प्रस, भिस्वा, २६ जेठ/
छिपहरमाई गाउँपालिकामा विकास निर्माण कार्य नहुँदा वर्षा भएपछि वडाका विभिन्न स्थान डुबानमा परेका छन्।
गापा बनेको साढे तीन वर्ष बित्न लाग्दा पनि कच्ची सडक ग्रेभल हुन सकेको छैन। सामान्य कल्भर्ट पनि नबनाउँदा वर्षाको समयमा पानी निकास नहुँदा विभिन्न वडा डुबानमा पर्ने गरेका छन्। गापा कार्यालय रहेको वडा नं ५ भिस्वामा कच्ची सडक भएको र पानीको निकास नहुँदा वर्षामा गापा कार्यालय नै डुबानमा पर्छ। अहिले सामान्य पानी पर्दा नै गापा कार्यालय डुबानमा परेको छ।
यसैगरी, वडा नं ४ तुलसीबर्वा बन्जारीमा रहेको बर्थिङ सेन्टर पनि डुबानमा परेको छ। अहिले यस क्षेत्रमा डुबान हुनेगरी ठूलो पानी परेको छैन तर सानो पानीमैं ठाउँठाउँमा डुबान भएको र सडकहरू हिलाम्य भएर आवागमन प्रभावित भएको छ।
वडा नं ३ जयमङ्गलापुरमा पुरानो ह्युमपाइप रहेको ठाउँलाई बाढीले बगाएको तीन वर्षभन्दा बढी भइसकेको छ।
सो ठाउँमा कल्भर्ट बनाइएको छैन। अहिले बाँसको पुल बनाएर मानिसहरूको ओहोरदोहोर हुन्छ भने पानीको बहाव बढेको बेलामा सवारीसाधन ठप्प हुन्छन्।