मुलुकमा जिल्लागतरूपमा लकडाउन तथा निषेधाज्ञा शुरू भएको एक महीना बितिसकेको छ। जहाँ सावधानीविना मानिसको बाक्लो उपस्थिति रहन्छ, त्यहाँ कोरोना सङ्क्रमणको सम्भावना बढी हुन्छ। त्यसैगरी खुला हावा र प्रकाश छिर्ने स्थानभन्दा बन्द कक्षमा भाइरसको खतरा बढी देखियो। बन्द कोठामा १० मिटर परसम्म पनि भाइसर सङ्क्रमण पुष्टि भएको छ भने खुला हावा चल्ने स्थानमा दुर्ई मिटरको दूरी पर्याप्त छ। त्यसैगरी, प्रकाश नछिर्ने बन्द कोठामा अन्यत्रभन्दा भाइरस बढी समय जीवित रहने बताइएको छ। कोठा मात्र होइन, शहरका कतिपय गल्ली सडकमा समेत हावा र प्रकाश पुग्दैन। मानिसको बाक्लो उपस्थिति त्यहीं हुन्छ। तरकारी बजारदेखि शौचालय सार्वजनिकरूपमा प्रयोग गर्नुपर्ने अवस्था छ।

फरक–फरक स्थानबाट आउने, धेरैजना मजदूर काम गर्ने उद्योग–कलकारखाना, धेरैजना कर्मचारीले एकैपटक काम गर्नेुपर्ने कार्यालयहरू, व्यापारिकस्थल साथै धेरैजना सेवाग्राही एकैपटक जमघट हुने सेवाप्रदायक कार्यालयहरू सङ्क्रमणको उच्च खतरा हुने स्थलहरू हुन्। त्यस्ता स्थलमा मानिसको बाक्लो उपस्थिति हुने, प्राकृतिक हावा बहने वा प्रकाश छिर्ने स्थलहरू कम हुने हुँदा श्वासप्रश्वासकै माध्यमबाट सङ्क्रमण फैलन सक्छ। त्यसैगरी बन्द कक्ष, धेरैले प्रयोग गर्ने शौचालय, पानीको स्रोत, ढोकाको हैन्डिल, धेरैजनाको पहुँच हुने कुर्सी, टेबल, रेलिङ, सार्वजनिक सवारीसाधन पनि सङ्क्रमणका वाहक हुन्। जुन क्षेत्र यी सब पक्षबाट मुक्त छ, त्यहाँ सङ्क्रमणको सम्भावना अति न्यून छ। हाम्रो मुलुकमा लकडाउन र निषेध गर्नै नपर्ने यस्ता क्षेत्र प्रशस्त छन्। कृषि उत्पादनका कुनै पनि क्षेत्रमा सङ्क्रमणको जोखिम छैन। कृषि औजार चलाउनेहरू कम्तीमा पनि दुई मिटर फरकमा बसेका हुन्छन्। एउटाले चलाएको फरुवा, हँसिया वा बन्चरो, खुकुरीले अर्कोलाई बाधा नपरोस् भन्नका लागि पनि कृषि कर्म गर्दा दूरी कायम गरेर बसिन्छ। कृषि उपकरण चलाउँदा भीड हुने अवस्था नै आउँदैन। खुला खेतमा काम गरिने हुँदा प्राकृतिक हावा र प्रकाश प्रशस्त पुगेको हुन्छ। आफ्नै बारीको हरियो तरकारी र ताजा अन्नले रोग प्रतिरोधात्मक क्षमताको विकास पनि भइरहेको हुन्छ। सामान्य स्वास्थ्य मापदण्ड पालना गर्न सक्यौं भने पनि कृषि कर्म गर्नेलाई सङ्क्रमणले छुन सक्दैन।

हुनत गाउँँघरमा पनि सङ्क्रमित फेला परेका छन्, तर त्यो बाहिरबाट आउनेहरूले लिएर गएका हुन्। अन्यत्रबाट आएकाहरूबाट हुन सक्ने खतरा र क्वारेन्टाइनबारे कडाइ गर्ने हो भने कृषक बहुल क्षेत्रमा भाइरस सङ्क्रमण हुन सक्दैन। यसैगरी, सडक, पुल एवं भौतिक पूर्वाधार निर्माणका क्षेत्रहरू सञ्चालन गरिनुपर्छ। स्थानीय क्षेत्रमा श्रम परिचालन गरेर सञ्चालन गर्न सकिने योजनाहरू सञ्चालनको लागि बढावा दिनुपर्छ। लकडाउनको समयमा कृषि उत्पादन र भौतिक निर्माणको काम गर्न झन् सहज हुन्छ। हुनत बितेको वर्ष महीनौं लकडाउन हुँदा सुतेर बसेका पालिकाहरू लकडाउन खुलेलगत्तै यात्रुलाई अवरोध गर्दै सडक मरम्मतसम्भारमा जुटेका थिए। ‘फुर्सदमा गर्दा सबैको नजर पुग्ने भएकोले राम्रो गर्नुपर्छ, हतारमा गरेर लतार्न पाइन्छ’ भन्ने मानसिकताले यसो भएको हो। बजेट र जनशक्ति कृषिमा परिचालन गरौं। मरम्मत एवं निर्माणका क्षेत्र चालू राखौं। कोरोनाले दिएको घाउमा मलहमपट्टी हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here