रमशः कैलाली, झापा, मोरङ, कपिलवस्तु, पर्सा, नेपालगंज, रूपन्देही छन् । वीरगंजको होल्डिङ सेन्टरको काम करीब १५ प्रतिशतभन्दा बढी भइसकेको छ । अहिले फलामे पाइप ठड्याउने, बेसको काम गर्ने, जोडाइ गर्ने, ट्रस जोड्नेलगायतका काम भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here