प्रस, निजगढ, २९ असार/

वर्षामा खोलाको बीचमा बालुवा ग्रेभलको तटबन्ध बनाएर निजगढ नगरपालिकाको लाखौं बजेट स्वाहा पारिएको छ । ग्रेभलको तटबन्धको अधिकांश भाग केही दिनमैं खोलाले बगाइसक्यो ।

वर्षा लाग्नुअघि बाढीले खोला कटान गर्न सक्ने सम्भावित स्थानको पहिचान गरी भरपर्दो तटबन्ध निर्माण गर्नेतर्फ बेलैमा ध्यान नदिई बालुवा ग्रेभलको तटबन्ध अर्थहीन साबित भएको छ ।

त्यही ग्रेभलको तटबन्ध बनाउन निजगढ नगरपालिका–४ स्थित बकैयाखोला र वडा नं १० स्थित लालखोलामा गरी ४१ लाख रुपैयाँभन्दा बढी रकम खर्चिएको छ र उक्त तटबन्ध बाढीले बगाउने निश्चित छ । अधिकांश भाग बगिसकेको छ भने बाँकी रहेको तटबन्धको अवशेष पनि अब आउने बाढीमा बग्नेछ ।

यसैगरी, बजेट नाश पार्न बकैयाखोलामा १६ लाख र लालखोलामा २५ लाख रुपैयाँको लागतमा तटबन्ध गर्ने सम्झौता भई काम गरेको खुलासा भएको छ । अन्य केही स्थानमा भने सम्झौता नै नगरी तटबन्धको काम भएको समाचार स्रोतले जनाएको छ ।

जनप्रतिनिधिहरूको ठाडो आदेशमा सम्झौता नै नगरी काम हुने हँुदा नगरपालिकामा समस्या निम्तिएको निजगढ नपाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताएका छन् ।

प्राविधिकको लागत स्टीमेटका साथै सम्झौता र काम सम्पन्न भएको प्रमाणसहितको कागजात पेश गरी प्राविधिकले मूल्याङ्कन गरेकाबाहेक प्रक्रिया नमिलेका कामको भुक्तानी दिने कानूनी आधार नहुने उनले बताए ।

निजगढ नपा–४ मोहोरी, पुरानो निजगढस्थित खिलाटोल आसपासमा लगाइएको ग्रेभल तटबन्ध स्थलगतरूपमा हेर्दा नगरपालिकाले जानीजानी बालुवामा पानी हालेको देखिएको छ । वर्षामा बालुवा ग्रेभल मात्रैको ढिस्को उठाएर तटबन्ध गर्न खोज्नु मूर्खता जस्तै देखिएको छ ।

वर्षाको समयमा नगरपालिकाले बालुवा ग्रेभलको मात्रै तटबन्ध बनाउँदा बगाएर लैजाने थाहा हुँदाहँुदै पनि टिकाउ नहुने यस्तै काम गराउँदा पालिकाको प्राविधिकमाथि पनि प्रश्न तेर्सिने गरेको प्राविधिकहरूको दुःखेसो छ ।

“हामीले भनेको सुन्दैनन् । मनलाग्दी काम गर्छन् । दिगो काम होस् भन्ने हाम्रो भनाइ हो । जनप्रतिनिधिहरू मान्दैनन् । जसरी पनि उपभोक्तालाई काम देऊ भन्दै दबाब दिन्छन्,” नगरपालिकाका अधिकांश प्राविधिकको भनाइ छ । कतिपय जनप्रतिनिधि यस्तै काम गराएर उपभोक्ता समितिका नाउँमा आफ्ना आसेपासे पोस्ने ध्याउन्नमा लागेका छन् ।

जनप्रतिनिधिहरूको संलग्नतामा तटबन्धको नाउँमा बालुवा उठाएर लाखौं रकम झ्वाम पार्न थालिएको निजगढ नपा–४ बागदेवका हस्तबहादुर कार्कीले टिप्पणी गरे । असारे विकास गरेर रकम सकाउने खेलमा जनप्रतिनिधि लागेको उनको भनाइ छ ।

मोहोरीको तटबन्धको काममा अनुगमन समितिको संयोजकको जिम्मेवारी पाएका निजगढ–४ बागदेवका रुद्र तिमिल्सिना आफूलाई सो काम चित्तै नबुझेको बताउँछन् । तटबन्धको नाममा बालुवाको ढिस्को बनाउन थालेपछि यसको कुनै अर्थ छैन भन्दै आफू अनुगमनमा जानै छाडेको उनले बताए । “बरु थोरै काम होस् । तारजाली गरी तटबन्ध बनाउँदा दिगो हुन्छ । तर काम ठीक उल्टो छ,” तिमिल्सिनाले प्रतीकलाई बताए ।

निजगढमा विकास तटबन्धको नाउँमा कागजात मिलाइ केही व्यक्तिलाई भ्रष्टाचार गर्ने राम्रो मौका पाएको नदी प्रभावित क्षेत्रका बासिन्दाहरूले बताएका छन् । “गाउँघरकै साथीभाइ, छिमेकीहरू समितिमा र ठेकेदार छन् । विरोध गर्दा रिसाउँछन् । कसलाई के भन्ने । तर काम दिगो छैन । वर्षा पनि सकिन्छ । यस्ता तटबन्ध खोलामा बग्छ । लाखौं रकम पनि तटबन्धको नाउँमा मात्र सकिन्छ,” नाउँ नछाप्न आग्रह गर्दै अर्का स्थानीय युवकले थपे ।

निजगढ नपा–४ बकैयाखोला, मोहोरी र पुरानो निजगढ खिला ड्याम आसपासमा लगाइएका ग्रेभलको तटबन्धका अधिकांश भाग बाढीको सानै भेलले बगाएको छ । ग्रेभलको तटबन्ध गर्ने बजेट तारजालीमा ढुङ्गा भर्दै ग्यावियन लगाएको भए दिगो हुने र संरक्षणमुखी पनि हुने कामदारहरूले नै बताए ।

आफ्ना निकटका व्यक्तिलाई विकासको काम भन्दै बजेट उपलब्ध गराउने गरी यस्ता कार्य गरेको पाइएको छ । ‘खोइ गाई, खोलाले बगायो, खोइ खोला सुक्यो’ भन्ने बाल उखान जस्तै गरी कामको नाउँमा दाम कमाउने उद्देश्यका साथ अर्थहीन बालुवाको तटबन्ध लगाइ निजगढ नगरपालिकाले गम्भीर आर्थिक दुरुपयोग तथा भ्रष्टाचारगरिरहेको देखिएको छ ।

बकैया नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष चन्दनकुमार चौधरी पनि वर्षामा यस्तो तटबन्ध बनाउनुपरेकोमा मनमा सन्तोष नलागेको बताउँछन् । वर्षामा बालुवा ग्रेभलको तटबन्ध बनाउने कामले बदनामी मात्रै हुने र कतिपय स्थानमा बाढीले तटबन्ध बगाएर लगिसकेको उनले पनि स्वीकारे ।

तटबन्ध निर्माणका लागि बनाइने अधिकांश उपभोक्ता समिति नाउँ मात्रको राखी स्थानीय ठेकेदारहरूलाई कामको जिम्मा लगाउने गरिएको छ । कतिपय उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता समितिको नाम र कामको बारेमा कुनै जानकारीसमेत छैन । उपभोक्ताको नाउँमा नगरपालिकाबाट मिलेमतोमा ठेकेदार प्रयोग भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here