पर्साको ठोरी क्षेत्रमा नवनिर्मित हुलाकी सडकमा अन्नको बिस्कुन सुकाएको कुरा समाचारमा आएको छ। यसरी सडकमा अन्नको बिस्कुन सुकाउँदा सवारीसाधन चिप्लिएर दुर्घटना भएका छन्। नवनिर्मित हुलाकी सडकमा मकै, धान, पराल, खोष्टा एवं घाँसपातसमेत सुकाइएको पाइएको छ। त्यसैगरी, कालोपत्रे सडकको दुवैतर्फ पेटीको भाग छोडेको स्थानमा दाउरा राख्ने, घरपालुवा जनावर बाँध्ने गरिएको छ। सवारीसाधन हुनेहरूले सडकमा नै सवारीसाधन पार्किङ गरिरहेका छन्। परम्परागत सवारीसाधन टायरगाडा हुनेहरूले पनि त्यही सार्वजनिक सडकलाई पार्किङस्थल बनाएका छन्। आजभोलि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वन उपभोक्ता समितिले उपभोक्तालाई दिएको काठ, दाउरा, गोलियाहरू पनि कालोपत्रेको दायाँ/बायाँ असरल्ल अवस्थामा छन्। कतिपयले त सडक किनाराको पक्की नालालाई आफ्नो निजी जमीन सरह दाउरा, घाँस वा काठपात राख्न प्रयोग गरिरहेका छन्। यो क्रमको ग्रामीण क्षेत्रमा प्रतिस्पर्धा नै चलेको छ।

कच्ची सडक अतिक्रमण गर्ने र पछि सडक निर्माणका लागि खाली गराउनुपर्दा त्यही अतिक्रमित क्षेत्रको पनि मुआवजा माग्ने चलन छ। मुआवजा त प्रमाण भएसम्म पाउने हो तर पनि केही समय योजनालाई अवरोध गर्ने र विलम्ब गराइदिने कार्य हुँदै आएको छ। सडक निर्माण नहुँदाको अवस्थामा हुने अवरोधहरू विकास निर्माणको प्रतिफलबारे सर्वसाधारणलाई थाहा नभएका कारणले सिर्जना भएको होला भनेर बुझिन्थ्यो। तर योजना निर्माण भई त्यसले प्रतिफलसमेत दिन थालिसकेपछि पनि अबुझ बन्नु चाहिं मूर्खता वा गैरजिम्मेवारपन हो। पर्साका ग्रामीण क्षेत्रमा प्रवेश गर्दा बस कुद्ने कच्ची सडकमा घरपालुवा जनावर, बालबालिका जताततै भेटिन्थे। बसका सहयोगी उत्रिएर उनीहरूलाई दायाँ/बायाँ लगाउँदै अगाडि बढ्नुपर्ने अवस्था थियो। अहिले जानकीटोलालगायत केही स्थानमा पक्की सडक बनेपछि त्यो विकृति न्यूनीकरण भएको छ। तर जिल्लाका पालिकाहरूमध्ये शिक्षित र सचेत मानिएको ठोरी गाउँपालिकामा आज त्यही प्रवृत्ति देखिनु स्थानीय नागरिकका लागि लाजमर्दो कुरा हो। अन्यत्रबाट आउने पर्यटक हुन् वा अन्य कोही आगन्तुक उनीहरूको पहिलो नजर सडकमा हुन्छ। उनीहरूले सडक कतिको सुविधाजनक वा अवरोधपूर्ण छ र सडक आसपासका गाउँघर, समाजमा जे देखिन्छ, त्यसैलार्ई समग्र ठानेका हुन्छन्।

समाजमा कतिपय मानिस नबुझ्ने, चेतनाहीन वा मूर्ख पनि हुन्छन्। त्यही समाजमा चेतनशील पनि छन्। सार्वजनिक सडक अवरुद्ध हुनेगरी, असुरक्षा बढ्नेगरी, कुरूप देखिनेगरी र आफ्नो गाउँठाउँको बेइज्जत हुनेगरी कसैले गैरकानूनी क्रियाकलाप गर्छ भने त्यसलाई ठीक ठाउँमा ल्याउने काम समाजको हो। वल्लोपट्टिकाले सडकमा बिस्कुन सुकाउने र पल्लोपट्टिका रमिते बन्ने, दुर्घटनामा परी बटुवाले क्षति बेहोर्नुपर्ने अनि सरकार कहाँ छ ? भनेर त्यही समाजले सोध्न लाज लाग्नुपर्छ। नागरिक समाजको आँखा नै सरकारको आँखा हो। समाजले अनदेखा ग–यो भने सरकारले कसरी देख्छ ? हुनत सडकमा बिस्कुन सुकाउने विकृति अन्यत्र पनि छ, अरूले त्यसो गर्दा मैले पनि यसो गर्न हुन्छ भन्ने सोचाइ नै घातक, गैरजिम्मेवार र नैतिकहीन सोचाइ हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here