बारा जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल र नेपाली सीमा सुरक्षा बलले संयुक्तरूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। भारतीय सीमा सुरक्षा बल एसएसबी, नेपाली सीमा सुरक्षा बल सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रका बासिन्दालाई मध्यनजर गरी संयुक्तरूपमा जनचेतना जागरणको कार्र्यक्रम सञ्चालन गरेका हुन्। योसँगै उनीहरूले बालबालिकाहरूलाई अध्यापन गराउन थालेका छन्। दुवैतर्फ सीमावर्ती क्षेत्रका बालबालिकालाई बिहान एक घण्टा र बेलुकी एक घण्टा गरी दिनमा दुई घण्टा दुवै देशका सीमा सुरक्षा बलले अध्यापन गराइरहेका छन्। कोरोना महामारीको कारण विद्यालय बन्द भएपछि बालबालिकाहरू त्यत्तिकै बरालिरहेको हुँदा उनीहरूको अध्यापनलाई निरन्तरता दिनुका साथै जनचेतनामूलक एवं जीवनोपयोगी र दुई देशको आपसी सम्बन्धबारे पनि शिक्षा दिने गरिएको छ। यसको अझ महत्वपूर्ण पक्ष सुरक्षाकर्मीले दुवैतर्फका बालबालिकालाई एकै स्थानमा राखेर जनसम्बन्ध बढाइरहेका छन्।
दुई देशको सम्बन्धमा सीमावर्ती क्षेत्रका बासिन्दा र सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुन्छ। विश्वका कतिपय मुलुकमा राज्यको केन्द्रीय तहमा निकटता भएपनि सीमा क्षेत्रका बासिन्दा एकले अर्कालाई नसहने गरेका कारण द्वन्द्व भइरहेको पाइन्छ। कैयौं मुलुकको सीमामा तैनाथ एक मुलुकको सुरक्षाकर्मीले अर्को मुलुकको सुरक्षाकर्मीलाई दुश्मनको रूपमा हेर्ने गर्नाले युद्ध निम्तिएको छ। मित्रराष्ट्र भारत र हाम्रो मुलुक नेपालबीच परापूर्वकालदेखि नै घनिष्ट मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ। तर आक्कलझुक्कल सीमावर्ती क्षेत्रमा पनि तनाव उत्पन्न हुने गरेका छन्। हालसम्म जति पनि त्यस्ता समस्या आए, त्यसलाई केलाएर हेर्ने हो भने सीमावर्ती क्षेत्रका गलत तत्वको भूमिका प्रमुखरूपमा पाइन्छ। कतिपय अवस्थामा सीमामा तैनाथ सुरक्षाकर्मीले दुई मुलुकबीचको जनसम्बन्ध सीमावर्ती यथार्थ र मैत्रीभावलाई नबुझिदिंदा पनि समस्या आएको पाइन्छ। यसरी आक्कलझुक्कल हुने दुर्घटनाले पनि दीर्घकालीन असर पु–याउने र सोको फाइदा दुई मुलुकको भलो नचाहने तत्वहरूले लिन खोज्ने गरेको देखिन्छ।
सीमा क्षेत्रका सुरक्षाकर्मीलाई स्थानीयले आफ्नो मुलुकको स्तम्भ र सरकारको प्रतिनिधिको रूपमा हेर्ने हुँदा उनीहरूको क्रियाकलापको प्रत्यक्ष असर समुदायमा पर्छ। दुई मुलुकका सुरक्षाकर्मी सहकार्यमा जुट्दा जनसमुदायमा सोको सकारात्मक असर पर्ने र जनविरोधी तत्व हतोत्साहित हुनेछन्। कोरोना महामारीको बेला थालनी गरिएको संयुक्त कार्यक्रमले नागरिक र सुरक्षाकर्मीलाई झन् नजीक ल्याएको छ। यसो हुँदा समाजमा हुन सक्ने आपराधिक गतिविधिबारे सुरक्षा निकायलाई समयमंै सतर्कता अपनाउन सघाउ पुग्छ भने नागरिकको शान्ति, सुरक्षा र अमनचयनमा टेवा पुग्नेछ। खाली समयमा बालबालिका कुबाटोमा जानबाट रोकिने र उनीहरूको शिक्षामा निरन्तरता पाउने त छँदैछ। बालबालिकामार्फत उनीहरूका अभिभावक एवं परिवारका सदस्यहरूसम्म पनि सकारात्मक सन्देश सहजरूपमा पुग्न सक्छ। संयुक्त सुरक्षा टोलीको अभियानप्रति नकारात्मक कोणबाट हेर्न सकिने आधारहरू पनि धेरै होलान्। सुरुआत अपूरो नै हुन्छ। केही राम्रो थालनी भइरहँदा कुरा काट्ने होइन कि, ‘त्यो कमजोरी हटाउन मैले के भूमिका निर्वाह गर्न सक्छु’ भन्ने भावले हातेमालो गर्न अग्रसर हुन सक्नुपर्छ।