वीरगंज महानगरपालिकाले एउटा जोखिमपूर्ण निर्णय गरेको छ। असारदेखि विद्यालयहरू खोल्ने र असार आधापछि भौतिक शिक्षा शुरू गर्ने। कोरोनाको तेस्रो लहर आउने चर्चा भइरहेको बेला यस्तो निर्णय कतिको उचित र अनुचित हो बहस गर्नुपर्ने भएको छ। बहस यस कारण कि कोरोनाको प्रतिकारको सबल उपाय लकडाउन नै हो–यो विश्वव्यापी स्वास्थ्य मान्यता हो भने कतिन्जेल लकडाउनमैं बस्ने, लकडाउन मानवीय आवश्यकता पूर्ति गर्ने मामिलामा ठूलो तगारो बनेर उभिएको छ। एउटा अक्करे भीर र अर्को गहिरो गल्छी। न सधैं लकडाउनमा बस्न सकिन्छ, न आवश्यकता पूर्तिको नाममा खुला हिंड्न, क्रियाकलाप गर्न सकिन्छ। लकडाउन बहाल रहँदा रोजीरोटी, औषधि, स्वास्थ्य, खेतीपाती, आवागमन नराम्ररी प्रभावित हुने र लकडाउन हटाउँदा असाध्य कोरोनाले ज्यान मार्ने। यी दुई विभीषिकाबीच मध्यमार्ग नभएको होइन, तर मध्यमार्गको पालना न सरकारको प्राथमिकतामा प–यो र स्थानीय सरकार सुरक्ष्Fित क्रियाकलापको मापदण्ड निर्धारित गरेर त्यसको परिपालना गर्न अग्रसर भयो।
लकडाउन खारेज हुन पाएको छैन, मानिस छटपटिएको मन लिएर कोरोनाविरुद्ध सबै स्वास्थ्य मापदण्ड चुँडाएर निष्फिक्री जथाभावी गतिविधि गर्न थाले। लकडाउनले कोरोना समाप्त पार्ने त होइन, यसले विद्यमान सङ्क्रमणको प्रसार हुन नदिने मात्र हो। हो, केही व्यक्तिमा प्रबल प्रतिरोधक क्ष्Fमता विकसित भएर सङ्क्रमण सरेन यो छुट्टै कुरा हो। कोरोना त थियो नै, जथाभावी क्रियाकलाप गर्दा यसले फैलने मौका पायो। अहिले महानगरले विद्यालय खोल्ने निर्णय गरेको छ, यसमा पनि लापरवाही नै गरियो, स्वास्थ्य मापदण्डको पालना गरिएन भने तेस्रो लहरले छुन बेर लाउँदैन। हिजो, आज वा भोलिका लागि लकडाउन न सर्वोत्तम उपाय हो, न कोरोनाको भय हटाएर निर्बाध क्रियाकलाप नै उचित हो। हिजो पनि लकडाउनलाई स्वविकेकको आवश्यकता थियो, आज पनि छ र भोलि पनि रहने छ। किनकि कोरोना तत्काल समाप्त भइहाल्ने अवस्था छैन। यसको कुनै रामवाण औषधि छैन। भविष्यमा पनि हुने सम्भावना छैन, किनकि यो भाइरस हो–विषाणु। जीवाणुबाट हुने वा सर्ने बिमारीको औषधि बनाएजस्तो विषाणुको औषधि बनाउनु सम्भव छैन। किनकि एउटै विषाणुले एक व्यक्तिबाट सरेर अर्कोमा गयो भने रूप परिवर्तन गर्छ। यसको एकमात्र उपाय हो स्वास्थ्य मापदण्डको पालना, सतर्कता र भीडभाड नगर्नु।
यस्तो परम अवस्था कि नागरिकको स्वविवेकले हुन सक्छ अन्यथा लकडाउनको त विकल्प नै छैन। नागरिक त यसै पनि स्वास्थ्य चेतनाबाट वञ्चित छ। बाहिर खुलामा दिसा–पिसाब गर्नु, सरकारदेखि उत्पादक र उपभोक्ताले विषादियुक्त खाद्य पदार्र्थ, मिसावट आदि नियन्त्रण र बहिष्कार गर्न अघि नसर्नुजस्ता सामान्य कुराको परिपालना नभइरहेको समाजमा परम अवस्थाको स्वास्थ्य चेतना कसरी पलाउन सक्छ ? हो विद्यालयहरू खोल्नुपूर्व महानगरपालिकाले आफ्नो शिक्षा विभागलाई पर्याप्त स्रोत–साधन दिएर, शिक्षकहरूलाई स्वास्थ्य मापदण्ड कठोरतापूर्वक पालना गर्ने तालीम दिन सक्यो भने यो अभियान सफल हुन सक्छ। विद्यार्थीहरूले लकडाउनलाई नराम्ररी नै भोगेका छन्। सबैभन्दा बढी स्वतन्त्रता, स्वच्छन्दता र शारीरिक गतिविधि उनीहरूलाई नै चाहिने हो। उनीहरू फेरि लकडाउनमा जान मन नपराउलान्।