हुनु नपर्ने हो, तर तथ्यले यस्तै देखाइरहेको छ । नेपालमा युवामा कोरोना सङ्क्रमणको ग्राफ उकालोलाग्दो छ । युवा भनेको स्वास्थ्य, धर्म, समाज, विज्ञान सबैको दृष्टिमा शक्तिशाली, जुझारु र कुनै पनि रोग प्रतिरोधक क्ष्ँमता भएको प्राणी हो । उमेर छिपिंदै गएको व्यक्ति शारीरिक, मानसिक तथा रोग प्रतिरोधक क्षमताको दृष्टिले सर्वाधिक निर्बल प्राणी हो । तर सुनसरी जिल्ला स्वास्थ्य कार्यालयद्वारा सद्यः प्रसारित तथ्याङ्कमा दोस्रो लहरको कोरोना सङ्क्रमण सबैभन्दा शक्तिशाली मानिएको युवा, त्यो पनि कल्कलाउँदो उमेर समूह (२१-३०) मा बढी प्रभावकारी हुनुले सोच्न बाध्य बनाएको छ । यद्यपि यो एउटा जिल्लाको मात्र तथ्याङ्क हो, सबै जिल्ला वा देशभरिकै तथ्याङ्क होइन । तर यसले हामीलाई सोच्न बाध्य पार्छ, यस्तो किन भयो ? सरकारी नीतिमा कमी, स्वास्थ्य संवेदनशीलतामा लापरवाही वा जनचासोको अवहेलना । मज्जको कुरा के छ भने सबभन्दा बढी उमेर, जसलाई यस रोगप्रति बढी संवेदनशील मानिन्छ, त्यो भने ढल्कँदो उमेरसँगै शक्तिशाली देखिएको छ ।
यसबाट कुदेर कुनै एक नतीजामा पुग्नु हतार हुन सक्छ, तर त्यो नतीजा पहिलो र भरपर्दो चाहिं हो मान्नैपर्ने हुन्छ । बढी उमेरका व्यक्ति परिवारको सम्मानजनक निर्देशनमा हुन्छन्, आफैं शारीरिक कमजोरीले धेरै भागदौड गर्न सक्दैनन् र उनमा मनोवैज्ञानिक डर पनि पसाइको थियो कि कोरोनाको पहिलो शिकार उनीहरू नै बन्छन् । यही उमेर समूहमा विभिन्न नसर्ने रोगहरू पनि लागेको हुन्छ, जसले बढी उमेरका व्यक्तिहरूको रोग प्रतिरोधक क्षमतालाई कमजोर बनाइदिन्छ । यो उमेर समूह सतर्क भयो, स्वास्थ्य सचेतनाको पालन गर्यो, सबै स्वास्थ्य मापदण्ड अनुसार दैनिकी चलायो र सुरक्ष्ँित रहन सक्यो । अहिले समाचारहरूमा बिहे, जन्ती, भोजभतेर, भीड हुनेगरी नाचगाना, खरीददारीको नाममा सामाजिक दूरी पालना गर्ने शून्य-प्रयासजस्ता विपरीत कुराबाट यो उमेर समूह अलग रह्यो । माथिका सबै विपरीत कुरा युवामा भने लागू भयो । त्यसैले त जुन जिल्लामा बिहे, जन्ती, भोज बढी भए, त्यहाँ सङ्क्रमणको दर पनि बढी देखियो । खासगरी गाउँ-देहातमा । त्यो तराईतिर होस् वा पहाडतिर, अचाक्ली गर्नेहरूलाई कोरोनाले आफ्नो दपेटमा पार्न किञ्चित विलम्ब गरेन ।
तर यति मात्रले बढी उमेर समूह सुरक्ष्ँित हुन्छ भन्ने पटक्कै होइन । जुन परिवारको युवा सङ्क्रमित छ, त्यहाँ यो रोग सबैमा नसर्ने कुनै कारण छैन । हो पाका मानिसहरू अस्पताल र एलोपैथी औषधिको भरमा मात्र बस्दैनन् । नानीदेखि उनीहरूले विभिन्न भाइरसजन्य रोग भोग्दै आएका छन् । आज आधुनिक औषध विज्ञानले स्वीकार गरेको तातोपानी, काँढा, बेसार, तुलसीको पात, गुर्जो, मरिचजस्ता पदार्थको सेवन उनीहरूको दैनिकीमैं समेटिएको हुन्छ, जसलाई युवाले हेय मात्र ठान्दछ । हामी जुन भूगोलमा बस्छौं, जुन जलवायुले हामीलाई हुर्काएको छ, जुन परम्परागत भोजनले हाम्रो पोषण गरेको छ, आजको युवा त्यसविपरीत कृत्रिम भोजनमा आश्रित हुन पुगेको छ । आज सबैथोक बजारमा तयारी अवस्थामा पाइन्छ । यसैले हुनुपर्छ युवामा प्राकृतिक इम्युन पावर कम हुँदै गएको छ । कृत्रिमताप्रति लालायित यो उमेर समूह उद्दण्ड पनि हुन्छ, उसले नियम-कानूनको अवहेलनालाई आफ्नो श्रेष्ठता ठानेको हुन्छ, त्यसैले सामाजिक दूरीलाई मान्दैन । जो होस् मूल कारण पत्ता लगाउन सकियो भने सबैको भलो हुन्छ ।